रुपन्देहीमा सदस्यता विवाद उत्कर्षमा, निर्णय सच्याउन प्रेस युनियनको माग



बुटवल। 

नेपाल प्रेस युनियन रुपन्देहीले नेपाल पत्रकार महासंघ रुपन्देहीले गरेको सदस्यता वितरण सम्बन्धी निर्णय सच्याउन माग गरेको छ । पत्रकार महासंघले आफैले बनाएको सदस्यता वितरण सम्बन्धी मापदण्ड विपरीत हुनेगरी निर्णय गरेको भन्दै विभेदकारी निर्णय सच्याउन माग गरिएको नेपाल प्रेस युनियन रुपन्देहीका सचिव कपिल ज्ञवालीले जानकारी गराउनु भयो ।

नेपाल प्रेस युनियन रुपन्देहीले मंगलबार नेपाल पत्रकार महासंघ रुपन्देहीमा ज्ञापन पत्र बुझाउँदै उक्त निर्णय तत्काल सच्याउन माग गरेको हो । नेपाल पत्रकार महासंघ रुपन्देहीको यही साउन ६ र ७ गते बसेको बैठकले ३२ जनालाई नयाँ सदस्यता दिने निर्णय गरेको थियो ।

‘महासंघले गरेको निर्णयमा कतिपय मापदण्ड भित्र पर्नेलाई पनि सदस्यता नदिइएको र कतिपय मापदण्ड भन्दा बाहिरका व्यक्तिलाई समेत सदस्यता दिएको छ, एउटै मिडिया हाउसमा समान पदमा काम गर्नेलाई पनि एउटालाई सदस्यता दिने अर्कालाई नदिने निर्णय भएको छ ।’ नेपाल प्रेस युनियन रुपन्देहीका अध्यक्ष कवीन्द्र नेपालले भन्नुभयो–‘यस्तो विभेदकारी निर्णय नसच्याए प्रेस युनियन आन्दोलनमा उत्रिन बाध्य हुने छ ।

प्रेस युनियन रुपन्देहीका अध्यक्ष नेपालले कुनै पनि आस्था र विचारका आधारमा नभई मापदण्डका आधारमा सदस्यता दिइनु पर्ने बताउँदै सदस्यता वितरण गर्ने यो निर्णयले सदस्यता सुद्धिकरणलाई समेत गिज्याएको बताउनु भयो । नेपाल पत्रकार महासंघ केन्द्रीय समिति र लुम्बिनी प्रदेश समितिलाई बोधार्थ दिइएको उक्त ज्ञापन पत्रमा महासंघ रुपन्देहीले गरेको निर्णय विभेदकारी भएकोले सच्याउन र अन्यथा अन्यायपूर्ण निर्णयका विरुद्ध युनियन जस्तोसुकै कदम चाल्न पनि तयार रहेको जानकारी गराइएको छ । यस अघि  प्रेस चौतारीले पनि सदस्यता वितरण पारदर्शी नभएको भन्दै महासंघ रुपन्देहीमा माग पत्र पेस गरेको छ ।

प्रतिक्रिया दिनुहोस्