भ्याटबारे ढुवानी व्यवसायीलाई जानकारी गराउन व्यवसायी भेला



बुटवल । 

सरकारले आर्थिक वर्ष २०८० । ८१ को बजेट मार्फत ढुवानी सेवामा मूल्य अभिवृद्धि  कर भ्याट लागू गर्ने  घोषणा गरेसँगै अन्योलमा रहेका ढुवानी व्यवसायीलाई वास्तविकता जानकारी गराउन पश्चिमाञ्चल यातायात व्यवसायी समितिले शुक्रवार व्यवसायी भेला सम्पन्न गरेको छ । सरकारले ल्याएको आर्थिक ऐन अन्तर्गत वार्षिक रुपमा ५० लाख भन्दा बढीको कारोबार गर्ने ढुवानी व्यवसायीलाई अनिवार्य रुपमा भ्याटमा जानु पर्ने बाध्यकारी नियम ल्याएको छ ।

भेलामा आन्तरिक राजस्व कार्यालय बुटवलका कर अधिकृत कमल सुवेदीले व्यवसायीले भ्याटमा जाँदा अपनाउनु पर्ने तरिका, विल विजक राख्ने तरिका,  आम्दानी खर्चको लेखाको बारेमा जानकारी गराउनु भएको हो ।

अधिकृत सुवेदीले सरकारले ढुवानी व्यवसायीलाई व्यवस्थित गराउनका लागि ल्याएको आर्थिक ऐनको निर्देशिका अझै आईनसकेकोले सोआएपछि मात्र आगामी दिनमा व्यवसायीलाई कसरी भ्याटमा सहजीकरण गर्न सकिने भन्ने स्पष्ट हुने बताउनुभयो ।

कार्यक्रममा नेपाल ट्रक यातायात व्यवसायी महासंघका  पूर्व अध्यक्ष  अर्जुन रानाभाटले सरकारले ल्याएको निितलाई व्यवहारमा कसरी सहज रुपमा लागु गर्न सकिन्छ भन्ने बारेमा विभागसंग छलफल भैरहेको बताउनुभयो ।

कार्यक्रममा नेपाल ट्रक यातायात व्यवसायी महासंघका  कार्यबहाक अध्यक्ष लोक राज पोखरेल, पश्चिमाञ्चल यातायात व्यवसायी समितिका अध्यक्ष यम प्रसाद पाण्डे, वरिष्ठ उपाध्यक्ष प्रताप बहादुर कार्की महासचिव हरि प्रसाद कँडेल व्यवसायी पंकज राई, जितबहादुर भाट, लगायतले व्यवसायीलाई सहज र सुलभ तरिकाले  व्यवसाय सञ्चालन गर्न पाउने व्यवस्था मिलाउन माग गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्