असारे विकास रोक्न प्रमको जोड



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले बनेका पूर्वाधार नटिक्ने र दुर्लभ स्रोतको सही सदुपयोग नहुने असारे विकासको प्रवृत्तिलाई त्याग्नुपर्ने बताउनुभएको छ ।

बुधबार नेपाल इन्जिनियर्स एशोसिएसनको ६१औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भन्नुभयो–‘बनेका पूर्वाधार संरचना पनि नटिक्ने र दुर्लभ स्रोतको पनि सदुपयोग नहुने असारे विकासको प्रवृत्तिलाई त्याग्नै पर्दछ । विकासमा प्रत्यक्ष संलग्न रहनुभएका इञ्जिनियरले बजेटमा उल्लेख भएका विकास आयोजना समयमा नै सुरू गरेर समयमा नै निर्धारित बजेटको सीमाभित्र रहेर गुणस्तरीय रूपमा सम्पन्न गर्ने उपायको खोजीको पहल गर्नुहुने मैले विश्वास गरेको छु ।’

आर्थिक विकासको लागि भौतिक पूवार्धारको निर्माण पहिलो शर्त रहेको भन्दै उहाँले भौतिक पूर्वाधार विकासको सम्बन्ध इञ्जिनियरसँग अभिन्न रूपले जोडिएको बताउनुभो ।

‘आन्तरिक स्रोत साधन कम भएको हाम्रो देशमा विकास बजेट चालु खर्चको तुलनामा त्यसै पनि न्यून छ । त्यो बजेट पनि हामी समयमा खर्च गर्न सकिरहेका छैनौँ। विकास बजेटको ठूलो हिस्सा असारमा खर्च हुन्छ । असारमा गरिएका विकास र निर्माण कार्य मनसुनको बाढी र पहिरोले बगाउछ । बनेका पूर्वाधार संरचना पनि नटिक्ने र दुर्लभ स्रोतको पनि सदुपयोग नहुने असारे विकासको प्रवृत्तिलाई त्याग्नैपर्दछ । ’उहाँले भन्नुभयो ।

उहाँले आन्तरिक राजश्व तथा लगानी पनि बढोस् र ठूला पूर्वाधारमा विदेशी लगानी पनि आओस् । विकासको गति तीव्र भएपछि नै हाम्रो आर्थिक अवस्थामा सुधार आउने छ। देशको मुहार फेरिने छ । सबै नागरिकको मुहारमा हाँसो आउने छ, यसका लागि सरकार लागिरहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्