एयरपोर्टबाट क्विन्टलभन्दा बढी सुन बरामद : हालसम्मकै उच्च परिमाण, १ अर्बभन्दा बढीको अनुमान



काठमाडौं । राजस्व अनुसन्धान विभागको विशेष टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा अवैध सुन बरामद गरेको छ । विभाग उच्च स्रोतका अनुसार बरामद भएको सुनको परिमाण १ सय किलोभन्दा बढी रहेको अनुमान गरिएको छ ।

सुनको वास्तविक परिमाणको घोषणा भने नेपाल राष्ट्र बैंकले निर्धारण गर्ने स्रोतले बतायो । ‘विभागले बरामद गरेको वस्तु राष्ट्र बैंकमा बुझाउने र राष्ट्र बैंकले गालेर सुनको वास्तविक परिमाण निकाल्छ । तर, बरामद भएको वस्तुमा ३० प्रतिशत वेस्टेज घटाउँदा पनि सुनको परिमाण सय किलोभन्दा बढी हुनसक्छ ।’ स्रोतले नेपाल समाचारपत्रसँग भन्यो । बुधवार बरामद गरिएको सुन हालसम्मकै ठूलो रहेको र यसको बजार मूल्य एक अर्ब रुपियाँभन्दा बढी हुन सक्ने स्रोतको दाबी छ ।

मंगलबार दिउँसो हङकङबाट काठमाडौं आएको क्याथे प्यासिफिकको उडानमा एयर कार्गोमार्फत् आएको स्कुटरका पार्टपूर्जामा लुकाई छिपाई ल्याइएको उक्त सुन बुधवार दिउँसो विभागले विमानस्थलस्थित भन्सार कार्गोको गेटबाट पक्राउ गरेको हो । हङकङबाट स्कुटरका पार्टपुर्जामा लुकाएर ठूलो परिमाणमा सुन आएको सुराकी विभागमा आएपछि विभागको टोलीले मंगलबारदेखि नै निगरानीमा राखेको थियो । बुधबार भन्सारबाट सुन भएको स्कुटरका पार्टपुर्जा छुटाएर गाडीमा लोड गरेपछि प्रहरीसहित रहेको विभागको टोलीले समातेको बताइएको छ । सुनसहित गाडी चालक तथा केही सहयोगी तथा भन्सार एजेन्टलाई समेत पक्राउ गरेको भए पनि सुन तस्करको जालो ठूलो भएको र अनुसन्धान प्रभावित हुने भन्दै विभागले सबै विवरण खुलाएको छैन ।

भन्सारको स्क्रयानरले समेत पत्ता लगाउन नसक्ने गरी विभिन्न उपकरणमा लुकाइएको सुन निकाल्न विभागका कर्मचारी र प्रहरीलाई करिब दिनभर नै लागेको स्रोतले बतायो । ‘बिहान साढे ११ बजेतिर सस्पेक्टलाई नियन्त्रण लिइएको थियो । १६० वटा मोटरसाइकलका ब्रेकप्याड खोल्न दिनभरजस्तै लाग्यो । साँझ मात्रै सुन निकाल्न सकियो ।’ स्रोतले बतायो । स्कुटरका पार्टपुर्जा भनेर भन्सार कार्गाेबाट एजेन्टले छुटाएर ट्याक्सी तथा अर्काे गाडीमा लोड गरेका थिए । उक्त सामान रेडी टेड लिंक बूढानीलकण्ठको नाममा आएको स्रोतले बताएको छ । यसअघि २०७४ भदौमा चिनियाँ नागरिकले ल्याएको ८८ किलो सुन ठमेलमा समातिएको थियो । केही दिनअघि मात्रै विद्युतीय चुरोटमा सुन लुकाएर आएको अवस्थामा विमानस्थलमा पक्राउ गरिएको थियो । सो घटना नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरिरहेको छ । पछिल्ला दिनमा नेपालमा सुन तस्करी बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्