बिर्तामोड नगरपालिकाको ९ करोडभन्दा बढी रकम फ्रिज



भद्रपुर । आर्थिक वर्ष २०७९–०८० मा बिर्तामोड नगरपालिकाको ९ करोडभन्दा बढी रकम फ्रिज भएको छ ।

नगरपालिकाको ९ करोड ३२ लाख ४७ हजार १७७ रुपियाँ खर्च हुन नसकी फिर्ता गएको हो ।

संघीय र प्रदेश सरकारको अनुदान रकम फ्रिज भएको नगरपालिकाको लेखा शाखाले जनाएको छ ।

संघीय सशर्त अनुदानमा चालुतर्फ ३२ करोड १८ लाख ८० हजार रुपियाँ आएकोमा २९ करोड ३९ लाख १० हजार ४६५ रुपियाँ खर्च भएको छ ।

जुन ९१ दशमलव ३१ प्रतिशत हो । त्यस्तै पुँजीगततर्फ १७ करोड ६१ लाख ३५हजार रुपियाँ आएकोमा १० करोड ५२ लाख ६४ हजार ९५८ रुपियाँ मात्र खर्च भएको छ ।

जुन ५९ दशमलव ७६ प्रतिशत हो । त्यस्तै विशेष अनुदानमा २ करोड र समपूरक अनुदानमा १ करोड ३० लाख आएकोमा त्यस शीर्षकको बजेट करिव शतप्रतिशत खर्च भएको लेखा अधिकृत तेजिन्द्र तामाङले बताउँनुभयो ।

त्यस्तै प्रदेश सरकारको सशर्त अनुदानतर्फ २ करोड ६६ लाख ९८ हजार रुपियाँ आएकोमा २ करोड ६२ लाख २८ हजार १५६ रुपियाँ खर्च भएको देखिन्छ ।

जुन ९८ दशमलव २४ प्रतिशत हो । त्यस्तै प्रदेशको समपूरक अनुदानतर्फ १ करोड रुपैयाँ आएकोमा ७८ लाख ७ हजार ४५८ रुपियाँ अर्थात् ७८ दशमलव ०७ प्रतिशत खर्च भएको छ ।

त्यस्तै यस वर्ष आन्तरिक आयतर्फ बिर्तामोड नगरपालिकाको ७ करोड ४० लाख १८ हजार १६६ रुपियाँ खर्च हुन नसकेको लेखा अधिकृत तामाङले जानकारी दिनुभयो ।

गत आर्थिक वर्ष २०७८–०७९ मा बिर्तामोड नगरपालिकाको १८ करोड ४३ लाख ४२ हजार १५३ रुपियाँ फ्रिज भएको थियो । गत वर्षको तुलनामा यस वर्ष प्रगति राम्रो भएका कारण फ्रिज रकम आधा घटेको लेखा अधिकृत तामाङले बताउँनुभयो ।

बुट्टावारी–प्याकुरेल सडकको करिव साढे ६ करोड, मातृ तथा नवशिशु कार्यक्रमको करिव १ करोड रकम यस वर्ष फ्रिज भएको उहाँले जानकारी दिनुभयो ।

यसवर्ष बिर्तामोड नगरपालिकाको बजेट १ अर्ब ३१ करोड ३ लाख ६४ हजार ८४१ रुपियाँको रहेको थियो । बजेटमा आयतर्फ १ अर्ब १८ करोड ३१ लाख २५ हजार ६४५ रुपियाँ रहेको थियो ।

त्यस्तै खर्चमा जम्मा १ अर्ब १ करोड ९८ लाख ६० हजार ३०१ रुपियाँ रहेकोमा चालुतर्फ ९८ करोड ८८ लाख ४३ हजार ३६८, पुँजीगततर्फ ४१ करोड ६५ लाख १६ हजार ९३३ र वित्तीय व्यवस्थापनतर्फ १ करोड ५ लाख रुपियाँ छुट्याइएको थियो ।

यस वर्ष कुल बजेटको ८५ दशमलव ८६ प्रतिशत खर्च भएको देखिन्छ । चालुतर्फ भने ९२ दशमलव ३४ प्रतिशत र पुँजीगततर्फ ८३ दशमलव ८१ प्रतिशत खर्च भएको लेखा अधिकृत तामाङको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्