ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनलाई कारबाही गरेर २९ लाख भन्दा बढी राजस्व संकलन



डडेल्धुरा। 

ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनलाई कारबाही गरेर जिल्ला ट्राफिक कार्यालय स्याउले, डडेल्धुराले २९ लाख ६१ हजार पाँच सय बढी राजश्व संकलन गरेको छ ।

डडेल्धुरा जिल्लामा गत आर्थिक वर्ष २०७९/८० मा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनलाई कारबाही गरेर राजस्व सकलन गरिएको हो । एक वर्षको अवधिमा ट्राफिक नियमको उल्लंघन गर्ने पाँच हजार तीन सय ५४ सवारी साधनलाई कारबाही गरिएको जिल्ला ट्राफिक कार्यालय स्याउले, डडेल्धुराले जनाएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याउले, डडेल्धुराका प्रमुख प्रहरी नायव निरीक्षक भिम बोहराले ट्राफिक नियम उल्लंघन गर्ने दुई हजार २५ वटा जीप कार, एक हजार तीन सय ९४ वटा मोटरसाइकल, पाँच सय एक ट्याक्टर, एक सय ९९ बस, नौ सय २६ वटा ट्रक र ट्याम्पो लगायत अन्य तीन सय नौ सवारी साधनहरुलाई कारबाही गरिएको जानकारी दिनुभयो ।

जिल्लाको मुख्य राजमार्ग तथा ग्रामीण सडकहरुमा नियम विपरीत सञ्चालनमा आएका सवारी साधनलाई कारबाही गर्ने गरिएको प्रहरी नायव निरीक्षक बोहराले बताउनु भयो । उहाँका अनुसार सवारी साधनमा क्षमता भन्दा धेरै यात्रु बोक्ने, चालक अनुमति पत्र (लाइसेन्स) नभएका, बिना हेल्मेट मोटरसाईल चलाउने, क्षमता भन्दा बढी लोड बोकेका मालबाहक गाडीहरु तथा मादकपर्दाथ सेवन गरेर सवारी चलाउने चालकलाई कारबाही गर्ने गरिएको छ ।

आर्थिक वर्ष ०७८/०७९ मा ३४ लाख २३ हजार राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याउले डडेल्धुराले जनाएको छ । सो आर्थिक वर्षमा छ हजार दुई सय ३५ वटा सवारी साधनलाई कारबाही गरिएको थियो । जिल्ला ट्राफिक कार्यालय स्याउले डडेल्धुराले सवारी दुर्घटना न्युनीकरण तथा ट्राफिक व्यवस्थापनको लागि ट्राफिक जनचेतनामुलक कार्यक्रमहरु प्रभावकारी रुपमा कार्यान्वयन गरिरहेको भए पनि अटेरी गर्ने सवारी साधनलाई कारबाही गरिने गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी प्रमुख डीएसपी मनोहरप्रसाद भट्टले बताउनु भयो ।

कारबाही गर्नुपर्ने सबै सवारी साधनलाई मापदण्डअनुसार कारबाही गरिन थालिएमा यसभन्दा पनि बढि राजश्व संकलन हुनसक्ने यातायातकर्मीहरु बताउछन । ट्राफिक प्रहरीले घुस लिएर कतिपय सवारी साधनलाई कारबाही नगर्न भएकाले ट्राफिक नियम उल्लङ्घन गर्ने प्रवृितमा कमी आउन नसक्दा सवारी दुर्घटनाको जोखिम बढ्दै गएको स्थानीयको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्