चमेलिया–स्याउले–अत्तरिया प्रसारण लाइनको दोस्रो सर्किट सञ्चालनमा



डडेल्धुरा । 

सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लामा रहेका विभिन्न नदी करिडोरमा उत्पादित बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न निर्माण भएको चमेलिया–स्याउले–अत्तरिया एक सय ३२ केभी प्रसारण लाइनको दोस्रो सर्किट सञ्चालनमा आएको छ ।

दार्चुलाको शैल्यशिखर नगरपालिकाको बलाँचबाट सुरु भई बैतडी, डडेल्धुरा, डोटी हुँदै कैलालीको गोदावरी नगरपालिस्थित अत्तरिया सब स्टेसनमा अन्त्य हुने एक सय ३२ केभी डबल सर्किट प्रसारण लाइनको दोस्रो सर्किट सञ्चालनमा ल्याइएको डडेल्धुराको स्याउलेस्थित नेपाल विद्युत प्राधिकरणको सव स्टेसनले जनाएको छ । डबल सर्किट प्रसारण लाइनको लम्बाइ एक सय ३१ किलोमिटर छ ।

नेपाल विद्युत् प्राधिकरणले दार्चुलामा निर्माण गरेको ३० मेगावाटको चमेलिया जलविद्युत् आयोजनाले बनाएको प्रसारण लाइनको पहिलो सर्किट २०७३ देखि सञ्चालनमा थियो । कोरियाली एक्जिम बैंकको सहुलियतपूर्ण ऋणमा डबल सर्किट हुने गरी प्रसारण लाइनका टावर संरचनाहरु बनाइएको हो । चमेलिया जलविद्युत आयोजनाले एउटामात्र सर्किट निर्माण गरी सञ्चालनमा ल्याएको र नेपाल सरकारको करिब रु ६० करोड लगानीमा दोस्रो सर्किट निर्माण गरी उक्त लाइन सञ्चालनमा ल्याइएको नेपाल विद्युत प्राधिकरण डडेल्धुरा वितरण केन्द्रले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लामा निर्माण भएका र निर्माण हुने जलविद्युत् आयोजनाहरुबाट उत्पादित विद्युत् प्रवाहका लागि एउटा सर्किटले मात्र नधान्ने भएपछि अर्को सर्किट थपिएको हो । ‘चमेलिया जलविद्युत् आयोजनाले प्रसारण लाइन पूर्वाधार निर्माण गरिदिएपछि सुदूरपश्चिमका सबै पहाडी जिल्लास्थित खोलानालाहरुमा जलविद्युत् आयोजना निर्माणका लागि ढोका खुलेको छ,’ निजी क्षेत्रबाट सुदूरपश्चिम प्रदेशको सबैभन्दा ठुला जलविद्युत आयोजना कलाङ्गा जलविद्युत आयोजनाका सञ्चालक वीरेन्द्र मल्लले भन्नुभयो ।

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा उत्पादित दुई सय ५० मेगावाटसम्म विद्युत् प्रवाहका लागि पूर्वाधार तयार भएको नेपाल विद्युत प्राधिकरण डडेल्धुरा वितरण केन्द्रका लेखापाल देवसिंह धामीले बताउनुभयो । सुदूरपश्चिम प्रदेशमा उत्पादित विद्युत् स्थानीयरूपमा आपूर्ति हुँदा बाँके जिल्लाको कोहलपुर र पश्चिम क्षेत्रमा भोल्टेजमा सुधार आउने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

चमेलिया–स्याउले–अत्तरिया एक सय ३२ केभी प्रसारण लाइनमा अहिले प्राधिकरण र निजी क्षेत्रले निर्माण गरेका आयोजनाको करिब एक सय १० मेगावाट विद्युत् जोडिएको छ । निजी क्षेत्रका आयोजनाको ५० मेगावाट विद्युत् जोडिने क्रममा छ । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा विद्युत् आपूर्ति नियमित र भरपर्दो बनाउन डडेल्धुराको स्याउलेमा एक सय ३२÷३३ केभी सब स्टेसन सञ्चालित छ ।

बलाँच सब स्टेसनबाट आएको विद्युत् स्याउले सबस्टेसनबाट डडेल्धुरा, दार्चुला, डोटी, बैतडी र अछाममा आपूर्ति गरिएको छ । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा हाल करिब छ मेगावाट विद्युत् खपत हुन्छ । स्याउले सबस्टेसनबाट स्थानीयरूपमा विद्युत् आपूर्ति गरी बाँकी रहेको विद्युत् अत्तरिया सबस्टेसनमा ल्याई राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गरिएको छ ।

चमेलिया–स्याउले–अत्तरिया एक सय ३२ केभी प्रसारण लाइनको दोस्रो सर्किटको आयोजना आर्थिक वर्ष २०७४/७५ देखि सुरु गरिएको थियो । कोभिड–१९ महामारी र विगतमा मुआब्जा तथा क्षतिपूर्ति लिइसकेका डडेल्धुरा तथा दार्चुला जिल्लाका केही स्थानीयवासीले दोस्रो सर्किटको तार तान्न अवरोध गर्दा काममा केही ढिलाइ भएको आयोजना प्रमुख अनिल अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्