ककनी गाउँपालिकाको निर्णयको विरोध : शुल्क उठाए कानुनी उपचारमा जाने चेतावनी

0
Shares

–कामपाले सहयोग रोक्न सक्ने
–गाउँपालिका अध्यक्ष तामाङ भन्नुहुन्छ, रकम उठाउने निर्णय फिर्ता गर्दैनौं
–मेयर फोरमको आज बैठक बस्दै

काठमाडौं । ककनी गाउँपालिकाले बञ्चरे लयान्डफिल साइटमा फोहोर विसर्जन गरेको सवारी शुल्कबापत प्रति सवारीसाधन १ हजार ५ सय रुपियाँ लिने निर्णय गरेपछि त्यसको विरोध भएको छ । ल्यान्डफिल साइटमा उपत्यकाको १७ स्थानीय तहले दैनिक करिब १ सय ८० ट्रिप फोहोर व्यवस्थापन हुने गरेको छ । ककनी गाउँपालिकाले प्रत्येक साना सावारीसाधनसँग १ हजार र ठूला सवारीसाधनसँग १ हजार ५ सय संकलन गर्ने भएपछि विवाद सिर्जना भएको छ ।

ककनी गाउँपालिकाको सो निर्णयविरुद्ध कानुनी उपचार खोज्ने तयारी गरेको छ । ककनीको सो निर्णयसँगै काठमाडौं महानगरपालिकाले गर्ने सहयोग रोक्ने चेतावनी दिएको छ । काठमाडौं महानगरपालिकाले सो गाउँपालिकालाई शिक्षा, स्वास्थ्य र रोजगारीलगायत क्षेत्रमा वार्षिक करिब ८ करोड बढी सहयोग गर्ने गरेको छ ।

कामपका मेयर बालेन्द्र साहले ककनी गाउँपालिकाको सो निर्णय गलत भएको टिप्पणी गर्नुभएको छ । फोहोरमैला व्यवस्थापन संघका प्रतिनिधिसँगको कुराकानीको क्रममा उहाँले ककनी गाउँपालिकाले सो निर्णय गरे कामपाले दिने सहयोग रोक्ने जनाउनुभएको छ । संघका महासचिव मित्रप्रसाद घिमिरेले सेवा शुल्क लिने विषयमा छलफल गर्दा मेयर साहले ककनी गाउँपालिकाले निर्णय फिर्ता लिनुपर्ने बताउनुभएको जानकारी दिनुभयो ।

कानुनमा सेवा उपलब्ध गरेवापत शुल्क लिने व्यवस्था छ, तर ककनी गाउँपालिकाले फोहोरमैला व्यवस्थापन गर्न कुनै सहयोग गरेको छैन हचुवाको भरमा रकम संकलन गर्न पाउँदैन । संस्थाका महासचिव घिमिरेले भन्नुभयो– ‘काठमाडौं महानगरले सबै सेवा दिएको कारण प्रति सवारी साधन ३ सय रुपियाँ लिने गरेको छ । उक्त रकम कामपाले सो क्षेत्रका बासिदालाई रोजगारी, स्वाथ्य र शिक्षा क्षेत्रमा सहयोग गरिरहेको छ ।’

‘सेवाशुल्क लिएपछि सेवा दिनुपर्छ, हचुवाको भरमा रकम असुल्न पाइँदैन’, महासचिव घिमिरेले भन्नुभयो– ‘हाल उपत्यकाका १७ स्थानीय निकायका ८० प्रतिशत फोहोर निजी क्षेत्रले व्यवस्थापन गरिरहेको छ । हामीले सो निर्णय फिर्ता फोहोर लैजान सक्दैनौं, २ दिनभित्र स्थानीय तहले निर्णय गरोस् ।’

ककनी गाँउपालिकाका अध्यक्ष सुमन तामाङले गाउँपालिकाको लेखा समितिले गरेको निर्णय फिर्ता हुन नसक्ने स्पष्ट पार्दै १ गतेबाट रकम संकलन शुरू गर्ने बताउनुभयो । उहाँले भन्नुभयो– ‘हमीले कानुनअनुसार सो निर्णय गरेका हांै, फिर्ता लिँदैनौं ।’ उहाँले संविधानले दिएको अधिकार प्रयोग गरेर रकम संकलन शुरू गर्न लागेको दाबी गर्दै भन्नुभयो– ‘साउन १ गतेबाट सेवा शुल्क नतिरे फोहोर विसर्जन गर्न दिँदैनांै ।’

ककनी गाउँपालिकाको सो निर्णयको विरोधमा निजी फोहोर व्यवस्थापक संघले आज बिहीबार थप निर्णय गर्नेछ । ककनी गाउँपालिकाले फोहोरको शुल्क उठाउने विषयमा जानकारी लिन उपत्यका मेयर फोरमका अध्यक्ष एवं ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसँग पटकपटक सम्पर्क गर्न खोज्दा सम्पर्कमा आउन चाहनुभएन ।

फोरमको अध्यक्षको हैसियतमा रहनुभएका मेयर महर्जनले पछिल्लो समय फोरमको विषयमा खासै ध्यान दिनुभएको छैन । निजी फोहोर व्यवस्थापकको दबाबका कारण मेयर महर्जनले सो विषयमा आज बिहीबार बैठक बोलाउनुभएको छ । अधिकांश आफ्नो निर्णय लाद्न खोज्ने मेयर महर्जनलाई पटकपटक दबाब दिएपछि मात्रै आज बैठक बोलाउनुभएको हो । फोरमले ककनी गाउपालिकासँग वार्ता गरेर ठोस निर्णय नगरे निजीसंस्थाले फोहोर व्यवस्थापन गर्न नसक्ने चेतावनी दिएका छन् ।