प्रवेश परीक्षाका नाममा शुल्क लिए सामुदायिक विद्यालयलाई कारबाही गर्ने



बुटवल।

बुटवल उपमहानगरपालिकाले नगर भित्रका सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई पोशाक र पुस्तक खरिदमा निश्चित पसलमा जान बाध्यकारी नियम लागू नगर्न र स्वेच्छिक हिसाबले खरिद गर्न निर्देशन दिएको छ । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले विद्यालय शिक्षामा सुधार ल्याउन सामुदायिक विद्यालयहरुलाई यस्तो निर्देशन दिनुभएको छ ।मंगलबार बुटवलभित्रका सामुदायिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यापकहरुसँगको छलफलका क्रममा विद्यालय शिक्षा सुधार गर्दै बुटवललाई शिक्षामा अगुवा शहर बनाउनुपर्ने बताउनुभयो।

माध्यमिक तहको भर्ना शुरु हुनुअघि आयोजित छलफलका क्रममा उहाँले विद्यार्थीहरुलाई पोशाक र पुस्तक खरिदमा निश्चित पसलमा जान बाध्यकारी नियम लागू नगर्न र स्वेच्छिक हिसाबले खरिद गर्न दिनका लागि निर्देशन दिनुभयो। ’विद्यालयले किताब, कापी र पोशाक बेच्ने र आफू अनुकुलका पसलहरुबाट खरिद गर्नका लागि सिफारिश गर्ने र बाध्यकारी बनाउने काम नगर्नुहोला, उहाँले छलफलका क्रममा भन्नुभयो–विद्यालय सुधार गर्नका लागि पहिले विद्यालयको प्रशासनिक कुराहरुमा सुधार ल्याउनुस्, विद्यालयभित्रैबाट बाध्यकारी हुने अवस्था सिर्जना नगर्नुहोस्।

नयाँ विद्यार्थी भर्ना गर्दा प्रवेश परीक्षाका नाममा शुल्क नलिन र भर्ना तथा शिक्षण शुल्क जस्ता विद्यार्थीबाट लिने शुल्कमा वृद्धि नगर्न नगर प्रमुख पाण्डेयले आग्रह गर्नुभयो।

आगामी दिनमा समय र आवश्यकताअनुसार नगरको शिक्षा ऐन परिमार्जन गर्दै विद्यालय शिक्षालाई अझ बढी स्तरीय बनाउदै लैजाने प्रतिबद्धता उहाँले जनाउनुभयो।

उहाँले विद्यालयहरुको सुधारका लागि नगरले शैक्षिक सुधार कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको बताउँदै यसले विद्यालयहरुको शिक्षामा सुधार आउने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा सामाजिक विकास महाशाखा प्रमुख मित्रमणि खनालले विद्यालयस्तरको शिक्षामा सुधारका लागि सबै विद्यालयहरु एउटै नियम र पद्धतिमा चल्न आग्रह गर्नुभयो। उहाँले विद्यालयमा अनुशासन र विधिको पालनामा जोड दिनुपर्ने बताउनुभयो ।उहाँहरुले विद्यालय शिक्षा सुधारमा नगरले थप लगानी गर्न आवश्यक रहेको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्