गाउँपालिकाको कृषि विकास शाखामा तालाबन्दी, माछाको भुरामा ठगी गरेको आरोप



भद्रपुर।

गाउँपालिकाले वितरण गरेको माछाको भुरामा ठगी गरेको भन्दै पीडित बनेका माछा पालक किसानहरूले गाउँपालिका घेराउ गरी नाराबाजी गर्दै कृषि विकास शाखामा ताला लगाएका छन् ।

दक्षिणी झापाको कचनकवलका माछा पालक किसानहरूले गाउँपालिकाको कृषि विकास शाखामा आइतबार तालाबन्दी गरेका हुन् ।  गाउँपालिकाले ५० प्रतिशत अनुदानमा  वितरण गरेको एउटा प्याकेटमा एक हजार माछाको भुरा भनेर गाउँपालिकाले पाँच सय वटा मात्र दिएर ठगी गरेको किसानहरूले आरोप लगाएका छन् ।

गाउँपालिकाको कार्यालयबाटै ठगिएको हुँदा ठगी गर्ने जिम्मेवार कर्मचारीमाथि छानबिन गरी दोषी कर्मचारीलाई हदैसम्म कारबाही गरी माछा पालक किसानहरूलाई उचित क्षतिपूर्तिसमेत दिलाउन उनीहरूले माग राखेका छन्।

चार हजार भुराको लागि ६ हजार रुपैयाँ गाउँपालिका कार्यालयमा बुझाएका भवेश राजवंशीले दुई हजारको मात्र भुरा पाएका छन् । गाउँपालिकाले चार हजार भुरा दिएर पठाएको तर, गन्ती गर्दा दुई हजार मात्र रहेको राजवंशीको भनाइ छ  । अरू किसानहरू पनि त्यसरी नै ठगिएकोले घटनाको छानबिन हुनुपर्ने उहाँको माग छ ।

५ पैसा पनि नपर्ने भुरालाई साढे ३ रुपैयाँको हो भनेर किसानलाई वितरण गरिएको बताउँदै कर्णसिंह राजवंशीले किसानहरू त्यसैको बारेमा गाउँपालिकासँग छलफल गर्न जाँदा एक हजार भुरा त कम भएको छ भनी गैर जिम्मेवार जवाफ  पाएको उहाँले बताउनुभयो ।
भुरा वितरण गर्ने कर्मचारीलाई तत्काल निलम्बन गरी कारबाही गर्नुपर्ने किसानहरुको माग छ ।

पालिकाले रहु माछाको भुरा दिने भनिएको थियो । तर, बजारमा बिक्दै नबिक्ने विगहेड माछाको भुरा किसानलाई वितरणको उहाँको भनाइ छ ।  गाउँपालिकाबाट ४२ जना किसानले माछाको भुरा लगेका थिए । किसानहरूले माछाको भुराको लागि प्रतिगोटा डेढ रुपैयाँका दरले अग्रिम रकम जम्मा गरेका थिए । गाउँपालिकाले प्रतिगोटा तीन रुपैयाँ पर्ने भनिएको माछाको भुराको लागि डेढ रुपैयाँ कार्यालयका तर्फबाट बेहोर्ने गरी सूचना प्रकाशित भएको थियो । गाउँपालिकाले गत जेठ १४ गते माछा पालक किसानका लागि माछाको भुरा पचास प्रतिशत अनुदानमा दिने भन्दै जेठ २८ गतेभित्र रकम जम्मा गर्न सूचनामार्फत आव्हान गरेको थियो भने असार १२ गते माछाको भुरा वितरण गरेको थियो ।

कचनकवल गाउँपालिकाले पशुपन्छी तथा मत्स्य विकास शाखाको आर्थिक वर्ष २०७९÷०८० को वार्षिक स्वीकृत कार्यक्रमअनुसार ५० प्रतिशत अनुदानमा कार्प जातको माछाको भुरा वितरण गरेको हो । वितरणको जिम्मा कर्मचारीहरू दीपक अधिकारी, मशिन्द्र यादव र हेमराज पौडेलले लिएका थिए ।
घटनाको छानबिनका लागि माछा पालक भवेश राजवंशी, प्रदीप राजवंशी, कर्णसिंह राजवंशी, अर्जुन राजवंशी, बलाल राजवंशी र कैलाश मण्डलले ठगी भएको भन्दै कचनवकल गाउँपालिकाका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीलाई शुक्रवार उजुरी दिएका थिए ।

गाउँपालिका अध्यक्ष राजवंशीले भुरा वितरण गर्ने गाउँपालिकाका कर्मचारीबाट कमीकमजोरी भएको स्वीकार गर्नुभएको छ ।  पीडित किसानहरूले राखेको मागको बारेमा उहाँहरूसँग छलफल गरिएको बताउँदै अध्यक्ष राजवंशीले छलफलमा कम भएको भुरा पुनः वितरण गर्ने, माग बमोजिम जातको भुरा दिने र दोषी कर्मचारीमाथि छानबिनका लागि समिति गठन गरेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्