७२ घण्टे नीतिमा परिवर्तन नहुँदासम्म नेपाली ट्रक व्यवसायीको पेशा संकटमुक्त हुँदैन



बुटवल।

नेपाली मालबहाक सवारी साधन ट्रक यातायात व्यवसायीको पेशा संकट पूर्ण रहेको भन्दै व्यवसायीका माग सम्बोधन  नभए पेशा विस्थापित गर्ने व्यवसायीहरुले चेतावनी दिएका छन् । लुम्बिनी ट्रक यातायात व्यवसायी संघ रूपन्देहीको ११ औं वार्षिक साधारणसभामा बोल्ने व्यवसायीहरुले राज्यको नीतिका कारण व्यवसाय गर्न कठिन रहेको बताएका हुन् । राज्यले भारतीय ओभरलोडका ट्रक निर्वाध रुपमा चल्न पाउने नीति बनाउने तर नेपालका व्यवसायी समस्यामा पर्दा चाँसो नदिँदा समस्या भएको बताएका हुन् ।

ट्रक यातायात व्यवसायी महासंघका कार्यवाहक अध्यक्ष लोकराज पोखरेलले व्यवसायीलाई नेताले भ्र्याङ बनाएर माथि उक्लिने र माथि पुगेपछि कुल्चिदा समस्या भएको बताउँदै भारतीय ट्रकका कारण व्यवसाय गर्न कठिन भएको बताउनुभयो  । सरकार नेपाली व्यवसायी मुखी भन्दा पनि भारतीय व्यवसायी मुखी भएकोले आन्दोलनमा जानुको विकल्प नरहेको अध्यक्ष पोखरेलले बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य महेन्द्र कुमार श्रेष्ठले ट्रक व्यवसायमा भएका चुनौतीलाई सामना गर्दै अगाडि बढ्नु पर्ने बताउनुभयो ।
कहिले नाकाबन्दीको भार कहिले भूकम्पको प्रभाव र कहिले कोरोना महामारीका विषम अवस्थाहरुमा समेत ज्यानको बाजी राखेर विभिन्न समस्या झेल्दै कठिन परिस्थितिको सामना गर्दै बल्ल तल्ल गुज्रिदै आएको लुम्बिनी ट्रक यातायात व्यवसायी संघ रुपन्देहीका अध्यक्ष विष्णुप्रसाद खरेलले बताउनुभयो । उहाँले ट्रक व्यवसायी विगत ३ वर्ष यता पूर्व पश्चिम राजमार्ग अन्तर्गत बुटवल– नारायणगढ सडक खण्डको दुरावस्थाले गर्दा  ट्रकहरुमा अत्याधिक टुटफुटको खर्च आउने र डिजेलको चरम मूल्यवृद्धिको मारले गर्दा र उद्योग कलकारखानाहरुमा संकट अवस्थामा गुज्रिरहेकोले उत्पादन अत्यन्त कमी हुँदा पेशा झन् धरापमा पर्दै गएको बताउनु भयो  ।

नेपाल ट्रक यातायात व्यवसायी महासंघ र लुम्बिनी ट्रक व्यवसायी संघ स्थानीय संघ संस्थाको पहलमा भारतीय ट्रकको नेपालमा निर्बाध आगमनलाई रोक्ने प्रयास गरेता पनि सरकारको ७२ घण्टे नीतिले व्यवसायी मारमा रहेका छन् ।

विशुद्ध नेपालीहरुको मात्र लगानी भएको ट्रक यातायात व्यवसायीमाथि बैंकको चर्को ब्याजले गर्दा धान्नै नसकेको र आत्मदाह नै गर्ने अवस्थामा पुगेको  बताउँदै लगानी सुरक्षित बनाउन राज्यले अविलम्ब ध्यान दियोस् भन्ने आग्रह अध्यक्ष खरेलले गर्नु भयोे ।

महासचिव रुमाखर गौतमले  दुर्घटना न्यूनीकरणका लागि चालक सहचालकहरुलाई प्रशिक्षण, अन्तरक्रिया गर्दै भारतीय गाडीले नेपालमा निर्बाध रुपमा सञ्चालन गर्ने कार्य रोक्नका लागि ठोस नीति बनाएर भन्सार बिन्दुबाट भारत तर्फ पठाउने नीतिका लागि पहल गर्ने भावी योजना रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्