१३ वर्षीया शुभयाको मृत्यु, घटना गभीर शंकास्पद



काठमाडौं ।  

मोरङ जिल्लाको विराटनगर महानगरपालिका अरुणचोक–६ मा भएको १३ वर्षीया बालिका शुभया पौडेलको मृत्यु  शंकास्पद रहेको पीडित पक्षले बताएका छन् ।

मृतक बालिकाकी आमाका अनुसार आत्महत्या गरेको भनिएकी बालिकाको निधारमा गम्भीर चोट देखिनु, सल काटिएको अवस्थामा भेटिनु र बालिकाको शव अडेस लागेझैं भुइमा रहेकाले घटनामा थप शंका उत्पन्न भएको हो ।

घटना हुनुभन्दा पहिले मृतक बालिकाका पिता सुमन पौडेलले बालिकालाई ललाई फकाई आफूले नै पढाउने भन्दै जबरजस्ती आफूसंग राख्न चाहेको पीडित परिवारले बताएका छन् ।

दुई जना छोराछोरीको साथमा श्रीमानबाट अलग बस्दै आएकी सुनिता पौडेलले छुट्टीको समयमा केही समयका लागि मात्र छोरीलाई पिता सुमन निरौलाको घर पठाएकी थिइन् । तर सुमन निरौला र उनको परिवारले जबरजस्ती मृतक शुभयालाई आफूसँगै राखेर आमा सुनिता निरौलासँग कुनै फोन सम्पर्क पनि गर्न नदिएको पीडित पक्षले गुनासो गरेका छन् । सुमन निरौला र उनको परिवारले मृतक बालिका र आमाबीचको सबै संवादका माध्यमहरु बन्द गरिदिएको पीडित पक्षले बताएको छ ।

फोन गर्न खोज्दा सुमन निरौला तथा उनको परिवारले अश्लील गाली गलौज गरेको सुनिता निरौलाले बताउनुभएको छ । केही दिन अगाडि मृतक बालिकाको भाइले आमासँग जान्छु भन्दा पिता सुमन निरौलाले उनको पनि घाँटी च्यापेको र मृतककी काकीले छुट्याएको कुरा आमासँग बताएका थिए ।

मृतक बालिकाकी आमा सुनिताका अनुसार विराटनगर प्रहरी प्रशासनले घटनालाई आत्महत्या नै भएको देखाइ अनुसन्धानमा उदाशिन देखिएको र दुवै पक्षबीच मेलमिलापको कुरा राख्दै घटनालाई ओझेलमा पार्ने प्रयत्न गरिएको बताइएको छ ।

प्रहरी प्रशासनले नै पीडित पक्षलाई थप आहत बनाएको हुँदा  मृतक शुभयाको न्यायको लागि पहल गरिदिन पीडित पक्षले सम्बन्धित सबैसँग माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्