रुपन्देहीका १६ मध्ये तीनपालिका गाउँसभा गर्न असफल, आन्तरिक विवाद  प्रमुख कारण



बुटवल। 

रुपन्देहीमा १६ वटा स्थानीय तह रहेकोमा ३ गाउँपालिकाले तोकिएको समयमा गाउँसभा नै गर्न सकेनन्। जसका कारण बजेट पनि ल्याउन असफल भएका छन् । वडा अध्यक्ष, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षबीच बजेट बाँडफाँडको विषयमा कुरा नमिल्दा ३ गाउँपालिका गाउँसभा नै गर्न असफल रहेका छन् । जिल्लाको कोटहीमाई गाउँपालिका ,रोहिणी गाउँपालिकार र सम्मरीमाई गाउँपालिकाले तोकिएको असार १० गते भित्र नीति, कार्यक्रम तथा बजेट ल्याउन सकेनन् ।

वडा अध्यक्षले वडाको लागि अत्यधिक बजेट माग गर्न थालेपछि ३ वटै पालिकाले निश्चित समयमा गाउँसभा गर्न सकेनन् । यसले पालिकालाई प्राप्त हुने अनुदानमा प्रत्यक्ष असर पार्नेछ । असार १० गते भित्र स्थानीयतहले कानुन अनुसारको गाउँसभा गर्नुपर्छ  अन्यथा समयमा गर्न नसके कानुनको पालन गर्न नसकेको ठहरी अनुदानमा कटौती हुने कानुनी व्यवस्था रहेको छ ।

सम्मरीमाई गाउँपालिकाका वडा अध्यक्षहरुले २ करोड ५० लाखको बजेट माग गरेको र गाउँपालिका अध्यक्षले पनि समन्वय गर्न नसक्दा गाउँसभा हुन नसकेको त्यहाँका प्रमुख प्रशासकीय अधिकृत झविलाल भट्टराईले बताउनुभयो । यस्तै रोहिणीमा पनि बजेट सिलिङ्गकै समस्या रहेको प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतमको भनाई छ ।

कोटहीमाई गाउँपालिकामा पनि लामो समयको छलफलपछि पनि गाउँसभा हुन सकेको छैन । समस्या समाधान गरी असार १५ गते भित्र नै गाउँसभा गर्ने प्रयासमा रहेको प्रमुख प्रशासकीय अधिकृत राजन श्रीवास्तवको भनाई छ ।

जनप्रतिनिधिहरुको लडाइँले यसको प्रत्यक्ष मार सम्बन्धित पालिकाको विकासमा पर्ने भन्दै स्थानीयहरूले रोष व्यक्त गरेका छन् । १ वटा उपमहानगर पालिका, ५ वटा नगरपालिका र ७ वटा गाउँपालिकाले समय सीमा भित्रै नीति कार्यक्रम र बजेट ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्