चाहिने बेला ब्याटिङ पुरै फ्लप



काठमाडौं । जिम्बावेमा जारी आईसीसी एकदिवसीय क्रिकेट विश्वकपको छनोट चरणमा नेपाल समूह चरणबाटै बाहिरिएको छ ।

शनिबार आफ्नो अन्तिम खेलमा नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित भए लगतै नेपाल प्रतियोगिताबाट बाहिरिनु परेको हो । नेपालको यो पराजयले गर्दा सुपर सिक्समा पुग्ने लक्ष्य पनि समाप्त भयो । नेपालले आवश्यक परेको बेला ब्याटिङ उत्कृष्ट गर्न सकेन । टस हारेर पहिले ब्याटिङ गर्नु परेको नेपालले ४४.३ ओभरमा १ सय ६७ रन मात्रै बनाउन सकेको थियो । १ सय ६८ रन लक्ष्य नेदरल्यान्ड्सले ३ विकेट गुमाएर २७.१ ओभरमा प्राप्त गरेको थियो ।

यो नतिजापछि नेपालको चार खेलमा २ अंक रह्यो । नेदरल्यान्ड्सको ४ अंक भएको छ । जिम्बावे र वेस्ट इन्डिज पहिल्यै चार अंक जोडेर शीर्ष दुई स्थान ओगटेका छन् । सुपर सिक्समा एक समूहको तीन टोली मात्रै जाने हुँदा यो समूह ए बाट वेस्ट इन्डिज, जिम्बावे र नेदरल्यान्ड्सले सुपर सिक्समा स्थान सुरक्षित गरे । यो समूहबाट नेपाल र अमेरिका बाहिरिएका हुन् । नेदरल्यान्ड्सको जितले जिम्बावे र वेस्टइन्डिजबिचको खेल पनि दवावमुक्त भएको थियो ।

नेपालको तर्फबाट सन्दीप लामिछानेले २ विकेट लिए भने गुलशन झाले १ विकेट लिएका थिए । नेदरल्यान्ड्सको ओपनर जोडी विक्रम सिंह र मेक्स ओदोउडले पहिलो विकेटका लागि ८२ रन जोडेका थिए । यो जोडी सन्दीपले विक्रम (३० रन) लाई आउट गरेर तोडेका थिए । यसपछि सन्दीपले नै अर्को विकेट लिएर नेपालको आस बनाए पनि मेक्सको आक्रमक ब्याटिङले त्यो पुरा हुन सकेन । मेक्स ९० रनमा गुलशनको बलमा आउट भएका थिए । उनी आउट हुँदा जितको लागि १० रन मात्रै आवश्यक थियो ।

नेपालको ब्याटिङ

नेपालले नेदरल्यान्ड्स जस्तो आक्रमक टोलीलाई मात्र १ सय ६८ रनको लक्ष्य तेर्साउनु नै हारको कारण बन्यो । नेपालले सुपर सिक्समा पुग्न यो खेल जित्नै पर्ने थियो । तर, अघिल्ला खेलमा जस्तो ब्याटिङ यो जित्नै पर्ने खेलमा भएन । ब्याटिङ पूरै प्mलप शो जस्तै भयो । ओपनर आसिफ शेख र कुशल भुर्तेलको जोडी ७ रनमै तोडियो । आशिफ लोगान भानबीकको बलमा बोल्ड भएका थिए । उनले कुनै रन बनाउन सकेनन् । यसपछि कुशल र भीम सार्कीले खेल अगाडि बढाए ।

उनीहरुले ब्याटिङ राम्रै गरिरहेका थिए । तर, यो साझेदारी जम्नै लागेको थियो यो जोडी पनि ४६ रनमा पुग्दा टुट्यो । भीम र कुशलले ३९ रनको साझेदारी गरेका थिए । यो साझेदारी नेपालको इनिङमा उच्चतम सावित भयो । कुशल २७ रनमा विक्रमको बलमा आउट भएका थिए । आरिफ शेख क्रिजमा आए उनी पनि छिटै पभेलियन फर्के । विक्रमकै शिकार बनेका उनले ६ रन योगदान दिएका थिए ।

यसपछि भीम पनि २२ रन बनाएर क्लेटन फ्लोडको बलमा चौथो विकेटको रुपमा आउट भए । यो स्थितिमा नेपालको स्कोर ६६ मात्रै थियो । नेपाल दवावमै पुगिसकेको थियो । नेपाललाई उकास्न कुशल मल्ल र कप्तान रोहित पौडेल सम्हालिएर खेल्दै थिए । उनीहरुले पाँचौ विकेटकालागि साझेदारी लम्ब्याउँदै पनि गए । तर, यो साझेदारी पनि ९१ रनमा पुगेर रोकियो । कुशल आर्यन दतको बलमा १२ रनमा आउट भए । निकै दवावमा पुगेपछि कप्तान रोहित पनि ३३ रन बनाएर भानबीकलाई विकेट दिँदै पभेलियन फर्केका थिए । यो नेपाली इनिङमा व्यक्तिगत ठूलो योगदान सावित भएको थियो ।

सात रन जोड्दा नेपालको आक्रमकरुपमा परिचित दीपेन्द्र सिंह ऐरीले पनि ब्याट लिएर फर्कनु प¥यो । भानबीकको बलमा आउट भएका दीपेन्द्रले १४ रन बनाएका थिए । यसपछि गुलशन झा र सन्दीपले नेपालको स्कोर १ सय ५० नघाए । १ सय ५५ रनमा पुग्दा गुलशन १५ रन बनाएर आउट भए । नेपालको यो आठौं विकेट पतन थियो । २ रन जोड्दा नवौं विकेटको रुपमा करण आउट भए । उनले १ रन मात्रै बनाएका थिए । सन्दीप अन्तिम विकेटको रुपमा आउट भएका थिए । भान बीककै बलमा आउट भएका उनले ४ चौकाको सहयोगमा २७ रन जोडे । ललित राजवंशी शून्यमै नटआउट रहे ।

प्रतिक्रिया दिनुहोस्