नैतिक स्वास्थ्यमा विशेष ध्यान देऊ



अहिले शासकहरुबाट भ्रष्टाचारमा शून्य सहनशीलताको नीति लागू गर्ने सम्बन्धमा बोली र व्यवहार कतै पनि देख्न पाइँदैन । हुन त विगतका केही शासकहरुले बोलीमा भ्रष्टाचारमा शून्य सहनशीलता भन्थे तर व्यवहारमा त्यसलाई लागू गर्न सक्दैनथे । अहिलेका शासकहरुले व्यवहारमा लागू गर्न नसक्ने भएकाले पनि होला भ्रष्टाचारमा शून्य सहनशीलताको विषय खासै उठान गरिरहेका छैनन् । लामो समयदेखि सरकारी, गैरसरकारी तथा निजी संघसंस्थाहरुमा भ्रष्टाचार अत्यधिक मौलाउँदै आइरहेको छ । लामो समयदेखि भ्रष्टाचारको कुलतमा फस्दै आएका सरकारी अधिकारीहरुमा नैतिकता स्खलित हुन पुगेको देखिएको छ । महालेखा परीक्षकको कार्यालयले बर्सेनि गर्ने गरेको महालेखापरीक्षणका क्रममा अर्बौं रुपियाँ अनियमित किसिमले खर्च हुने गरेको औँल्याई आगामी दिनमा त्यस्तो खर्चलाई निरुत्साहित गर्नुपर्ने सुझाव दिँदै आएको छ । तर महालेखाको सो सुझावलाई अधिकांश सरकारी अधिकारी र निकायले बेवास्ता गर्ने गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले केही समयअघि मात्रै एउटा अभियान ल्यायो– ‘प्रत्येक कर्मचारीले कार्यालय प्रवेश गर्नुअघि भ्रष्टाचार नगर्ने प्रण गर्दै कार्यालय प्रवेश गर्ने र काम गर्ने ।’ तर प्रधानमन्त्री कार्यालयको सो अभियानले कर्मचारीमा रहेको भ्रष्टाचारको कुलत रोक्न सकेन । त्यो अभियान बनावटी मात्रै ठहरियो । हुन त हाम्रा सरकारी अधिकारीहरु नीति, योजना र कार्यक्रम ल्याउन खप्पिस छन् तर त्यसको कार्यान्वयन गर्ने विषयमा भने उनीहरु फेल हुने गरेका छन् । सम्भवतः उनीहरुमा रहेको स्वार्थ र लोभी प्रवृत्तिले पनि यस्तो भएको हुन सक्छ । हाम्रा सरकारी अधिकारी तथा शासकहरु आफ्नो काम–कर्तव्यप्रति इमानदार बन्न नसक्दा पनि हाम्रा कैयौँ योजना र कार्यक्रम असफल हुँदै आइरहेका छन् ।

भ्रष्टाचारविरुद्धका अध्येताहरुका अनुसार मानिसमा तीन प्रकारका स्वास्थ्य हुन्छन् । जस अनुसार शारीरिक स्वास्थ्य, मानसिक स्वास्थ्य र नैतिक स्वास्थ्य । यी मध्ये नेपालका नेता, शासक, कर्मचारीलगायत धेरै व्यक्तिहरुमा नैतिक स्वास्थ्यमा गम्भीर गडबडी देखिँदै आएको छ । सरकारी अधिकारीहरुमा बीउ लगाएर फसल खानुभन्दा बीउ नै कोप्ल्याइदिने खतरनाक प्रवृत्ति छ, जुन नैतिकरुपमा निकै अस्वस्थ प्रवृत्ति हो । जबसम्म यहाँका शासक नेता तथा कर्मचारीमा नैतिक स्वास्थ्यमा सुधार आउँदैन तबसम्म भ्रष्टाचार रोकिने सम्भावना देखिँदैन । यद्यपि यहाँको निजी क्षेत्र तथा सामाजिक क्षेत्रमा पनि त्यस्तै खालका गम्भीर समस्याहरु छन् । यस्ता समस्यालाई समाधान गर्ने नेतृत्व जन्मन नसक्नु पनि घोर विडम्बना भएको छ ।

जानकारहरुका अनुसार भ्रष्टाचारको कुलतमा फस्नु लागू औषधको कुलतमा फस्नुभन्दा पनि खतरनाक हुन्छ । लागू औषधको कुलतमा फसेकाहरुलाई विभिन्न पुनस्र्थापना केन्द्रहरुमा लगेर उपचार गराउन सकिन्छ तर भ्रष्टाचारको कुलतमा फसेकालाई कुनै प्रकारको उपचार गर्न सकिँदैन । त्यसैले भ्रष्टाचार क्यान्सरभन्दा पनि खतरनाक रोगको रुपमा विकास भइरहेको छ । सबैभन्दा राम्रो उपचार भनेकै उनीहरु नैतिकरुपमा आफैँ सुध्रने हो । त्यसैले सबै शासकहरुलाई हाम्रो विनम्र आग्रह छ– नैतिक स्वास्थ्यमा विशेष ध्यान देऊ, अब सुध्रिएर अघि बढ ।

प्रतिक्रिया दिनुहोस्