सरकारी खर्चमा असन्तुलन



चालू आर्थिक वर्ष सकिन एक महिनाभन्दा पनि कम समय बाँकी छ । चालू आर्थिक वर्षमा बजेट खर्चको स्थितिलाई हेर्दा अत्यन्तै न्यून देखिएको छ । साथै सरकारी खर्चमा देखिएको असन्तुलनले सरकारमाथि चर्को दबाबसमेत सिर्जना गरेको छ । ११ महिनाको अवधिमा जम्मा ६५ प्रतिशत मात्रै बजेट खर्च हुँदा विकासको सपना मात्रै होइन सरकारले लिएको आर्थिक वृद्धि र अन्य लक्ष्यहरूमा समेत तुसारापात भएको छ । उक्त अवधिमा कुल ११ खर्ब ७३ अर्ब ५ करोड ५० लाख रुपियाँ अर्थात् विनियोजित बजेटको ६५ दशमलव ४१ प्रतिशत मात्रै खर्च भएको महालेखा नियन्त्रक कार्यालयको तथ्यांक छ । साथै यस अवधिमा सरकारको कुल आम्दानीले कर्मचारीलाई तलबभत्ता खुवाउने खर्चको मात्रै जोहो भएको छ । साथै विकास र ऋणको सावाँ–ब्याज भुक्तानी गर्न ऋण नै खोज्नुपर्ने स्थिति देखिएको छ । यस्तो स्थितिमा जनताले विकासको सपना नदेखेकै राम्रो हुने अवस्था सिर्जना भएको छ ।

चालू आर्थिक वर्षको ११ महिनामा सरकारले ८ खर्ब ७८ अर्ब २ करोड ८ लाख रुपियाँ आम्दानी गर्दा कर्मचारीको तलबभत्तालगायतको सरकारी खर्च हुने चालू खर्च मात्रै ८ खर्ब ७६ अर्ब २ करोड ८२ लाख रुपियाँ खर्च भएको छ । सो आधारमा जम्मा १ अर्ब ९९ करोड रुपियाँ सरकारी खातामा बचत भएको देखिन्छ । तर, सरकारले कुल खर्च ११ खर्ब ७३ अर्ब ५ करोड ५० लाख रुपियाँ गरेको हुँदा सरकारलाई करिब ३ खर्ब रुपियाँ खुद घाटामा देखिएको छ । चालू आर्थिक वर्षमा सरकारको कुल आम्दानी र चालू खर्च बराबरजस्तै देखिँदै आएको छ । सरकारले बाँकी रहेको अवधि अर्थात् असार मसान्तसम्म विनियोजन बजेटमध्ये करिब ६ खर्ब रुपियाँ खर्च गर्नुपर्ने हुन्छ । आन्तरिक र बाह्य ऋणको सावाँ–ब्याजको किस्ता, कर्मचारीको तलब भत्तालगायत निर्माण सम्पन्न भएका आयोजनाको बिल भुक्तानी गर्दा सो बराबरको रकम खर्च हुने सम्भावना छ । तर, भुक्तानी दिने स्रोत भने निश्चित छैन । लक्ष्यको तुलनामा अत्यन्तै न्यून राजस्व संकलन हुँदा सरकारलाई आफ्नो खर्च व्यवस्थापन गर्न चुनौती भइरहेको छ ।

राजस्व संकलन लक्ष्यको ५९ दशमलव ५१ प्रतिशत अर्थात् ८ खर्ब ३५ अर्ब २६ लाख रुपियाँ मात्रै भएको छ । सरकारले चालू आर्थिक वर्षमा १४ खर्ब ३ अर्ब १४ करोड ७० लाख रुपियाँ आम्दानी गर्ने लक्ष्य लिएको थियो । जसमध्ये कर आम्दानीबाट १२ खर्ब ९५ अर्ब ३७ करोड ५८ लाख, गैरकर आम्दानीबाट १ खर्ब ७७ अर्ब ७ करोड, अनुदानबाट ५५ अर्ब ४५ करोड ८३ लाख रुपियाँ रहेको छ । उक्त लक्ष्यमध्ये ११ महिनाको अवधिमा कर आम्दानीतर्फ ७ खर्ब ५७ अर्ब २६ करोड २० लाख अर्थात् ५८ दशमलव ४६ प्रतिशत, गैरकर आम्दानीबाट ७७ अर्ब ७४ करोड ६ लाख अर्थात् ७२ दशमलव १३ प्रतिशत, अनुदानतर्फ ४ अर्ब ८० करोड २० लाख रुपियाँ अर्थात् ८ दशमलव ६६ प्रतिशत र अन्यतर्फ ३८ अर्ब २१ करोड ६२ लाख रुपियाँ आम्दानी गरेको छ ।

सरकारको आम्दानी अत्यन्तै कमजोर भइरहेको अवस्थामा पुँजीगततर्फ १ खर्ब ५१ अर्ब ४३ करोड ९७ लाख अर्थात् ३९ दशमलव ८१ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ १ खर्ब ४५ अर्ब ५८ करोड ७१ लाख अर्थात् ६३ दशमलव २४ प्रतिशत गरी ११ खर्ब ७३ अर्ब ५ करोड ५० लाख रुपियाँ अर्थात् विनियोजित बजेटको ६५ दशमलव ४१ प्रतिशत खर्चले बजेट खर्चमा ल्याएको असन्तुलनका कारण सिंगो अर्थ प्रणालीमा नै परेको छ । बजेट खर्चमा देखिएको शिथिलता कारण वित्तीय प्रणालीमा तरलता कायमै रहेको छ भने भुक्तानी सन्तुलन नहुँदा बजारमा महँगी बढ्दो छ । चालू आर्थिक वर्षको बजेट खर्च, राजस्व संकलनलगायत सूचकांकका कारण आगामी आर्थिक वर्षको बजेटसमेत प्रभावित हुन सक्ने भएकाले आगामी दिनमा सचेत हुन आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्