एमालेले बुझायो २४ बुँदे ध्यानाकर्षण पत्र



बुटवल ।

लुम्बिनी प्रादेशिक अस्पतालमा सेवा सुधार तथा विस्तारका लागि २४ बुँदे ध्यानाकर्षण पत्र बुझाइएको छ । बिरामीको चाप अनुसार  अस्पतालले सेवा  दिन र अस्पतालमा चाहिने आवश्यक उपकरणहरुको व्यवस्था गर्न जरुरी रहेको भन्दै नेकपा एमाले बुटवल नगर कमिटीले अस्पतालमा बुधवार ध्यानाकर्षण पत्र बुझाइएको जनाएको छ ।

अस्पतालमा ओपिडी सेवालाई दुई सिफ्टमा सञ्चालन गर्नु पर्ने, सरकारले निःशुल्क उपलब्ध गराउने औषधीहरूको विवरण सूचना पार्टीमा टास्नु पर्ने , रातको समयमा समेत आकस्मिक कक्षको सेवालाई गुणस्तरीय बनाउन एक्स–रे, भिडियो  एकस–रे लगायतका सेवाहरु सञ्चालन गर्न माग गरिएको छ ।
एमाले बुटवल नगर कमिटीका अध्यक्ष किशन ज्ञवालीको नेतृत्वमा गएको टोलीले अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठ र मेडिकल सुपेरिटेन्डेन डा. सुदर्शन थापालाई संयुक्त रुपमा ध्यानाकर्षण पत्र बुझाइएको हो ।

 ध्यानाकर्षण पत्र बुझदै अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले सेवा सुधार तथा  विस्तारका लागि आफू प्रतिवद्ध भएको बताउनु भयो । अस्पतालका सुपरिटेन्डेन डा. सुदर्शन थापाले सेवा सुधारका लागि आफूहरु प्रयासरत नै रहेको बताउनु भयो ।

 आफूहरु आइसकेपछि सुधारका कामहरु अघि बढेको बताउँदै डा.थापाले सुझाव र सहकार्य आवश्यक रहेको बताउदै सेवागाहीको चाप बढीरहेकोे सोको अनुपातमा जनशक्ति व्यवस्थापन र स्रोत व्यवस्थापनमा चुनौती समेत रहेको जानकारी गराउनु भयो । एमाले अध्यक्ष किशन ज्ञवालीले ओपिडी सेवामा भिडभाड बढेका कारण फरक–फरक ठाउँमा सेवा विस्तार गरी भिड कम गर्नु पर्ने, विमा सुविधालाई व्यवस्थित गर्नु पर्ने, अपरेशनका लागि महिनौं कुर्नु पर्ने बाध्यताको अन्त्य गर्नु पर्ने, अस्पताल भित्रै ब्लड बैंकको स्थापना गरी सेवालाई प्रभावकारी बनाउनु पर्ने, अस्पताल समयमा चिकित्सकहरुले बाहिरको निजी क्लिनिकहरुमा समेत काम गरेको गुनासाहरु आएका कारण त्यसको अन्त्यगर्नु पर्ने लगायतका माग अस्पताल  प्रशासन समक्ष राख्नु भयो ।

प्रतिक्रिया दिनुहोस्