वैचारिक विस्फोटको ‘गन्तव्य समाजवाद’



लेखक, समाजवादी चिन्तक, एमाले नेता आनन्दप्रसाद पोखरेलको नाम म र राजेन्द्र मानन्धर (हाल नेकपा एमाले दोलखाका उपाध्यक्ष) नेकपा एमालेको सदस्य बन्नुसँग जोडिएको छ । उनको हालै प्रकाशित पुस्तक ‘गन्तव्य समाजवाद’ पढ्दै गर्दा मैले हरेक पानासँग विगत साट्दै गएको छु ।

चरिकोटको बीच बजारमा थियो पुष्प कायस्थको मम पसल । स–सानो डल्लो मम र चस्स स्वाद दिने झोलले ०४८÷०५० ताका सबैको खाजा केन्द्र बनेको थियो पुष्पको मम पसल । राँगा, खसी, कुखुराका परिकार त छँदै थियो । बजारमा सयर गर्ने नेता, कर्मचारी, पत्रकार, युवा, विद्यार्थी सबै पुष्पको मम खाजा गन्तव्य पुगेकै हुन्थे एकपटक ।

समय र मिति ठ्याक्कै याद छैन । २०५० सालताका नै हुनुपर्छ, एक दिउँसो राजेन्द्र र म उनै पुष्पको मम पसलमा खाजा खाँदै थियौं । एमाले नभए पनि कम्युनिस्ट रुझान भएको र कम्युनिस्ट पार्टीको सशक्त विकल्प एमाले मात्र भएकोले हामी एमालेका कमी–कमजोरी र सुधारका सूत्रबारे आपसमा गफिँदै थियौं ।

आनन्दप्रसाद पोखरेल, जीवसराज खड्कालगायतका केही एमाले नेता–कार्यकर्ता पनि हामीसँगैको टेबलमा बसेर खाजा खाँदै रहेछन्, हामीसंग परिचित थिएनन् उनीहरु । आनन्दप्रसाद पोखरेललाई हाम्रो आलोचना, सुझाव र रुझानले छोएछ । भोलिपल्ट एमाले दोलखाको मुख्यालयबाट निमन्त्रणा आयो भेटघाटको लागि । भोलिपल्टको भेटघाटसँगै केही सुझाव, केही आलोचनासहितको बातचितपछि म तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवासंघ दोलखाको सचिव तथा राजेन्द्र मानन्धर अनेरास्ववियु दोलखाको सचिवमा मनोनीत भयौं र राजनीतिमा सक्रिय बन्यौं ।

राजनीति प्रवेशको त्यो रोमाञ्चक पल सम्झँदा अहिले पनि शरीरका रौं–रौं सर्तक बन्दछन्, मनभित्र मीठो भावनाको काउकुती लगाएर । त्यति बेला राजनीतिक रुपमा एउटा हैसियत नबनेको भए पत्रकारिता र सामाजिक अभियानको यो यात्रा यति सहज पक्कै हुने थिएन होला, मलाई त्यस्तै लाग्छ ।

आनन्दप्रसाद पोखरेलको गन्तव्य समाजवाद हाम्रो पनि गन्तव्य समाजवाद । अनि जोडियौं हामी सँगै एमालेमा । अहिले म उनै आनन्दप्रसाद पोखरेलको पुस्तक ‘गन्तव्य समाजवाद’को अक्षर भ्रमणको प्रतिक्रिया कोरिरहेको छु ।

दोलखाका कम्युनिस्ट नेताहरुको आ–आफ्नै परिचय छ । स्व. पशुपति चौलागाईं सबैका आदर्श थिए । सालिन र मिलनसार चौलागाईं सबैको प्रिय लाग्थे । इन्द्रबहादुर खड्काको सालिनता र सरल जीवन शैली, जीतवीर लामाको चट्टानी विगत, वाङ्छे शेर्पाको सांगठनिक भूमिका, शिवप्रसाद भण्डारीको इमानदारिता, पार्वत गुरुङको समन्वय, ईश्वरचन्द्र पोखरेलको तिखरता, स्व. रितबहादुर खड्का, गंगा कार्की, देवी खड्का, कृष्णप्रसाद शिवाकोटी, ठोकप्रसाद शिवाकोटी सबैले समाजवादी आन्दोलनमा एउटा स्पष्ट परिचय बनाएका छन् । अरु धेरै कम्युनिस्ट नेताहरु हुनुहुन्छ दोलखामा, उहाँहरु सबैलाई म सम्मान गर्दछु ।

यही मेसोमा आनन्दप्रसाद पोखरेलको परिचय बनेको छ– वैचारिक नेता । पोखरेलको वाक क्षमताको समेत धेरै मानिसले प्रशंसा र ईष्र्या गरेको सुनेको छु । ‘गन्तव्य समाजवाद’ले पोखरेलको वैचारिक क्षमताको परिचयसमेत दिएको छ । ३ सय ४८ पृष्ठको ‘गन्तव्य समाजवाद’ भित्र कम्युनिस्ट विचारको धरातलमा समाजवादको यात्रा कसरी सहज हुन सक्छ भन्ने धेरै शीर्षक र उपशीर्षक दौडिएको पाइन्छ ।

‘गन्तव्य समाजवाद’ भित्र ६ वटा खण्डमा आफ्ना विचार, भावना र अनुभव समेटेका पोखरेलले पहिलो खण्डमा गन्तव्य समाजवाद पहिल्याउन अपनाउनुपर्ने वैचारिक पक्षमा आफ्नो दृष्टिकोण प्रस्तुत गरेका छन् । नेपाल सार्वभौम राष्ट्र कि पराईको खेल मैदान भनेर प्रश्न उठाएका पोखरेलले माक्र्सवादको जीवन्तता र बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बीआरआई) को औचित्य, सुगौली सन्धि, भूमिसुधारको आवश्यकताजस्ता विषयलाई उठाएका छन् ।

नेकपा एमालेको पोलिटब्युरो सदस्यसमेत रहेका लेखक पोखरेलले ‘गन्तव्य समाजवाद’को दोस्रो खण्डमा नेकपा एमालेको पृष्ठभूमि, नेपाली राजनीतिमा एमालेको भूमिका, विकास र समृद्धिमा एमालेको दृष्टिकोणलगायतका विषय प्रस्तुत गरेको पाइन्छ । यो खण्डमा नेपाली राजनीतिमा सधैँ चर्चाको पर्याय रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीको राष्ट्रियताभित्र सिद्धान्तको व्यावहारिक कार्यान्वयनका खाकाहरुको समेत व्याख्या पाइन्छ । पुस्तकको तेस्रो खण्डमा संविधान निर्माणको संघष अन्तर्गत राजतन्त्र, माओवादी जनयुद्ध, संविधानमा समुदायको अपनत्वलगायतका विषय समेटिएका छन् । चौथो खण्डमा कम्युनिस्ट सरकारको नेतृत्व र उपलब्धि, पाँचौँ खण्डमा विकासको सम्भावना र प्राकृतिक स्रोत तथा छैटौं खण्डमा विविध भनेर आफ्ना विदेश भ्रमणका अनुभवलगायतका विषय राखेका छन् ।

पुस्तकको शीर्षक गन्तव्य समाजवाद, पुस्तकको सार जनताको सहजताको लागि समाजवाद गन्तव्य र पुस्तकभित्रका शीर्षक, उपशीर्षकका शब्द सहयात्राको निष्कर्ष समाजवादी गन्तव्य प्राप्तिको लागि छिमेकी सम्बन्ध, दलको विचार तथा राज्य सञ्चालकको विकास र समृद्धि अभियानको स्पष्ट मार्गचित्र हो भन्न सकिन्छ ।

समाजवादी चिन्तक आनन्दप्रसाद पोखरेलको ‘गन्तव्य समाजवाद’ भित्रको सन्देशलाई आत्मसात् गर्दै अगाडि बढ्ने कुरामा दल, नेता, समाज र जनताको सहभागिता कस्तो छ त ? जवाफ धेरै सहज छैन र जवाफै छैन भन्ने पनि छैन । दलको विचारको बारेमा कुनै फरक मत राख्नुपर्दैन । कम्युनिस्ट पार्टीहरुको माक्र्सवाद, लेनिनवाद, माओवाद, स्टालिन, चे–ग्वोएभारा, चारु मजुमदार, सी जिन फिङ, मदन भण्डारीको जनताको बहुदलीय जनवाद जेसुकै होस् असलै छ । नेपाली कांग्रेसको बीपीवाद पनि असल छ । स्व. राजा महेन्द्रको राष्ट्रवाद र त्यसैको जगमा केही राजनीतिक दलहरुले लिएको राष्ट्रवाद पनि खराब छैन । तर विचारको कार्यान्वयन, छिमेकी सम्बन्ध र छिमेकीले हामीलाई हेर्ने दृष्टिकोण तथा विकास र समृद्धि मार्गको कार्ययोजनामा भने समस्या देखिन्छ । र, यी कमजोरीहरुको गठजोर नेताको क्षमतामा निर्भर देखिन्छ ।

विचारको कार्यान्वयनमा जनताको सहभागिता जुटाउने, छिमेकीलाई आफ्नो देशको सहजताको लागि उपयोग गर्ने र विकास तथा समृद्धि यात्रालाई उपलब्धिमूलक बनाउने काम नेताहरुको हैन ? के नेताहरुले यी कामहरु गर्न सकेका छन् या गरिरहेका छन् ? मनन गरौँ । पोखरेलले आफ्नो पुस्तक ‘गन्तव्य समाजवाद’मा नेताहरुको सिद्धान्त तथा चिन्तन मनन, नेपाल र नेपालीको अवस्था, संविधानको सन्देश, विदेश भक्ति र विदेशी सरकारको नेपाल नीतिजस्ता विषयमा आफ्नो वैचारिक लेपनले सामाजिक शुद्धताको सिद्धान्त स्थापित गर्न खोजेको आभास मिल्छ । उनले उठाएका धेरै विषय उनी आफैंले चाहिँ व्यावहारिक रुपमा कसरी अगाडि बढाइरहेका छन्, भेटमा म सोध्नेछु र तपाईं पाठकहरुले पनि नोट गर्नुहोला यो विषय । किनभने उनी पनि यो देशको नीति निर्माण तहमा पुगेका र निरन्तर त्यो पहुँच राख्ने तहमै छन् ।

‘गन्तव्य समाजवाद’ भित्रको समाजवादी चिन्तनसँग मेरो राजनीतिक यात्रा मात्र जोडिएको छैन, पत्रकारिताको पूर्णता पनि जोडिएको छ । ०५६÷०५७ ताका मेरो पत्रकारिताको युवा अवस्थाको वृद्धिविकास अवधिमा प्रेस चौतारी प्रकाश रहेको ‘शैलुङको सूर्य’ साप्ताहिकलाई सम्पादन गरिरहँदा नाम जुराउने लेखक, साहित्यकार, राजनीतिज्ञ प्रदीप नेपालको हातेमालो र आनन्दप्रसाद पोखरेलको निरन्तर स्तम्भ लेखनी सहयोग महत्वपूर्ण मान्नुपर्छ ।

पोखरेलको ‘गन्तव्य समाजवाद’ पुस्तकको मोटाइलाई दाहिने हातको पाँच औलाले कसिलोसँग चेपेर पेज संख्याको अनुमान लगाइरहँदा मैले निर्धक्कसँग ‘शैलुङको सूर्य’ साप्ताहिकको प्रत्येक अंकको योगदान यसमा परेको छ भन्ने हकसमेत राख्दछु । किनभने ३ सय ४८ पेजको ‘गन्तव्य समाजवाद’मा समेटिएका धेरै समाजवादी खुराकहरु ‘शैलुङको सूर्य’ साप्ताहिकले प्रकाशन गरेको लेखहरुबाटै आएका छन् ।

अझ रोचक के भने, पोखरेलको लेखनी खेस्रा बुझ्ने औकात हामी केही थान ‘शैलुङको सूर्य’ साप्ताहिकसँग जोडिएका सहकर्मीहरुको मात्र थियो । नामै लिएर भन्दा मलगायत विष्णु सुवेदी, बालकृष्ण शर्मा, रसिन श्रेष्ठ, शशी न्यौपाने, जीवसराज खड्कालगायतले मात्र पोखरेलको खेस्रामा जेलिएको अक्षरको आकार र अर्थ लगाउन सक्थ्यौं । गजब थियो पोखरेलको लेखनी खेस्रा, हेर्दा आकर्षक पढ्न कठिन ।

जे होस् ‘गन्तव्य समाजवाद’ एउटा पुस्तक मात्र नभएर आनन्दप्रसाद पोखरेलको चार दशक लामो राजनीतिक यात्राको अनुभवको वैचारिक विस्फोट र राजनीतिक सिद्धान्तको नेपाली वस्तुगत संस्लेषणको सँगालो मान्दा अन्यथा नहोला भन्छु । किनभने यो पुस्तकभित्र पोखरेलको वैचारिक धरातलले नेपाली वस्तुगत अवस्थाको चित्रणसँगै आयातीत कम्युनिस्ट सिद्धान्तलाई रुपान्तरणको अभ्यास र अध्याय अगाडि बढाउन खोजेको देखिन्छ ।

विभिन्न शीर्षकमा दौडिएका शब्दका धरोहरु गन्तव्य पहिल्याउने कुरामा कसरी सफल होलान् या त्यसको सफलताको लागि लेखक स्वयंले कति सजगताका साथ आफ्नो राजनीतिक यात्रालाई अगाडि बढाऊलान् ? त्यसको लेखाजोखा र विश्लेषण, विवेचना गर्ने अवसर अवश्य प्राप्त होला भन्ने अपेक्षा यो लेखमा पोखिँदै गएका भावनाहरुलाई बिट मार्ने बेलासम्म कायमै छ ।

प्रतिक्रिया दिनुहोस्