‘पपकर्न ब्रेन सिन्ड्रोम’बाट बच्न ‘इन्टरनेट डायटिङ’ गर्ने कि ?



लक्ष्मण अधिकारी

के तपाईंलाई आफ्नो स्मार्ट फोन छिनछिनमा चेक गरिरहन मन लाग्छ ? तपाईंलाई पहिलेजस्तो कुनै काममा ध्यान केन्द्रित गरेर काम गरिरहन मन लाग्दैन ? सायद तपाईंलाई कुनै पुस्तक पढ्छु भनेर बस्दा पनि एक दुई पेज पढेपछि मन भड्किन्छ होला ! मोबाइल चेक गरुँ गरुँ लाग्ने, मोबाइल खोलेपछि आफूसँग जोडिएका विभिन्न सामाजिक सञ्जालका पानाहरू पल्टाउन मन उत्ताउलो हुन्छ होला, अनि पुस्तक वा अरू काम गर्नेतिर निकैबेर ध्यान नै जाँदैन होला होइन ?

यसरी मन चञ्चल बनेर कतै पनि ध्यान केन्द्रित गर्न नसक्ने, सोचमा परिवर्तन आइरहने, गर्नैपर्ने काममा ध्यान नजाने एकपछि अर्को नयाँ कुरा खोजिरहन मन लाग्ने अर्थात् मकै भुट्दा लगातार उफ्रिएर छरपस्ट हुने मकैका फुलहरूको जस्तो स्थितिलाई अहिले ‘पपकर्न बे्रन सिन्ड्रोम’ भन्न थालिएको छ। इन्टरनेट एवं सामाजिक सञ्जालको अत्यधिक प्रयोगसँगै मस्तिष्कको कार्यक्षमतामा आउन थालेको ह्रासलाई परिभाषित गर्नका लागि आधुनिक मनोविज्ञानमा आएको नयाँ शब्दावलीलाई युनिभर्सिटी अफ बासिङ्टन, सूचना प्रविधि स्कुलका अनुसन्धानकर्ता डेभिड लेभीले जुराउनुभएको हो।

इन्टरनेट एवं सामाजिक सञ्जालको अनुपयुक्त प्रयोगका कारण बाबुआमाहरूले कसरी आफ्ना छोराछोरी, श्रीमान् वा श्रीमतीको रेखदेखमा हेलचेक्र्याइँ गरी घर परिवार र आफ्नो उत्पादकत्व, सिर्जनसिलता नष्ट गर्दै स्वाभाविक प्राकृतिक जीवन र जिम्मेवारीबाट टाढिँदै गएका छन् भन्ने बारेमा उहाँले गहिरो अध्ययन गरी विश्लेषण गर्नुभएको छ।

पपकर्न ब्रेनको समस्याबाट अहिले सबैभन्दा बढी किशोरकिशोरीहरू प्रभावित भएको पाइए तापनि वास्तवमा यो समस्याबाट केटाकेटी, जागिरे उमेर र सेवानिवृत्त भएका मानिसहरू पनि कम प्रभावित भने छैनन्। प्रभावित मानिसहरू चाहेर पनि यो सिन्ड्रोमबाट उम्किन सकिरहेका छैनन्। विज्ञहरूका अनुसार हेर्दा सामान्यजस्तो देखिए तापनि यो एउटा सामाजिक र मनोवैज्ञानिक समस्याका रूपमा देखिन थालेको छ।

हालै भएको अर्को एक अध्ययनअनुसार काममा बढी व्यस्त हुने र इन्टरनेटको अत्यधिक उपभोगले हाम्रो मस्तिष्क भौतिक रूपमा परिवर्तन हुन थालेको छ। इलेक्ट्रोनिक माध्यममा एकैचोटी धेरैवटा विषयवस्तुका काम गर्नाले मानिसलाई वास्तविक जीवन जिउन अयोग्य बनाउँदै गएकोमा विज्ञहरू चिन्तित हुन थालेका छन्। अध्ययनअनुसार एकैचोटी धेरैवटा काम इन्टरनेटमा गर्नाले मानवीय भावनालाई कसरी महसुस गर्ने भन्ने कुरा बिर्सिंदै जाने सम्भावनामा वृद्धि भएको छ। किनकि मानिसको मस्तिष्कको प्राकृतिक संरचना त्यसअनुरूप सिर्जना भएको छैन।

हाम्रो मस्तिष्क अस्वाभाविक हिसाबले एउटा सोचबाट तुरुन्तै अर्को सोचमा परिवर्तन हुने वा हाम्रो व्यवहार एउटा कार्य नसक्दै तुरुन्तै अर्को कार्यमा लाग्ने प्रवृत्तितिर उन्मुख भइरहेको छ, जुन इन्टरनेट तथा सामाजिक सञ्जालको अधिक प्रयोगले सिर्जना गरिरहेको छ। आधुनिक जीवनशैलीमा यसलाई त्यति धेरै महत्व नदिइए तापनि यसले विशेषगरी मानसिक स्वास्थ्यमा गम्भीर असर पारिरहेको सम्बन्धित विज्ञहरूले बताएका छन्।

पपकर्न ब्रेन सिन्ड्रोमले हामीलाई कुनै काम एक निश्चित समयभित्र सम्पन्न गर्न बाधा पु¥याई दिमागलाई असाध्य चञ्चल बनाउँछ र छिटोछिटो विषयान्तर गराउँछ । जसले गर्दा काम गर्ने क्षमतामा ह्रास आउनुका साथै उसको सिर्जनसीलतामा पनि अवरोध सिर्जना गर्छ । जसले गर्दा एक निश्चित समयमा हामी कुनै पनि काम प्रभावकारी ढंगले गर्न नसक्ने हुन्छौं र परिणामस्वरूप निरासपन बढाउने र आफूलाई नै अक्षम भएको महसुस गर्न थाल्छौं ।

नयाँ नयाँ जानकारीहरू खोजिरहन प्रेरित भइरहने र एकै समयमा अनेकौँ सूचनाहरू प्राप्त गर्न खोजिरहने वर्तमान डिजिटल युगको प्रवृत्तिले मानिसको तनाव र चिन्ताको स्तर बढाइदिएको छ। यस किसिमको पपकर्न ब्रेन सिन्ड्रोमले हाम्रो महत्वाकांक्षा बढाउने, उत्तेजित पार्ने, छटपटाहट सिर्जना गरिदिने, आधुनिक युगका अनेक किसिमका चाहनाहरू पूरा गर्न हाम्रो स्नायु प्राणालीलाई उत्तेजित बनाइदिने र चिन्ता बढाइदिने गर्छ। साथै यस प्रवृत्तिले स्मरण शक्ति कम गराउने र बौद्धिक क्षमतामा ह्रास ल्याउने पनि गर्छ।

मानिसको मस्तिष्क एउटा कुरा नबुझ्दै वा कुनै एउटा कार्य नसक्दै अर्को खोजिरहने ‘पपकर्न ब्रेन’को हिसाबले डिजाइन भएको छैन । यसले हामीलाई कुनै पनि कुराको राम्रो ज्ञान दिन सक्तैन र निर्णय गर्ने क्षमतालाई कमजोर तुल्याईदिन्छ । हामी कुनै कुरा बुझेजस्तो त गर्छौं तर त्यसको गहिराइमा पुग्ने र त्यसको पूर्णता गर्ने कार्यमा भने अक्षम हुन्छौँ ।

यसका साथै यो सिन्ड्रोमले हाम्रो पारस्परिक सम्बन्धमा पनि बाधा पु¥याइरहेको छ। जब हामी पपकर्न ब्रेन प्रवृत्तिमा पुग्छौँ, हामीलाई वरिपरिका मानिसको कुराप्रति ध्यान हुँदैन, चाहे हामी गम्भीर विषयको बैठकमा नै बसिरहेका किन न होऔं। हामीले उनीहरूलाई अपमान वा बेवास्ता गरेको महसुस हुन्छ । हामीले हाम्रो कुरा पनि राम्ररी भन्न सक्तैनौँ र अरूको कुरालाई पनि ध्यान दिएर सुन्न सक्तैनौँ। यसले हाम्रा पारिवारिक सदस्य, मित्रहरू र सहकर्मीहरूसँगको सम्बन्धमा पनि फाटो ल्याइदिन्छ।

पपकर्न ब्रेन सिन्ड्रोमले अन्ततः हाम्रो जीवनको गुणस्तर, पारिवारिक र सामाजिक सम्बन्धमा ह्रास ल्याउँछ, हामी निरन्तर निरासा र अनावश्यक कामको बोझमा परिरहेको अनुभव गर्छौं। तर, पनि हाम्रो कार्यक्षमता र उत्पादकत्वमा भने ह्रास आएको हुन्छ। यसले हाम्रो जीवनको आनन्द, प्राकृतिक र स्वाभाविक सुखद् क्षणलाई नष्ट गरिदिन्छ, हाम्रो जीवनको सुखद् क्षणलाई हरण गरिदिन्छ।

वर्तमान डिजिटल युगमा इन्टरनेट तथा सामाजिक सञ्जालबाट अलग भएको जीवन कल्पना गर्न त त्यति व्यावहारिक नहोला तर पपकर्न ब्रेन सिन्ड्रोमको चञ्चले स्थिति, पीडा र नकारात्मक प्रभावबाट बाहिर निस्किएर यसको आवश्यक सदुपयोग गर्नु र दैनिक एक दुई घण्टा ‘इन्टरनेट डाइटिङ’को स्थितिमा बस्नु नै बढी लाभप्रद हुन्छ।

(एजेन्सीहरूको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्