शान्ति समाजको आह्वान : चुरे मास्न पाइँदैन, पर्यावरण विरोधी नीति चाहिँदैन



बुटवल।

चुरे मास्न  पाइँदैन : पर्यावरण विरोधी नीति चाहिँदैन भन्ने आह्वानका साथ मानव अधिकार तथा शान्ति समाजले सोमवार विभिन्न कार्यक्रमको आयोजना गरी विश्व वातावरण दिवस मनाएको छ । अप्राकृतिक दोहनका कारण हुने वातावरण असन्तुलन र पर्यावरण प्रतिकुल हुनेगरि कुनै पनि कार्य नगर्न सरकारलाई आग्रह गर्दै शान्ति समाजले चुरे दोहन गर्ने नीति तत्काल खारेज गर्न माग समेत गरेको छ ।

यसैबीच हिमालय र चुरे बचाउँ : तराइलाई मरुभूमिकरण हुनबाट जोगाऔँ भन्ने आह्वानसहित रुपन्देही जिल्ला शाखाले बुटवल २ पाखापानीस्थित बासुकी नाग मन्दिर परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय समितिका निवर्तमान सभापति एवं सल्लाहकार गोविन्द खनालले वातावरण संरक्षणको सवालमा सरकारी, सामाजिक र गैरसरकारी क्षेत्रको समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन् ।

सल्लाहकार खनालका अनुसार पछिल्लो चरणमा चुरेक्षेत्र दोहन गरी ढुंगागिटी र बालुवा निकासीका लागि नेपाल सरकारले अवलम्वन गर्न थालेको घातक नीतिप्रति मानव अधिकार तथा शान्ति समाजले गम्भिर चिन्ता व्यक्त गरेको छ । चुरेको अत्याधिक दोहन गरेर ढुंगा, गिट्टी, बालुवा निकाल्नु भनेको तराईलाई मरुभुमिकरणतर्फ धकेल्नु हो भन्ने धारणा शान्ति समाजले बारम्बार व्यक्त गर्दै आएको उनले बताए ।

शान्ति समाजका केन्द्रीय सचिव मिना ढकालले वातावरण संरक्षणका लागि वनजंगल संरक्षण आवश्यक रहेको भन्दै वृक्षारोपण गरेर मात्र नभै यसलाई जोगाउने र हुर्काउने कुरा महत्त्वपूर्ण हुने धारणा राख्नु भयो । केन्द्रीय सदस्य डिपि खनालले वातावरणको विषय समग्र प्राणीजगत खासगरि मानव जगतको जिवनसँग जोडिएकोले वातावरण जोगाउने अभियानमा सबै एकताबद्ध भएर लाग्नु पर्ने कुरामा जोड दिए । समाजका जिल्ला सभापति कृष्णप्रसाद भट्टराई, सचिव कृष्ण पाण्डेलगायतले वातावरण मानव जीवनको अभिन्न अंग भएकोले यसको बचाउका लागि पनि अभियान सञ्चालन गरेको जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्