झापामा १० महिनामा १२ जनाको हत्या



भद्रपुर। 

झापामा १२ जनाको हत्या भएको छ । सबै हत्याका घटनामा घरेलु हतियार प्रयोग भएका छन् । कुल हत्यामध्ये परिवार र आफन्तभित्र गरिने हत्या ५० प्रतिशतको हाराहारीमा रहेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार चालु आर्थिक वर्ष २०७९÷०८० को साउनदेखि वैशाख महिनासम्ममा जिल्लाका विभिन्न पालिकाहरुमा एक शिशुसहित श्रीमानले श्रीमतीको, श्रीमतीले श्रीमानको, भाइ बुहारीले जेठाजुको, छोराले आमाको, छिमेकीले छिमेकीको, चिनजानकै भरमा र आफैले शिशु जन्माएर निर्मम रुपबाट हत्या गरिएको छ । यस अवधिमा प्रहरीले हत्याका निर्मम घटनाहरु सार्वजनिक गर्दै आएको छ ।

चारजना श्रीमानले श्रीमतीको हत्या गरेका छन् भने एकजना श्रीमतीले श्रीमानको हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिनुभयो । परिवारभित्रका घटनालाई केलाउँदा अन्य सदस्यको तुलनामा श्रीमान्—श्रीमतीले एक अर्काको हत्या गर्ने क्रम बढेको उहाँले बताउनुभयो । दाम्पत्यभित्र हुने हत्याका अधिकांश घटनाको भित्री कारण पैसा, अविश्वास, यौनसम्बन्ध वा विवाहेत्तर सम्बन्ध रहेको देखिएको बताइएको छ । सो अवधिमा छिमेकीबाट तीन जनाको हत्या भएको छ भने भाइ बुहारीले जेठाजुको हत्या गरेको घटना एउटा छ । चिनजानकै भरमा, छोराबाट आमाको हत्या र आफैले जन्माएर शिशुको हत्याको घटना एक÷एकवटा छ ।

घटनामा हँसिया, बामफोक, काँचको करुवालगायतका हतियार प्रहार भएका छन् भने कुटपिट, घाटी कसेर र सवारी दुर्घटना गरेर हत्या गरिएको रिजालले जानकारी दिनुभयो । जानी जानी सवारी दुर्घटना गरेर समेत हत्या गरेका कारण कर्तव्य ज्यान सम्बन्धी मुद्दा दर्ता गरिएको प्रहरीको भनाई छ । श्रीमान्–श्रीमती बीचको हत्याका घटना ५० प्रतिशत छन् । अझ यसमा श्रीमानले श्रीमतीको हत्या गरेका घटना ८० प्रतिशतको हाराहारी छन् । प्रहरी प्रवक्ता रिजालको बुझाइमा परिवार र आफन्त भित्रै हुने हत्याका अधिकांश घटना आवेग प्रेरित देखिन्छ । घरेलु हिंसा,आर्थिक समस्या,मानसिक समस्या,शङ्का, विवाहेत्तर सम्बन्ध, वैदेशिक रोजगारी, जाँड÷रक्सी र लागु औषधका कारण पनि यस्ता घटना हुने गरेको प्रहरी बताउँछन् ।

 पहिले सङ्गठित हत्या हुने गर्थे भने अहिले परिवार र आफन्त भित्रै हत्या हुने गरेको उहाँले बताउनुभयो । ‘अहिले परिवार र आफन्तभित्रै हत्या हुन थालेपछि प्रारम्भिक अनुसन्धानको सुई नै परिवारभित्रै केन्द्रित गर्ने प्रचलनजस्तै भइसक्यो उहाँले भन्नुभयो ।’

२०७९ असारमा झापाको अर्जुनधारामा भारत गुजरातका ४० वर्षीय जपडिया नरेशकुमार बाबुभाईको हत्या भएको थियो । उनको शव ह्युम पाइपभित्र बोरामा हालेर फालिएको अवस्थामा स्थानीयले फेला पारेका थिए । घटनालगत्तै झापा प्रहरीले अनुसन्धान सुरू गरेको थियो । इलाका प्रहरी कार्यालय बिर्तामोडले उनको हत्यामा संलग्न तीन जनालाई पक्राउ गरेर सार्वजनिक पनि गरेको छ ।

अर्जुनधारा– ७ की ३२ वर्षीया जानुका देवी थापा, ४९ वर्षीय विजय भन्ने बृखबहादुर थापा र सुनसरी जिल्ला बराह क्षेत्र नगरपालिका–१० बस्ने २५ वर्षीय सुरेश परियारलाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको थियो । प्रहरीले हत्या घटनामा संलग्न थप एक जना फरार रहेको र उनको पनि खोजी भइरहेको बताएको थियो ।
असार ९ गते राति साढे ८ बजे मादक पदार्थ खाएको र सोही समयमा कुटपिट गरी फलामको मार्तोलले शरिरका विभिन्न भागमा हिर्काएर उनको हत्या भएको अनुसन्धानमा देखिएको थियो । यसैगरी, २०७७ साल साउनमा झापा मेचीनगर नगरपालिका–२, भृकुटीमा कपडा सञ्चालन गर्ने व्यवसायी नारायण आचार्यको हत्या भएको थियो । उनको हत्यामा घरेलु हतियार दाउ प्रयोग भएको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।

मदिरा सेवनपछिको विवाद, रिसिईवी, आर्थिक लेनदेनका कारण हत्याका घटनाहरु भएको देखिएको प्रहरी अनुसन्धानले देखाएको छ । पछिल्लो समयमा असहनशील र उत्तेजक प्रवृत्तिले भएका घटनाका प्रशस्तै उदाहरण छन् । यस्तो असहनशीलता मर्ने र मार्नेसम्म पुगेको छ, त्यो घरबाहिर होस् या घरभित्र । तथापि परिवार र आफन्तबीच हुने हत्याका शृङ्खला त्यसमा मात्रै सीमित छैन । सामाजिक बनावट, घरभित्रको वातावरण, अविश्वास, विवाहेत्तर सम्बन्ध, यौन, आर्थिक कारोबारले निम्त्याएको विवाद, आवेग, उत्तेजना र तनावलाई नियन्त्रण गर्न नसक्दा पनि एकले अर्काको हत्या गर्ने गरेको प्रहरीको बुझाइ छ ।

रिसलाई नियन्त्रण गर्न, परिवार र समाजलाई व्यवस्थापन गर्न सकियो भने पनि यस्ता घटना कम गर्न सकिने प्रहरीको भनाइ छ । यस्ता घटना कुनै उमेर समूहमा मात्रै सीमित देखिँदैन । लागूऔषधको प्रयोग र मदिराको सेवन गर्ने व्यक्तिले सन्तुलन गुमाउने डर अत्यधिक रहन्छ । त्यसैले स–साना विषयमा हुने झैझगडा वा सानो विषयको विवाद पनि हत्यासम्म पुगेको थुप्रै उदाहरण रहेको छ ।

अहिले परिवार र आफन्तमा भएका अधिकांश हत्याको प्रवृत्ति हेर्ने हो भने रिस, आवेग, तनाव र मानसिक समस्याको कारणले भएको देखिन्छ । अहिले व्यक्तिले अर्काको भावना नबुझ्ने, सहयोग नगर्ने प्रवृत्ति देखिएको छ । यो पनि मानसिक समस्याको उपज हो । जसका कारण स–साना कुरामा पनि आक्रोशित हुँदा व्यक्तिले अपराधको सहारा लिने गरेको पछिल्ला उदाहरणबाट बुझ्न सकिन्छ ।

आफन्तले रिस उठाए भने बदलाको भावना लिने, सहन नसक्ने, पीडित हुने, गाह्रो हुने स्वभाव बढ्छ । यो परिस्थितिमा आफ्नैले आफ्नैलाई हत्या, अरूको हत्या गर्ने जस्ता घटनाको क्रम बढ्दै जाने समाजशास्त्री गोविन्द्र राज तिवारीको भनाई छ । परिवार आफन्तभित्रै हुने हत्याको पछाडिको कारण सामाजिक विचलन भएको उहाँको बुझाई छ ।

व्यक्तिगत र सामाजिक कारणले हुने अधिकांश हत्या अवसर, अभाव र बदलासँग जोडिएका हुन्छन् । जुन परिवारमा विखण्डन छ, आर्थिक समस्या छ, त्यसैमा यस्तो घटना धेरै हुने गर्छ । श्रीमान् र श्रीमतीबीच उब्जिएको शङ्का, उपशङ्का, अविश्वास, धर्म, संस्कार, चरित्र, बदला र चित्त नबुझे पनि सम्बन्धमा रहनुपर्ने दबाबले गर्दा पनि एक बिन्दुमा पुगेपछि एक अर्काको हत्यासम्म गराउने गरेको थुप्रै उदाहरण छन् ।

प्रतिक्रिया दिनुहोस्