सक्कली बोतलमा नक्कली मदिराको कारोबार

0
Shares

बुटवल । सक्कली बोतलमा नक्कली मदिरा र अन्तःशुल्कको नक्कली स्टिकर प्रयोग गरी बजारमा बिक्री गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बिभिन्न ब्राण्डका मदिराको बोतलमा अवैध तरिकाले मदिरा भरेको र अन्तःशुल्कको नक्कली स्टिकर प्रयोग गरेको आरोपमा प्रहरीले सिद्धार्थनगर नगरपालिका– ३ बाट दुई जनालाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक किशोर केसीका अनुसार पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिका– ९ बस्ने २९ वर्षीय मुख्तार पठान र २८ वर्षीय नवीन पन्थी रहेका छन् । प्रहरीले यी दुई युवकको साथबाट ८८४८ ब्राण्डको १८० मिलिलिटरको ४१ थान मदिरा, १८० मिलिलिटरको सिग्नेचर ब्राण्डको १२ थान, ३७५ मिलिलिटरको ४ थान, गोल्डन वाक १८० मिलिलिटरको ४ थान, ओल्ड दरबार ३७५ मिलिलिटरको ४ थान, १८० मिलिलिटरको ३ थान र ब्ल्यकचिम्नी ब्राण्डको १ बोतल मदिरा बरामद गरेको छ ।

यस्तै प्रहरीले ५ सय ९३ थान अन्तःशुल्कको नक्कली स्टिकर पनि बरामद गरेको छ । सिद्धार्थनगर–३ मा भाडामा घर लिई यीदुवै युवाले ब्राण्डेड मदिराका बोतलमा अवैध तरिकाले कमसल रक्सी भरेर, त्यसमा नक्कली स्टिकर टा“सेर बजारमा बिक्री बितरण गर्ने गरेका थिए ।