लुम्बिनी प्रदेशमा वैदेशिक लगानीका ६७ उद्योग सञ्चालनमा 



बुटवल । 

लुम्बिनी प्रदेशमा वैदेशिक लगानीका ६७ उद्योग सञ्चालनमा रहेका छन् । जसमध्ये साना ३४, मझौला १६ र ठूला १७ रहेको बताइएको छ । बुटवलमा आयोजित अन्तर्राष्ट्रिय वित्त निगम आई.सि.एफ. सँगको अन्तरक्रिया कार्यक्रममा लुम्बिनी प्रदेशमा व्यवसायको सम्भावना र चुनौतीको विषयमा भनाई राख्दै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल प्रसाद काजूले उक्त तथ्याङ्क प्रस्तुत गर्नुभएको हो ।

उहाँले लुम्बिनी प्रदेश वैदेशिक लगानीको आकर्षक क्षेत्र पनि रहेको बताउँदै वैदेशिक लगानी पहिलो रोजाइ सेवा मूलक, उत्पादन मूलक र पर्यटन क्षेत्रमा रहेको भनाई राख्नुभयो । त्यसबाहेक लुम्बिनी प्रदेशमा ठूला ८८२, घरेलु तथा साना उद्योग करिब २५ हजार र करिब १ लाख ५० हजार व्यावसायिक प्रतिष्ठान रहेको उहाँले जानकारी गराउनु भयो ।

तराईका ६ र पहाडका ६ गरी १२ जिल्ला रहेको लुम्बिनी प्रदेशको जम्मा क्षेत्रफल २२ हजार २८८ वर्ग कि.मि. छ । यो प्रदेशमा प्रचुर कृषि भूमि तथा प्राकृतिक रुपमा धनी प्रदेशको रुपमा रहेकाले कृषिजन्य तथा बनप्रदावारमा आधारित उद्योग तथा पर्यटन उद्योगमा राम्रो सम्भावना देखिएको उहाँले जानकारी गराउनु भयो । उहाँका अनुसार राष्ट्रिय कुल गृहस्थ उत्पादनमा लुम्बिनी प्रदेशको करिब १४ प्रतिशत योगदान रहेको छ ।

लुम्बिनी प्रदेशमा दुई औद्योगिक क्षेत्र, भैरहवामा विशेष आर्थिक क्षेत्र छ । त्यसबाहेक पनि भैरहवा–लुम्बिनी, बुटवल–भैरहवा, भैरहवा–परासी, परासी–भुमही मुख्य औद्योगिक कोरिडोर रहेका छन् । यी कोरिडोरमा मात्रै लुम्बिनी प्रदेशमा रहेका कुल उद्योगका ५० प्रतिशत उद्योग रहेका छन् । त्यसैगरी रुपन्देहीमा प्रस्तावित मोतीपुर औद्योगिक क्षेत्र, वाकेमा नौवस्ता औद्योगिक क्षेत्र रहेका छन् । यी औद्योगिक क्षेत्रको निमार्ण र सञ्चालनको ढिलाइले उद्योग विस्तार र वैदेशिक लगानीमा तीव्रता आउन नसकेको उहाँले बताउनु भयो ।

त्यस्तै सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर श्रेष्ठले प्रदेशमा लगानीको राम्रो सम्भावना भएपनि नीतिगत अस्प्रष्टताका कारण प्रयाप्त लगानी आकर्षण पनि हुन नसकेको र लामो समयदेखिको बैंक तथा वित्तिय संस्थामा उत्पन्न भएको लगानीयोग्य पुँजीको अभाव तथा ब्याजदरमा भएको अस्वाभाविक वृद्धिका कारण भएका उद्योग प्रतिष्ठान पनि धान्न धौ धौ भएको बताउनु भयो ।

कार्यक्रममा अन्तर्राष्ट्रिय वित्त निगम आई.सि.एफ. का प्रमुख, आवासीय प्रतिनिधि बाबाकर एस फेईले आईएफसी विश्व बैंक समूहको सदस्य उदीयमान बजारहरूमा निजी क्षेत्रमा केन्द्रित सबैभन्दा ठूलो विश्वव्यापी विकास संस्था रहेको र विकासशील देशहरूमा बजार र अवसरहरू सिर्जना गर्न पुँजी, विशेषज्ञता र प्रभाव प्रयोग गरेर सय भन्दा बढी देशमा काम गर्दै आएको जानकारी गराउनु भयो ।

प्रतिक्रिया दिनुहोस्