अदक्ष कामदार विदेश पठाउँदा आर्थिक विकास चुनौतीपूर्ण

डडेल्धुराका सबै स्थानीय तहले व्यावसायिक योग्यता परीक्षणमा सघाउने 



डडेल्धुरा।

युवा जनशक्तिलाई सीपमूलक तालिम दिएर दक्ष बनाउन र उनीहरुसँग रहेको सिपका आधारमा व्यावसायिक योग्यता परीक्षण गरेर प्रमाणपत्र दिलाउन डडेल्धुराका सात वटै स्थानीय तहले पहल गर्ने भएका छन् ।

कतिपय व्यक्तिसँग सिप भए पनि प्रमाण पत्रको अभावमा रोजगारी पाउन नसकेको र न्यून ज्यालामा काम गर्नु परिरहेको अवस्थालाई मध्यनजर गरेर सिप भएकालाई प्रमाणपत्र दिलाउन पहल गरिन थालिएको हो । राष्ट्रिय व्यावसायिक योग्यता प्रणाली कार्यान्वयन गर्न स्थानीय तहका जनप्रतिनिधीहरुसँग अभिमुखीकरण कार्यक्रममा सहभागी यहाँका सात वटै स्थानीय तहका जनप्रतिनिधीहरुले दक्षता अभिवृद्र्धीका साथै दक्षताका आधारमा प्रमाण पत्र उपलब्ध गराउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

स्वीटजरल्याण्ड सरकारको प्राविधिक सहयोगमा सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयअन्तर्गत कार्यान्वयनमा रहेको नेपाल व्यावसायिक योग्यता प्रणाली परियोजना कार्यान्वयन सम्बन्धी स्थानीय तहका जनप्रतिनिधीहरुलाई अभिमुखीकरण कार्यक्रम डडेल्धुरा सदरमुकाममा सोमबार सम्पन्न भएको छ ।
कार्यक्रममा परियोजनाका प्राविधिक संयोजक डिल्लीराज भट्टले परियोजनाको अवस्था, प्राथमिकता र आवश्यकताबारे सहभागीहरुलाई जानकारी गराउनु भएको थियो । सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयका शाखा अधिकृत लोकेन्द्र भट्टले परियोजनाको अवस्था र कार्यान्वयनमा प्रदेश सरकारको भूमिकाबारेमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

परियोजनाका प्राविधिक अधिकृत टंकप्रसाद उपाध्यायले परियोजना कार्यान्वयनमा स्थानीय तहको भूमिका तथा पूर्व सिकाई मान्यता प्रणाली र स्थानीय तहसँगको सहकार्यबारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा नेपालको शैक्षिक प्रणाली, प्राविधिक सीप तथा रोजगारीमा तालमेलको अवस्था, राष्ट्रिय व्यावसायिक योग्यता प्रणालीको महत्त्व तथा सान्दर्भिकता र कार्यान्वयनमा तिन वटै तहका सरकार तथा निजी क्षेत्रको भूमिकाबारे छलफल भएको थियो ।

कार्यक्रममा जिल्लास्थित स्थानीय तह र सरकारी कार्यालयका प्रतिनिधि, प्राविधिक धारका विद्यालयका प्रतिनिधि र सञ्चारकर्मीको सहभागिता रहेको थियो । कार्यक्रमका सहभागीहरुले अदक्ष कामदार विदेश पठाएर उनीहरुले प्राप्त गरिरहेको रेमिट्यान्सको भरमा मुलुकको आर्थिक विकास सम्भव नभएकाले दक्ष जनशक्ति बनाएर उनीहरुलाई सिपका आधारमा प्रमाणपत्र प्रदान गरेर व्यवसायीक योग्यता प्रणाली कार्यान्वयन गरिनुपर्ने सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्