दिल र दुर्गाले जिते बिच भलिबलको उपाधि



पाल्पा । राष्ट्रिय वीच भलिबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लवको जोडीले जितेको छ । प्रेमको प्रतिक रानीमहल दरवार परिसरमा शनिवार सम्पन्न फाइनलमा नेपाल पुलिस क्लवको जोडीलाई पराजित गर्दै आर्मीको जोडीले उपाधि जितेको हो । आर्मीका दिल सुनार र दुर्गाप्रसाद महतोको जोडीले पुलिसका इमवहादुर राना र चन्द्रवहादुर कुँवरको जोडिलाई २१–१९ र २१–१५ को सोझो सेटमा पराजित गरेको थियो ।

अर्काे विभागिय टोली एपिएफको टिमले कर्णाली प्रदेशलाई २१–१८ र २१–१७ को सोझो सेटमा हराएर तेस्रो वनेको छ । प्रतियोगितामा प्रथम दितीय र तृतीय हुने टिमले क्रमश ः १ लाख ५० हजार, १ लाख र ५० हजार रुपैया प्राप्त गरेका छन् । उपाधि दिलाउन सफल भूमिका निर्वाह गरेका आर्मीका दिल सुनारले उत्कृष्ट खेलाडी भएर रु १० हजार प्राप्त गरे ।

प्रतियोगितामा लुम्विनी,कर्णाली, गण्डकी, वाग्मति र मधेश गरी ५ प्रदेश तिन विभागिय क्लव र आयोजक गरी ९ टिमले सहभागिता जनाएका थिए । नेपालको बीच भलिबलको विकास र पाल्पाको ऐतिहासिक दरबार क्षेत्र रानीमहलको प्रबर्द्धन गर्ने उदेश्यले प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ ।

खेलकुद र पर्यटनलाई जोडेर विकास गर्न सञ्जय स्मृति प्रतिष्ठानले पहिलो पटक राष्ट्रिय महिला ’बिच भलिबल’ प्रतियोगिता गरेको थियो । यस वर्ष राष्ट्रिय खेलकुद परिषद्को सहयोगमा पुरुषतर्फको राष्ट्रिय प्रतियोगिता जिल्ला भलिबल संघको सहआयोजनामा प्रतियोगिता सम्पन्न भयो ।

यस क्षेत्रको विकासका लागि एकीकृत विकासका लागि सबै निकायसँग हातेमालो गरी हरेक वर्ष प्रतियोगिता आयोजना र प्रतियोगिताका लागि पूर्वाधार निर्माणदेखि निरन्तरताका लगानी गर्ने प्रतिवद्धता आएमा यस क्षेत्रमा विच भलिवलको राम्रो संभावना रहेको सम्वद्ध पक्षले जनाएका छन ।

प्रतिक्रिया दिनुहोस्