एकद्वार र समानुपातिक विज्ञापन नीतिप्रति आनको आपत्ति

0
Shares

काठमाडौं । एकद्वार तथा समानुपातिक विज्ञापन नीतिसम्बन्धी सरकारको निर्णयलाई नेपाल विज्ञापन संघ (आन) ले आपत्ति जनाएको छ । विज्ञापन क्षेत्रमा रहेका कमजोरी र त्रुटिलाई दुराशयपूर्ण तवरबाट विवादमा ल्याइ, अतिरञ्जित गरी कुनै एक पक्षलाई लक्षित गरी सिंगो विज्ञापन उद्योगलाई धराशायी तुल्याउन खोजिएको भन्दै आनले आपत्ति जनाएको हो ।

विज्ञापन क्षेत्रमा केही विकृति, विसंगति रहेको स्वीकार गर्दै आनले त्यसका लागि विज्ञापन क्षेत्रसँग सम्बन्धित सम्पूर्ण साझेदार पनि उत्तिकै जिम्मेवारी रहेको आनले जनाएको छ । विकृति न्यूनीकरणका लागि विज्ञापन बोर्ड तथा एजेन्सीको पहलमा विज्ञापन आचारसंहिता २०७९ जारी भएको उल्लेख गर्दै सोे आचारसंहिता लागू हुन नपाउँदै एका एक कुनै पक्षको बहकाव, झुकाव तथा दबाबमा गैरजिम्मेवार ढंगबाट सरकारले एकद्वार नीति तथा समानुपातिक विज्ञापनलाई ऐनअनुसार विज्ञापन नियमावलीमा समेट्ने भन्ने मन्त्रिपरिषद्ले निर्णय गरेको आनको भनाइ छ ।

खुलाबजार अर्थनीति, उपभोक्ताको वस्तु वा सेवाको छनोटको अधिकार र सार्वजनिक खरिद ऐनको प्रावधानसमेतको विपरित ल्याउन खोजिएकोे एकद्वार नीति सरोकारवालाहरूसँग छलफल नै नगरी केही सीमित स्वार्थ समूहको दबाबमा ल्याइएको आनको आरोप छ । सरकारको यस कदमबाट विज्ञापन बजारमा पर्ने दुरगामी असरको जिम्मेवार सरकार स्वयम् हुनुपर्ने भन्दै आनले विज्ञापन चक्रको एक महत्वपूर्ण पक्ष भएकाले विज्ञापन क्षेत्रमा विसङ्गति कार्यमा सरकारसँग हातेमालो गर्न तयार रहेको जनाएको छ । तर, समानुपातिक एकद्वारका नाममा सरकारबाट विज्ञापन बोर्डमार्फत हुने कुनै पनि गतिविधि आफूलाई स्वीकार्य नभएको आनले जनाएको छ ।

सरकार सबैको अभिभावक भएकाले यसरी एकपक्षीय ढंगबाट अघि बढ्न कुनै पनि हिसाबले नमिल्ने भन्दै निर्णय तत्काल फिर्ता लिई नेपाल विज्ञापन संघ (आन) सँग समन्वय गरी अघि बढ्न सरकारसँग आग्रह गरेको छ । आफ्नो माग कार्यानवयन नभए विरोधका कार्यक्रम अघि बढाउन बाध्य हुने आनले चेतावनीसमेत दिएको छ ।