खर्च कटौतीसहितको बजेट ल्याउन पूर्वअर्थमन्त्रीहरूको सुझाव

0
Shares

काठमाडौं । पूर्वअर्थमन्त्रीहरूले आगामी आर्थिक वर्षमा खर्च कटौतीमा निर्मम हुँदै नयाँ आयोजना थप नगर्न सुझाव दिँदै व्यवहारिक बजेट ल्याउन सुझाव दिएका छन् । आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेट तयारीका क्रममा अर्थमन्त्री डा. प्रकाशशरण महतसँग भएको छलफलमा पूर्वअर्थमन्त्रीहरूले उक्त सुझा दिएका हुन् ।

छलफलका क्रममा अर्थमन्त्री डा. महतले पूर्वानुमानको तुलनामा धेरै कम राजस्व उठेको अवस्थामा खर्च कटौती गर्ने, प्राथमिकता प्राप्त आयोजनालाई मात्र बजेट छुट्टाउने र निजी क्षेत्रको आत्मविश्वास बढाउन आफू लागिपरेको जानकारी गराउनुभएको थियो ।

त्यस्तै प्रतिफल नदिने आयोजनामा लगानी नगर्ने र तोकिएको समयमै सम्पन्न हुने, कार्यान्वयन तुरुन्तै गर्न सकिने पूर्वाधार आयोजनालाई बजेटमा प्राथमिकता दिने बताउनुभएको थियो ।

छलफलमा पूर्वअर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनीले अहिलेको समस्या आर्थिकरूपमा मात्र नभई राजनीतिकरूपमा समेत रहेको उल्लेख गर्दै फजुल खर्च कटौतीका विषयमा विगतमा भएका अध्ययनको सुझाव कार्यान्वयन आग्रह गर्नुभयो ।

पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले अहिले ठूलो आकारको बजेट ल्याउन नसकिने भएकाले नयाँ योजना तथा कार्यक्रम बजेटमा हाल्नेभन्दा पनि पुराना कार्यक्रमलाई सक्ने गरी बजेट व्यवस्थापन गर्न सुझाव दिनुभयो । राज्यले भार बोक्न नसक्ने अवस्थाका आयोजनामा निजी क्षेत्रको सहयोग लिन आग्रह गर्नुभयो ।

पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रिय पुँजी निर्माणमा ८० प्रतिशत योगदान रहेको निजी क्षेत्रको मनोबल बढाउन आवश्यक रहेको भन्दै कृषि, ऊर्जा र पर्यटन क्षेत्र बजेटको प्राथमिकतामा राख्न सुझाव दिनुभयो ।

अर्का पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले सार्वजनिक ऋण प्रयोगमा सरकारले संयमता अपनाउन आवश्यक रहेको उल्लेख गर्दै महँगोमा ऋण लिएर त्यसको उपयोग पुँजी निर्माणमा प्रयोग गर्न नसकिने बताउनुभयो ।