लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा  चौधरी  नियुक्त, शपथ भोलि  हुने 



बुटवल। 

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेस संसदीय दलका नेता डिल्ली बहादुर चौधरी नियुक्त हुनु भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले चौधरीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नु भएको हो ।

 मुख्यमन्त्रीमा नियुक्त चौधरीले शुक्रवार बिहान साढे ११ बजे शपथ लिन कार्यक्रम तय गरिएको छ । त्यस अघि  बिहीबार नै प्रदेश प्रमुख अमिक शेरचन समक्ष आठ दलीय गठबन्धनको तर्फबाट चौधरीले मुख्यमन्त्रीमा दाबी पेश गर्नु भएको थियो ।

चौधरीलाई नेपाली काँग्रेस माओवादी केन्द्र, जसपा, लोसपा, नागरिक उन्मुक्ति, जनमत, राष्ट्रिय जनमोर्चा, एकीकृत समाजवादी गरी ८ दल र एक स्वतन्त्र गरी ५३ सांसदको समर्थन रहेको छ । गत पुस २७ मा संविधानको धारा १६८ (२) अनुसार नेकपा एमालेबाट मुख्यमन्त्री बन्नु भएका लीला गिरीले यही वैशाख ११ गते प्रदेश सभामा विश्वासको मत नपाएपछि नयाँ सरकार गठन गर्नु परेको हो  । केन्द्रमा सत्ता समीकरण बदलिएका कारण माओवादी सहित ५ दलले समर्थन फिर्ता लिएपछि गिरीले विश्वासको मत गुमाउनु भएको हो ।

त्यसपछि प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ अनुसार नयाँ सरकार गठनको लागि बिहीबार दिउँसो ४ बजेभित्र दाबी पेश गर्न समय सीमा दिर्नु भएको थियो ।

सोही समय सीमामा आठ दलीय गठबन्धनबाट लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले दाबी पेश गर्नु भएको थियो । ८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा बहुमतका लागि ४४ सांसदको समर्थन चाहिन्छ । लुम्बिनीमा एमालेका २९, नेपाली काँग्रेसका २७, माओवादीका ११, राप्रपाका र नागरिक उन्मुक्ति पार्टीका ४–४ जना, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ३–३ जना, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका एक–एकजना र स्वतन्त्र एक सांसद रहेका छन् ।

मुख्यमन्त्री चौधरीको जन्म २०२६ साल असार १५ गते बुवा टुकलाल चौधरी र आमा सोमती चौधरीको कोखबाट दाङ तुलसीपुर ३ डुम्रीगाँउमा भएको हो । चौधरी गैरसरकारी संस्थाको पृष्ठभूमिबाट राजनीतिमा आउनु भएको हो् । चौधरीले पिछडिएको समाज शिक्षा (वेस) नामक गैरसरकारी संस्थामार्फत सामाजिक काम गर्दै आउनु भएको छ । उहाँ अहिले पनि त्यस संस्थाको अध्यक्ष हुनु हुन्छ । उहाँको दक्षिण एसियामा बाल अधिकार प्रवर्द्धनमा योगदान उल्लेखनीय छ । चौधरीले सामुदायिक विकास विषयमा स्नातक गर्नु भएको छ ।

नेपाली काङ्ग्रेसको २०६४ देखि निरन्तर महासमिति सदस्य निर्वाचित चौधरी २०७० मा संविधान सभा सदस्य, श्रम राज्य मन्त्री २०७३–७४, प्रदेश सभा सदस्यमा निर्वाचित (दाङ ३ (१) २०७४), पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्री २०७८–८९ पुस २७ सम्म, प्रदेश सभा सदस्यमा निर्वाचित (दाङ ३ (१) २०७९) संसदीय दलको नेता नेपाली काँग्रेस २०७९ रहँदै आउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्