महानिरीक्षक अर्यालद्वारा एपीएफ टोलीको बिदाई



काठमाडौं।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ युनाइटेड नेशन्स मिशन इन साउथ सुडानमा नेपाल फम्र्ड पुलिस युनिट (एफ.पी.यू) वान जुवामा कार्यरत दशौँ डफ्फालाई बदली गर्न त्यसतर्फ खटिई जान लागेको टोलीलाई मंगलबार प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच बिदाई गर्नुभयो ।

महानिरीक्षक अर्यालले त्यसअवसरमा सशस्त्र प्रहरी बल, नेपालको तर्फबाट शान्ति स्थापनार्थ एफ.पी.यू मिशनमा जाने राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुलाई कार्य सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

महानिरीक्षक अर्यालले विनाशलाई विकास र संघर्षलाई शान्तिमा बदल्ने ठुलो जिम्मेवारी बोकेर द्वन्दग्रस्त मुलुकमा सशस्त्र प्रहरी कर्मचारीहरुले चेन अफ कमाण्ड, अनुशासन र सामुहिक भावनाकासाथ राष्ट्र र संगठनको नाम उच्च रहने गरी सो राष्ट्रको नियम कानुनको पालन गर्दै जिम्मेवारी निर्वाहमा जुट्ने विश्वास समेत व्यक्त गर्नुभयो ।

उहाँले सो टोलीलाई संयुक्त राष्ट्रसंघीय मिशनमा रहँदा समग्र संगठन र राज्यले आर्जन गरेको छविलाई आच आउन नदिने गरी जनताले अपेक्षा गरे बमोजिम बिभिन्न देशका सुरक्षाकर्मीहरुसँग समन्वय तथा सहकार्य गरी मानवअधिकारको उच्च सम्मान गर्दै विश्व शान्ति स्थापनाको कार्यमा आ–आफ्नो ज्ञान, सिप र क्षमताको उच्चतम प्रयोग गर्दै उत्कृष्ट कार्यसम्पादनमा जुट्न निर्देशन दिनुभयो ।

महानिरीक्षक अर्यालले एफ.पी.यू मिशन छनौट निर्देशिका बनिसकेकोले अब १५ बर्ष सेवा अवधि पुगिसकेकाहरुले मात्र सहभागि हुन पाउने र सशस्त्र प्रहरी कर्मचरीहरुको त्याग, उर्जा समर्पण र जेष्ठताको समेत मुल्याङ्कन हुने बताउनुभयो ।

सन् २००३ बाट सशस्त्र प्रहरी बल यूएन मिसन अन्तर्गत पहिलो पटक लाईवेरियामा खटिएको थियो । सो मिसन सन् २०१६ मा बन्द भएको हो । त्यसअघि दक्षिण सुडानको जुवामा सन् २०१४ मा सशस्त्र प्रहरी बल नेपाललाई थप मिसन प्राप्त भएको थियो । सो मिसनको पहिलो कमाण्डरको रुपमा महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक दर्जामा रहँदा कमाण्ड सम्हाल्नु भएको थियो । सो मिसनमा हाल १ सय ८० जना सशस्त्र प्रहरी कर्मचारी कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्