शहरमा खटिनुपर्ने ट्राफिक प्रहरी खोलामा खटिदा ट्राफिक व्यवस्थापन अस्तव्यस्त



मनहरी,  मकवानपुर  ।

मकवानपुर र चितवन जिल्लाको बीच भागमा राजमार्गसँग जोडिएको मनहरी बस्ती पर्दछ । राजमार्गसँग जोडिएको यो बस्ती सवारी साधनको चापले जाम समेत हुने गरेको छ । शहर बजारमा चल्ने नियम विपरीतका सवारी साधन अवैध पार्किङ, जथाभाबी पाङ्र्गिङ्गको व्यवस्थापन र जाम हटाएर दुर्घटना न्यूनीकरण गर्न प्रहरी वरिष्ठ नायब निरीक्षकको कमान्डमा ट्राफिक प्रहरी खटाइएको छ। तर, त्यहाँ कार्यरत ट्राफिक प्रहरीको काम भनेको बस्तीमा नभई मनहरी खोलामा गएर दैनिक गिट्टीजन्य पर्दाथ बोकेको ट्रक लाई चेकिङ गर्नु रहेको छ ।

मनहरी खोलाको उत्तरी क्षेत्र भएर दैनिक सयौँ ट्रकले गिटीजन्य पर्दाथ ढुवानी गर्दै आएको छ । ती गिट्टीजन्य पर्दाथ बोकेको टिपर र ट्रकलाई क्षमता भन्दा बढी लोड गरेको भन्दै ट्राफिक प्रहरी पोष्ट मनहरिका ट्राफिक प्रहरीले जरिवानाको बहाना बनाउँदै कुनै टिपर र ट्रक लाई जरिवाना तिराउने त कुनैसँग अवैध रकम असुली गर्ने गरेको एक ट्रक चालकले बताए । दुर्घटना न्यूनीकरण गर्नु भन्दा पनि पोस्टै पिच्छेका ट्राफिक प्रहरीलाई बढी राजश्व उठाउन प्रतिस्पर्धा चलेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय हेटौडाका ट्राफिक प्रहरी निरीक्षक वसन्त आचार्यले पारबहन क्षमता भन्दा बढीका टिपर र ट्रकलाई नियन्त्रणमा लिन ट्राफिक प्रहरीलाई खोलामा खुट्टाइएको बताउनु भयो । उहाँले भने जस्तो नभई खोलामा टिपर र ट्रक लाई जरिवाना र अवैध रकम असुल्न ट्राफिक प्रहरी वरिष्ठ निरीक्षक प्रेम श्रेष्ठ आफै खोलामा खटिनु भएको थियो । खोलामा धर्मकाटा नभएपनि ट्राफिक प्रहरीले गिट्टीजन्य पदार्थ बोकेको टिपर र ट्रकलाई पारबहन क्षमता बढी बोकेको भन्दै अनावश्यक दु:ख दिने गरेका छन् ।

खोलामा ट्राफिक प्रहरीको चेकिङ देख्दा राजमार्गमा चल्ने अन्य सवारी साधनका यात्रु समेत अचम्ममा पर्ने गरेका छन् । राजमार्गको शहरी क्षेत्रमा खटिनुपर्ने ट्राफिक प्रहरीहरू खोलामा खटिदा शहरी क्षेत्रको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ ।  राजमार्गस्थित शहरी क्षेत्रमा खटिनुको साटो एकान्तस्थल र जङ्गलक्षेत्रमा चेकिङको बहानामा दैनिकजसो ट्राफिक प्रहरी रहने गरेपछि दुर्घटनामा कमी आउन नसकेको हो ।

सवारी साधनको जथाभाबी पार्किङ, दोहोरो पार्किङ, फुटपाथ मिचिदा समेत ट्राफिक प्रहरीको ध्यान त्यता नजाँदा पैदल यात्रीलाई सास्ती परेको छ । राजमार्गका बस्तीमा हुने ट्राफिक अस्तव्यस्तलाई नियन्त्रण गर्नुको साट्टो खोलामा ढुकेर ट्राफिक प्रहरीले चेकजाँचको नाममा सवारी साधनका चालकलाई दुःख दिने मात्र हैन, अवैध रकम समेत माग गर्ने गरेको गुनासो बढेको छ । ट्राफिक प्रहरीको चेकजाँच सडक सुशासन कायम गर्न नभई नियम विपरीत चलेका सवारी साधनसँग अवैध रकम असुलीको लागि भएको आरोप लाग्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्