काठमाडौं । छातीको देब्रे पाटोमा इन्फेक्सन भई पानी जमेका कारण थप उपचारका लागि भारतको दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्समा उपचाररत् राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख छ ।
उपचारमा संलग्न डाक्टरहरूले बिहीबार दिउँसो दिएको जानकारीअनुसार राष्ट्रपति पौडेलका स्वास्थ्य अवस्था सुधार हुँदै गएको उहाँका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । पोखरेलले भने– ‘राष्ट्रपतिज्युको उपचार शुरू गरेपछि क्रमिक रूपमा स्वास्थ्य सुधार हुँदै गएको जानकारी उपचारमा संलग्न डाक्टरहरूले दिएका छन् ।’
मंगलबार बिहान बेहोस भएपछि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा भर्ना गरिएका पौडेललाई छातीमा पीप जमेकाले थप उपचारका लागि डक्टरको सल्लाहअनुसार बुधबार भारत लगिएको थियो ।
पेटमा समस्या देखिएपछि १८ चैतमा त्रिवि शिक्षण अस्पतालमा ५ दिन भर्ना भएर उपचार गराएका पौडेल ४ वैशाखमा फलोअप परीक्षणका लागि पुनः अस्पताल जानकारी दिए । चेकअपका क्रममा अल्ट्रासाउन्डको माध्यमबाट छातीको तल्लो भागको पानी निकालेर परीक्षण गरिएको त्रिवि शिक्षण अस्पतालले जनाएको थियो ।
पुनः मंगलबार बिहान एक्कासी रिँगटा चलेपछि शिक्षण अस्पतालमा भर्ना गरेर राखिएको थियो । राष्ट्रपतिको उपचारमा संलग्न चिकित्सकहरूले पौडेललाई छातीसँग सम्बन्धित समस्या देखिएपछि दुई हप्ताअघि नै एन्टिबायोटिक औषधि दिइएको तर उक्त औषधिले काम नगरेपछि थप उपचारका लागि भारत लैजान सिफरिस गरेको थियो ।











प्रतिक्रिया