सहकारीबाट १४ करोड लिएर गौतम फरार

0
Shares

काभ्रे । बनेपा नगरपालिका–७ मा रहेको पुण्यश्वर बचत तथा ऋण सहकारीका व्यवस्थापक १४ करोड लिएर फरार भएका छन् । रामेछाप गुन्सी भदौरे–७ घर भई बनेपामा बस्दै आएका २९ वर्षीय कुमार गौतम पुण्यश्वर सहकारीको ९ करोड र द्रौपदा सहकारीको ५ करोड गरी १४ करोड लिएर फरार भएका हुन् । हाल उनी सम्पर्कविहीन छन् ।

कुमारका बाबु डम्बरप्रसाद गौतम अध्यक्ष रहेको उक्त सहकारीमा कुमारकी श्रीमती पवित्रा चौलागाईं कोषाध्यक्ष छिन् । सानिमा कमला चौलागाईं सदस्य छन् भने बहिनी मनिषा गौतम लेखा प्रमुख छिन् । उता कुमार भने द्रौपदा बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष छन् । दुवै संस्थाको लेखापालका रूपमा बहिनी मनिषा कार्यरत छिन् । कान्छो भाइ प्रदीप गौतम ऋण संयोजक छन् । भाइबुहारी गंगा श्रेष्ठ गौतम र भाइ उद्धव गौतमलाई सहकारीमा कार्यरत रहँदारहँदै सोही सहकारीको रकमबाट अस्ट्रेलिया पठाइएको छ ।

द्रौपदा सहकारीको करिब ५ करोड रकम अपचलन भएको छ । सञ्चालक समितिमा उपाध्यक्ष रहेका झम्कप्रसाद गौतमको ६५ लाख र उनकै दाजु देवी गौतमको ५१ लाख उनै कुमारले लिएर फरार भएका छन् । सहकारीको चौंरीदेउराली र पाँचखाल सेवा केन्द्रमा बचत गर्ने बनेपासहितका ७ हजार २ सय सदस्यको ९ करोड रकम उनै कुमारले खर्च गरेर बेपत्ता भएका हुन् । कुमारका छिमेकी गंगाबहादुर तामाङ सचिव छन् भने निर्माण व्यवसायी अमृत गौतम र गोदामचोकमा कार्यालय हुँदा घरबेटी रहेका टीकालाल श्रेष्ठ सदस्य छन् । उपाध्यक्ष झम्कप्रसाद गौतम, सदस्य अमृत र टीकालालले बनेपा नगरपालिका, सहकारी विभाग, जिल्ला प्रशासन, प्रहरी कार्यालयलगायतका स्थानमा उजुरी गरेका छन् । उनीहरूसहित ३१ जना बचतकर्ताको उजुरीमा हस्ताक्षर छ ।

२०७९ पुस २६ गते जिल्ला प्रशासन कार्यालयमा ३१ जना बचतकर्ताले पुण्यश्वर सहकारीले बचत फिर्ता नदिई कार्यालयसमेत बन्द गरेर भागेकाले आवश्यक कारबाही गरिपाऊँ भनी निवेदन दर्ता गरेका थिए । प्रशासन कार्यालयले उक्त निवेदनसहितको आदेश जिल्ला प्रहरी कार्यालयलाई लेखिपठाएको थियो । जिल्ला प्रहरी कार्यालयले उक्त निवेदनमाथि कुनै सुनुवाइ नगरेको पीडितहरूले बताएका छन् । पीडितहरूले बनेपा नगरपालिकामा फागुन ११ गते दिएको निवेदनका आधारमा बनेपा नगरपालिकाले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा फागुन ३० गते पत्र लेखेर कारबाहीका लागि अनुरोध गरेको थियो ।

पुण्यश्वर, एसियन स्टार र द्रौपदा बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई आवश्यक कारबाहीका लागि सिफारिस गरेको थियो । विभिन्न कार्यालयमा दिएको निवेदनउपर कतै सुनुवाइ नभएपछि पीडितहरू आफैं वागमती प्रदेशको सहकारी मन्त्रालयमा चैत्र ६ गते पुगेका थिए । सोही दिन जिल्ला प्रहरी कार्यालय काभ्रेलाई खोजकार्य तथा आवश्यक कारबाहीका लागि पत्राचार गरेको थियो । बचतकर्तालाई बचत फिर्ताका लागि दिएका चेक पनि बाउन्स हुन थालेका छन् ।

डम्बरप्रसाद गौतमले सहकारीको अध्यक्ष नभएको भन्दै जिल्ला अदालतमा मुद्दा दर्ता गरेका छन् । जबकि, २०७५ असोज १९ गते उनकै अध्यक्षतामा बैठक बसेर सहकारीका विभिन्न निर्णय गर्दै ऋण लगानी र असुली गरिएको छ । बचतकर्ताको घेरामा परेका बेला बनेपा नगरपालिका–७ का वडा अध्यक्ष हिटलर शाक्यको उपस्थितिमा बचतकर्ताको सबै रकम फिर्ता गर्छु भन्दै कागज गरेका डम्बर अहिले अध्यक्ष नै आफू नभएको करकापमा कागज गरेको फर्जी कागजात लेखेर अदालत पुगेका छन् । उनले कार्यालय बन्द रहने सूचना आफ्नै हस्ताक्षरमा टाँस गरेका थिए ।

कुमार आफैंले व्यक्तिगत रूपमा १ करोड ३६ लाख ९१ हजार ५ सय ८३ रुपियाँ खर्च गरेको रेकर्डमा उल्लेख छ । उनले सहकारीबाट लगानी गरेको ऋण पनि परिवारका सदस्यमा मात्रै छ । ७ करोडभन्दा धेरै रकम उनले आफ्नै परिवारका सदस्यलाई लगानी गरेका छन् । बनेपा शाखाबाट ४४ जनाले लिएको ऋणमध्ये अशोक चौलागार्इं सानिमाका छोरा, गणेशप्रसाद दुलाल मामा, सृजना दर्लामी मगर (कुमारको एकाघर), गायत्रराज ठकुरी (आफन्त), लक्ष्मी चौलागार्इं गौतम (बुहारी), उद्धव गौतम (भाइ माइलो), विशाल रानाभाट (उनको नाममा आफैं चलाएको १९ लाख), गंगा श्रेष्ठ गौतम (माइली बुहारी), सहदेव चौलागार्इं (जेठान), मनीष कार्की (पसल प्रतीक सुज), नवराज धिताल (नाताको ज्वाइँ), देवी मल्ल (आफन्त) र अधिकांश ऋणीहरू रामेछापकै उनका गाउँका छन् । कतिलाई जानकारी नभईकन पनि कुमारले उनीहरूको नागरिकता फोटोकपीका आधारमा ऋण लगानी गरेर आफंै खर्च गरेका छन् ।

कानुनी कारबाहीमार्फत बचत फिर्ताका लागि पीडितहरूले दैनिकजसो सरकारी कार्यालय धाएको भए पनि कसैले सुनुवाइ गरेको छैन । जिल्ला सहकारी संघ, काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ पनि मौन छ । बनेपामा पारिवारिक रूपमा सञ्चालन भएका अन्य थुप्रै सहकारी छन् । शहरी क्षेत्रमा व्यक्तिगत रूपमा सञ्चालन भएका अधिकांश सहकारी संकटमा छन् । तर, सामूहिक रूपमा सञ्चालन भएका सहकारीहरूमा वित्तीय संकट छैन । अधिकांश सहकारीहरूले सहकारी ऐन र कार्यविधि पालाना भने गरेका छैनन् । छाता संगठनहरूमा समेत ऐन कार्यान्वयन हुन सकेको छैन । कुल १७ वटा सहकारीले बचतकर्ताको रकम फिर्ता गर्न नसकेको विभागमा दर्ता भएको उजुरीमा उल्लेख छ ।

पछिल्लो दुई वर्षमा भागेका सहकारी

१) विनायक
२) अखण्ड
३) मालाश्री
४) पुण्यश्वर
५) द्रौपदा
६) सत्कार
७) एसियन स्टार
८) स्वर्णिम
संकटग्रस्त
१) मुकुल
२) युनिटी