राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख 

0
Shares

काठमाडौँ। 

छातीको देब्रे पाटोमा इन्फेक्सन भई पानी जमेका कारण थप उपचारका लागि भारतको दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्समा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख छ । मंगलबार बिहान बेहोस भएपछि महाराजगन्जस्थित शिक्षण अस्पतालमा भर्ना गरिएका पौडेललाई छातीमा पीप जमेकाले थप उपचारका लागि डक्टरको सल्लाह अनुसार बुधवार भारत लगिएको थियो ।

उपचारमा संलग्न डाक्टरहरुले बिहीबार दिउसो दिएको जानकारी अनुसार राष्ट्रपति पौडेलका स्वास्थ्य अवस्था सुधारहुदै गएको उहाँका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो । ‘राष्ट्रपतिज्यूको उपचार सुरु गरेपछि क्रमिक रुपमा स्वास्थ्य सुधार हुँदै गएको जानकारी उपचारमा संलग्न डाक्टरहरुले दिएका छन्’, पोखरेलले भन्नुभयो ।

पेटमा समस्या देखिएपछि १८ चैतमा त्रिवि शिक्षण अस्पतालमा ५ दिन भर्ना भएर उपचार गराएका पौडेल ४ वैशाखमा फलोअप परीक्षणका लागि पुनः अस्पताल जानुभएको थियो । चेकअपका क्रममा अल्ट्रासाउन्डको माध्यमबाट छातीको तल्लो भागको पानी निकालेर परीक्षण गरिएको त्रिवि शिक्षण अस्पतालले विज्ञप्ति मार्फत जनाएको थियो ।

पुनः मंगलबार बिहान एक्कासि रिँगटा चलेपछि शिक्षण अस्पतालमा भर्ना गरेर राखिएको थियो । राष्ट्रपतिको उपचारमा संलग्न चिकित्सकहरुले पौडेललाई छातीसँग सम्बन्धित समस्या देखिएपछि दुई हप्ताअघि नै एन्टबायोटिक औषधि दिइएको तर उक्त औषधिले काम नगरेपछि थप उपचारकालागि भारत लैजान सिफरिस गरेको थियो । उहाँलाई दिल्लीस्थित एम्स अस्पतालको आईसीयूमा भर्ना हुनुभएको छ । राष्ट्रपति पौडेललाई एम्स अस्पतालका प्लमोनरी, क्रिटिकल केयर तथा स्लिप मेडिसिन विभागका प्रमुख प्राडा अनन्त मोहन र आइसियु विज्ञ डा पुनीत मिश्रको टोलीले उपचार गरिरहेको राष्ट्रपति पौडेलका छोरा चिन्तन पौडेलले जानकारी दिनुभएको छ । उहाँलाई देखिएको सङ्क्रमणको समस्या लामो समयसम्म एन्टिबायोटिक्ससेवन गर्दा पनि निको नभएर थप जटिल बन्दै गएपछि परिवार र चिकित्सकहरुको सल्लाहमा भारत लैजाने निर्णय भएको चिन्तन पौडेलले बताउनुभयो ।