महोत्तरीको बलवामा उपप्रमुखको उद्दण्डता : प्रमुख प्रशासकीय अधिकृत कुटिएपछि कर्मचारी आन्दोलित

आफ्नै श्रीमान्लाई कार्यालय सहयोगीमा नियुक्ति

0
Shares

–कारबाहीको माग गर्दै प्रशासनमा उजुरी
–यसअघि पनि एक कर्मचारीमाथि दुव्र्यवहार
–१० हजार जरिवाना र १ वर्षसम्म कैद हुन सक्ने
–अन्य कर्मचारी त्रासमा

काठमाडौं । महोत्तरीको बलवा नगरपालिकाकी उपप्रमुख रामदुलारी देवीले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोदकुमार ठाकुरमाथि कुटपिट गरी उद्दण्डता देखाएकी छिन् । पीडित प्रशासकीय अधिकृत ठाकुरले उपप्रमुखबाट आफूमाथि कुटपिट भएकाले कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय महोत्तरीमा उजुरी दिएका छन् ।

प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट भएपछि उपमेयरविरुद्ध बलवा नगरपालिकाका कर्मचारीहरू आन्दोलित भएका छन् । उपमेयरमाथि कानुनअनुसार कारबाही नहुँदासम्म नगरपालिकाका अत्यावश्यकबाहेक अन्य काम गर्न नसकिने भन्दै कर्मचारीले काम रोकेका छन् ।

प्रमुख प्रशासकीय अधिकृत ठाकुरका अनुुसार उपप्रमुख देवीले गत ३ वैशाखमा नगरपालिकाकै एक बैठक कक्षमा ठाकुरमाथि पानीको बोतलले टाउकोमा प्रहार गरेकी थिइन् । उपप्रमुखले एउटा एनजीओको बैठक भइरहेको समयमा एक्कासि बैठक कक्षमा पसेर गालीगलौज गर्दै आफूलाई टाउकोमा पानीको बोतलले प्रहार गरेको पीडित प्रशासकीय अधिकृत ठाकुरले बताउनुभयो । ‘उहाँले टाउकोमा पानीको बोतल प्रहार गरेपछि एकछिन् त बेहोसजस्तै भएँ, अकल्पनीय घटनाले गर्दा त्यो क्षण केही समय मेरा दुईटै आँखा बन्दजस्तै भए, साह्रै पीडाबोध भयो’ –प्रमुख प्रशासकीय अधिकृत ठाकुरले नेपाल समाचारपत्रसँग भन्नुभयो ।

प्रमुख प्रशासकीय अधिकृत ठाकुरका अनुसार उपप्रमुखले उहाँकै गाउँको २५ लाखको योजनाका बारेमा गाउँलेबीच भएको विवादको विषयमा प्रमुख प्रशासकीय अधिकृतलाई मुछ्न खोज्नुभएको थियो । ठाकुरका अनुसार केही दिनअघि मात्रै उपप्रमुखकै गाउँमा २५ लाखको विकास आयोजनाका बारेमा स्थानीय गाउँलेहरूबीच विवाद भएको थियो । विवाद भएपछि केही गाउँलेहरू उपभोक्ता समितिको विरुद्धमा नगरपालिकामा उजुरी लिएर आएका थिए । २५ लाखको सो योजनामा उपप्रमुख देवीले चलखेल गरेको स्रोतको दाबी छ । स्थानीयहरू उपप्रमुखसँग असन्तुष्ट रहँदै आएका छन् । त्यसैले स्थानीयहरू निवेदन लिएर नगरपालिकामा आएका थिए ।

नगरपालिकाका प्रमुख रामविजय महतोको निर्देशनअनुसार प्रमुख प्रशासकीय अधिकृत ठाकुरले सो निवेदन नगरपालिकामा दर्ता गराइदिएका थिए । तर, उपप्रमुख देवीले सो निवेदन आफूलाई नसोधी किन दर्ता गराएको भन्दै प्रमुख प्रशासकीय अधिकृत ठाकुरमाथि अपशब्द प्रयोग गर्दै बोतलैबोतलले प्रहार गर्नुभएको थियो ।

नगरपालिकाका अन्य कर्मचारीका अनुसार उपप्रमुख देवीले यसअघि पनि एक महिला कर्मचारीमाथि यसरी नै दुव्र्यवहार गरेकी थिइन् । त्यति बेला पनि महिला कर्मचारीमाथि दुव्र्यवहार गर्दा उपप्रमुखविरुद्ध कर्मचारी आन्दोलित भएका थिए । तर, प्रमुख प्रशासकीय अधिकृत ठाकुरले नै मध्यस्थता गरी मिलाउनुभएको थियो । ‘त्यतिखेर उपप्रमुखमाथि कारबाहीको माग हँुदा मैले नै मध्यस्थता गरी मिलाएको थिएँ तर अहिले उल्टै उहाँले ममाथि नै प्रहार गर्नुभयो’ –प्रमुख प्रशासकीय अधिकृत ठाकुरले भन्नुभयो । उपप्रमुख देवीको उद्दण्डताले सीमा नाघेकाले अब भने उहाँमाथि कारबाही हुनैपर्ने आवाज कर्मचारीको छ । प्रमुख प्रशासकीय अधिकृत ठाकुरले पनि उपप्रमुखमाथि जुनसुकै हालतमा पनि कानुनअनुसार कारबाही हुनुपर्ने बताउनुभयो । ‘एकपछि अर्को कर्मचारी कुट्दै जाने तर उहाँमाथि कुनै कारबाही नहुने हो भने सबै कर्मचारीले त्यस्तै, नियत भोग्नुपर्ने भएकाले पनि यसपटक उहाँमाथि कारबाही हुनैपर्छ’ –ठाकुरले नेपाल समाचारपत्रसँग भन्नुभयो ।

अपराध संहिताअनुसार कार्यक्षेत्रमा कसैले कर्मचारीमाथि दुुव्र्यवहार गरेमा १० हजार जरिवाना तथा १ वर्ष कैद वा दुवै सजाय हुने व्यवस्था छ । प्रमुख प्रशासकीय अधिकृत ठाकुरले सोहीअनुसार सजायको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएको बताउनुभयो ।

आफ्नै श्रीमान्लाई कार्यालय सहयोगीमा नियुक्ति

प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट गरेकी उपप्रमुख रामदुलारी देवीले आफ्नै श्रीमान् श्यामसुन्दर ठाकुरलाई कार्यालय सहयोगीमा नियुक्ति दिलाउनुभएको थियो । उहाँले निर्वाचन जितेर आएलगत्तै आफ्नै श्रीमान्लाई कार्यालय सहयोगीमा नियुक्ति गराउन सफल हुनुभएको हो । कर्मचारीका अनुसार उद्दण्ड स्वभावकी उहाँ धाकधम्की दिएर काम गराउने स्वभावकी हुनुहुन्छ ।

अहिले उहाँ जुनसुकै कार्यक्रममा जाँदा पनि आफ्नै कार्यालय सहयोगीका रूपमा रहेका श्रीमान्लाई लिएर जाने गरेको कर्मचारीहरूले बताए । उहाँले श्रीमान्लाई साथमा लिएर अन्य कर्मचारीलाई धम्काउने, गाली गलौज गर्ने र कुटपिटसमेत गर्ने गरेको पीडित कर्मचारीको भनाइ छ ।