सैनिक आचार संहिता कार्यक्रम सम्पन्‍न

0
Shares

काठमाडौँ।

हरेक वर्षको पहिलो हप्ता नेपाली सेनाले सञ्चालन गर्ने सैनिक आचार संहिता कार्यक्रम बुधबार सम्पन्न भएको छ ।

सेनाका सकलदर्जालाई सैनिक मर्यादा, अनुशासन, सदाचार लगायतका विषयमा अत्यावश्यक जानकारीहरु स्मरण गराउने नेपाली सेनाको प्रचलन अनुरुप सैनिक आचार संहिता कार्यक्रम-२०८० सञ्चालन गरिएको हो । दुई दिन चलेको कार्यक्रमको प्रधान सेनापति प्रभुराम शर्माले समापन गर्नुभयो ।

समापन समारोहमा सकलदर्जालाई सम्बोधन गर्दै प्रधान सेनापति शर्माले सैनिक आचार संहिताको पूर्ण पालना नै सैनिक अनुशासन भएको र यो नै सैनिक पेशाको मुख्य शक्ति रहेको बताउनुभयो । उहाँले हरेक सिपाहीले सैनिक आचरणहरुको निरन्तर स्मरण र पालना गर्नु नै सैनिक धर्म र कर्म रहेको बताउनुभयो ।

प्रधान सेनापति शर्माले संगठनको विशिष्टता कायम राखि राख्‍न चेन अफ कमाण्डलाई पूर्ण रुपमा अनुशरण गर्दै एक ढिक्का भई नेपाली सेनाको मूल्य र मान्यता अनुरुप संगठनको प्रतिष्ठा बढ्ने गरी जिम्मेवारी र कर्तव्य निर्वाह गर्न निर्देशन दिनुभयो ।

उहाँले सकलदर्जामा उच्चस्तरको आचरण र नैतिक चरित्रको विकास गर्दै सदाचारपूर्ण संस्कार विकास गर्दै लैजानु हरेक तहका कमाण्डरहरुको दायित्व रहेको समेत बताउनुभयो ।

नेपाली सेनाका सकलदर्जाको सहभागिता रहेको सो कार्यक्रम अवधिभरमा नेपाली सेनाको मुल्य मान्यताहरु, नेपाली सेनाको परम्परा तथा शिष्टाचार, सोसल मिडिया प्रयोग, विभिन्‍न किसिमका भेटघाट तथा अभिव्यक्ति, आर्थिक कारोवार तथा बजेट, शिक्षक तथा शिक्षार्थीहरुले पालना गर्नु पर्ने आचार संहिता, भर्ना छनौट, लैङ्गिक आचरण तथा उपहार सम्बन्धि आचार संहिताहरुमा विषयविज्ञहरुबाट प्रस्तुतीकरण गरिएको थियो ।

जंगी अड्डामा आयोजित कार्यक्रममा नेपाली सेनाका सम्पूर्ण फर्मेशन तथा युनिटहरुमा कार्यरत सकलदर्जा लाइभ मल्टिीकास्टबाट जोडिएका थिए ।