काँकडभिट्टा माविविरुद्ध अख्तियारमा उजुरी 

0
Shares

भद्रपुर। 

शिक्षक नियुक्तिमा अनियमितता भएको भन्दै झापाको काँकडभिट्टा मावि विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ । कानुन विपरीत ४० वर्ष उमेर नाघेकालाई उच्च मावि दरबन्दीमा शिक्षक नियुक्ति गरेको भन्दै अख्तियारको केन्द्रीय कार्यालयमा अनलाइन मार्फत उजुरी दर्ता भएको हो ।

‘अनलाइनबाट गरिएको उजुरी सिधै केन्द्रीय कार्यालयमा दर्ता हुन्छ,’ अख्तियारको इटहरी कार्यालयका सूचना अधिकारी नीरज देवले भन्नुभयो, ‘उजुरीका बारेमा केन्द्रले नै छानबिन गरी अनुसन्धान अधिकृत तोकेर अनुसन्धान अगाडी बढाउँछ ।’
अख्तियारमा उजुरी दर्ता भएको विषयमा विद्यालयलाई कुनै जानकारी नभएको प्रधानाध्यापक हरिप्रसाद न्यौपानेले बताउनुभयो । ‘विद्यालयले प्रक्रिया पुर्‍याएर शिक्षक नियुक्ति गरी अभिलेखीकरणका लागि शिक्षा विकास तथा समन्वय इकाईमा पठाएका छौँ,’ प्रधानाध्यापक न्यौपानेले भन्नुभयो, ‘अहिलेसम्म अभिलेखीकरण भएर आएको छैन ।’

उच्च मावि दरबन्दीमा शिक्षक नियुक्तिका लागि कानुनले स्पष्ट व्याख्या नगरेकाले हामीले ‘सामुदायिक उच्च माध्यमिक तह शिक्षक व्यवस्थापन निर्देशिका २०७१’ लाई आधार मानेर शिक्षक नियुक्ति गरेको प्रधानाध्यापक न्यौपानेले बताउनुभयो । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले २०७९ मंसिर २७ गते नै शिक्षा विकास तथा समन्वय इकाईका नाममा जारी गरेको निर्देशनमा उक्त निर्देशिका बमोजिम शिक्षक नियुक्ति गर्दा आयोगबाट हुने तोकिए बमोजिमको पहिलो विज्ञापनमा मात्रै शिक्षकको न्यूनतम उमेरहद नलाग्ने भनेको छ । संगैमा उक्त निर्देशनमा नै सो बाहेकको अवस्थामा जुनसुकै किसिमबाट उच्च माध्यमिक शिक्षकको पदमा नियुक्ति भई कार्यरत रहेको भएता पनि उच्च माध्यमिक तर्फको दरबन्दी/अनुदान कोटाबाट शिक्षक नियुक्ति गर्दा न्यूनतम र अधिकतम उमेर हद लाग्ने उल्लेख छ । काँकडभिट्टा माविमा उक्त निर्देशिकाबाट यस अघि नै दुई जना शिक्षकहरू भगीरथ भण्डारी र टिकाराम पौडेल नियुक्ति भइसकेको प्रधानाध्यापक न्यौपानेले स्वीकार गर्नुभयो । सोही दरबन्दीमा कार्यरत शिक्षक भण्डारीले अवकाश पाए पछि पदपूर्ति गरेको न्यौपानेले बताउनुभयो ।

प्रधानाध्यापक न्यौपाने कै भनाइले पनि उक्त निर्देशिका बमोजिम काँकडभिट्टा माविले दोस्रो पटक उच्च मावि दरबन्दीमा शिक्षक नियुक्ति गरेको पुष्टि हुन्छ । जसबाट निर्देशिकामा भनिए अनुसार, पहिलो पटकको विज्ञापन बाहेको जुनसुकै किसिमबाट उच्च माध्यमिक शिक्षकको पदमा नियुक्ति भई कार्यरत रहेको भएता पनि उच्च माध्यमिक तर्फको दरबन्दी वा अनुदान कोटाबाट शिक्षक नियुक्ति गर्दा न्यूनतम र अधिकतम उमेर हद लाग्ने व्यवस्थाको काँकडभिट्टा माविले ठाडो उल्लङ्घन गरेको उजुरीकर्ताको भनाई छ ।

‘शिक्षक नियुक्तिको प्रक्रिया शिक्षा विकास तथा समन्वय इकाईमा पुगेको छ,’ प्रधानाध्यापक न्यौपानेले भन्नुभयो, ‘अब त्यहाँबाट जे निर्णय आउँछ हामी त्यही अनुसार अगाडी बढ्छौँ ।’ अहिले उच्च मावि तह नै नरहेको र उच्च माध्यमिक शिक्षा परिषद् समेत खारेज भइसकेको अवस्थामा पुरानो निर्देशिकाको आधारमा गरिएको उच्च मावि दरबन्दीको शिक्षक नियुक्तिको विषयमा अध्ययन भइरहेको शिक्षा विकास तथा समन्वय इकाई झापाका प्रमुख राजकुमार विकले बताउनुभयो । ‘विद्यालयले शिक्षक नियुक्ति गरेर पठाएको छ,’ उहाँले भन्नुभयो, ‘त्यसको प्रक्रिया हेर्ने काम भइरहेको छ ।’

उच्च मावि दरबन्दीको ‘व्यावसायिक अध्ययन’ विषयको शिक्षक नियुक्तिमा अनियमितता गरी कानुन विपरीत उमेर हद नाघेका व्यक्तिलाई नियुक्ति दिएको भन्दै विद्यालयले लिएको परीक्षामा सामेल भएका मध्येबाटै अख्तियारमा उजुरी दर्ता भएको परीक्षामा सहभागीले जानकारी दिनुभयो ।

२०७९ फागुन ५ गते शिक्षक पदपूर्तिका लागि विद्यालयले सूचना जारी गरेको थियो । उक्त विषयमा विद्यालयले छनौट समिति गठन गरी फागुन २६ गते परीक्षा लिएर ४० वर्ष नाघेका फाल्गुनी दाहाललाई नियुक्ति गर्ने विद्यालय व्यवस्थापन समितिले निर्णय गरेको थियो । उक्त परीक्षामा फाल्गुनी बाहेक अनोज दाहाल, पारस दाहाल, रोहित बराल र नवीन गौतम सहभागी हुनु भएको थियो ।