ओली प्रवृत्तिका मानसपुत्र फन्टुसहरू सडकमा नेता भएर हिँडेका छन् : घनश्याम भुसाल


काठमाडौँ।

नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई यदुवंशी मुसलको संज्ञा दिएका छन्।बुधबार पार्टीनिकट विद्यार्थी संगठनको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन्।

‘हामीले बनाएको धेरै राम्रो पार्टीभित्र एउटा मुसल जन्मियो । यदुवंशी मुसल जन्मियो । त्यो ओलीवादको मुसल थियो । ओलीवाद भनेर मैले व्यक्तिगत कुरा गर्न खोजेको होइन । त्यो एउटा प्रवृत्तिको रूपमा हुर्कियो । त्यसमा विचार म हो, मेरा हो भन्ने भयो’, उनले भने, ‘मलाई जे गर्दा फाइदा हुन्छ त्यही गर्छु त्यही नै ओलीवादको सिद्धान्त हो । म विचार हो, मेरो फाइदा सिद्धान्त हो । मेरा समर्थकमात्रै असल हुन् अरु सबै शत्रु हुन् । यति भएपछि ओली प्रवृत्तिको मुसल तयार भयो ।’

उनले थपे, ‘ओलीवादको यही कारणले ओली प्रवृत्तिका मानसपुत्र र तीनबाट जन्मेकाहरू सडकमा छन् । जब अनुशासनहीनता र मूल्यहीनताका बीचमा फन्टुसहरूका बीचमा झगडा हुन्छ वा प्रतिस्पर्धा हुँदा कसले जित्छ भन्दा सबैभन्दा फन्टुसले नै जित्छ । आज त्यही भएर सडकमा सबैभन्दा धेरै फन्टुसहरू नेता भएर हिँडिराखेका छन् ।’

संसद र पार्टी विघटन गरेर ओलीले देशको राजनीतिक भद्रगोल बनाएकै कारणले वैकल्पिक भन्नेहरु अहिले सडकमा देखिएको उनको भनाई छ थियो ।