रेलमार्गमा परेको रुख ठेकदारले काट्ने बन कर्मचारीले गायब पार्ने 

0
Shares

रौतहट।  

रेलमार्गमा कटान भएको गोलिया काठलाई दाउरा बनाएर बिक्री गर्ने बन अधिकृत अझै जिम्मेवारीमा रहेका छन् । डिभिजन बन कार्यालय चन्द्रनिगाहपुर अन्तर्गतको सब डिभिजन बन कार्यालय चेतनगरका सहायक बन अधिकृत बालकिशोर सिंहले सालको ५२ इन्च मोटाई १८ फिट लामो गोलियालाई तीन फिटको ६ टुक्रा बनाएर अनधिकृत लाभ लिएर बिक्री गरेको खुले पनि अझै उनी सोही कार्यालयको जिम्मेवारी सम्हालेका छन्  ।

बन संरक्षण र रेखदेखको जिम्मेवारीमा रहेकै बन कर्मचारीबाट पछिल्ला दिनमा तस्करसँग मिलेमतो राखेपछि रौतहटको बन मासिँदै गएको छ । गएको ४ गते रामलाल वृन्दावन साझेदारी बन उपभोक्ता समूहको क्षेत्र अन्तर्गत रेलमार्गमा पर्ने सालको ५२ इन्च मोटाई १८ फिट लामो गोलिया काठ ठेकदारले घाटगध्दी गर्न तयारी गराएकै अवस्थामा सब डिभिजन बन कार्यालय चेतनगरका सहायक बन अधिकृत बालकिसोर सिंहले वृन्दावन नगरपालिकाको हर्षाहामा रहेको चिरान मिलमा अनधिकृत लाभ लिएर बिक्री गरेको खुलेको हो ।

उनको संलग्नतामा सो १८ फिटको गोलिया काठलाई तीन/तीन फिटको दाउराको साइज बनाएर बिक्री गरेको खुलेपछि डिभिजन बन कार्यालयका प्रमुख सुनिल कुमार कर्णले फिर्ता ल्याउन निर्देशन दिएपछि सहायक बन अधिकृत ५ टुक्रा फिर्ता गरे पनि अझै एक टुक्रा ल्याउन सकेका छैनन् । तर सहायक बन अधिकृत सिंहमाथि छानबिन नै नभएपछि उनको गलत क्रियाकलापलाई चोख्याउने प्रयास गरिएको छ ।

पूर्व पश्चिम रेलमार्ग अन्तर्गत चन्द्रपुरको मरधरदेखि बाग्मती सम्मको ११ किलोमिटरको ट्र्याक खोल्नको लागि रुखहरु कटान भइरहेको छ । चेतनगर बनक्षेत्रको कटान भएको सालको गोलिया काठलाई सहायक बन अधिकृत सिंहले बिक्री गरेको सार्वजनिक भएपछि चौतर्फी आलोचना भएको थियो । सहायक बनअधिकृत बालकिसोर सिंहले मजदुरहरु काठ लगेपनि आफूले फिर्ता ल्याएको बताउनुभयो ।

रेलमार्गमा कटान भएको रुखहरुहो हागा प्रति ट्र्याक्टर राजश्व ३ हजार लिएर बिक्री गरे पनि ओभरलोड गर्न अनुमति दिएर अनधिकृत १२ हजार सम्म सहायक बन अधिकृत सिंहले लिने गरेको आरोप समेत रहेको छ । रेलमार्गमा कटान भएको गोलिया काठ डिभिजन बन कार्यालयको सशस्त्र बन रक्षक कार्यालय अगाडी र दाउरा भने सब डिभिजन बनकार्यालय जुडिबेलामा घाटगध्दि गरिएको छ । बन अधिकृत सुनिल कुमार कर्णले गोलिया काठ गायब बनाएको सुनेपछि आफूले फिर्ता ल्याउन निर्देशन दिएको बताउनुभयो ।