प्रधानन्यायाधीश नियुक्तिमा सहमति नहुँदा संवैधानिक परिषद्को बैठक निष्कर्षविहीन

0
Shares

काठमाडौं । प्रधानन्यायाधीश नियुक्तिका लागि सिंहदरबारमा बसेको संवैधानिक परिषद्को बैठक बिना निष्कर्ष टुंगिएको छ ।

सो बैठकका बारेमा जानकारी दिँदै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानन्यायाधीश नियुक्तिबारे छलफल भएको तर कुनै निर्णय भने हुन नसकेको बताए । उनका अनुसार अर्को बैठक कहिले बस्छ, त्यो पनि टुंगो नभएको उनले जानकारी दिए ।

तत्कालीन प्रधानन्यायधीश चोलेन्द्रशमशेर जबराले महाअभियोगको क्रममा अनिवार्य अवकाशमा गएपछि २७ मंसिर २०७९ देखि सर्वोच्च अदालतमा प्रधानन्यायाधीश पद रिक्त छ । हाल कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की छन् ।

कायममुकायम प्रधानन्यायधीश कार्कीलाई नै नियुक्ती गर्ने कि अरुलाई भन्ने बारेमा छलफल भए पनि अन्यको नाम भने सार्वजनिक गरिएको छैन । यद्यपि प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएपछि पहिलोपटक संबैधानिक परिषद्को बैठक बसेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठकमा विपक्षी दलका नेता केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना र उपप्रधान तथा कानुन मन्त्री पूर्णबहादुर खड्का सहभागी थिए ।