कांग्रेसले गर्‍यो चितवन, तनहुँ र बाराका नेता तथा कार्यकर्तामाथि गरेको कारबाही फुकुवा

0
Shares

काठमाडौँ।

नेपाली कांग्रेसले बारा, चितवन र तनहुँका नेता तथा कार्यकर्तामाथि गरिएको कारबाही फिर्ता गरेको छ ।

कांग्रेसको केन्द्रीय अनुशासन समितिद्वारा २०७४ र २०७९ सालका तीनै तहको चुनावमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका र पार्टीको हित विपरीत गतिविधिमा संलग्न रहेको भन्दै कारबाही गरिएकाहरूको कारबाही फुकुवा गरिएको हो ।

अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुंगानाले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ,’२०७४ साल र २०७९ सालमा भएको स्थानीय तह, प्रदेश सभा र प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार तथा पार्टीले समर्थन गरेका उम्मेदवारका विरुद्ध बागी उम्मेदवारी दिएका र त्यस्ता बागी उम्मेदवारका प्रस्तावक र समर्थक बसेका तथा पार्टी र पार्टीको उम्मेदवारको हित विपरीतका गतिविधिमा संलग्न भएका कारण, पार्टी विधान र नियमावली बमोजिम स्वतः कारबाहीमा परेका तथा पार्टीको जिल्ला, प्रदेश र केन्द्रीय अनुशासन समितिको निर्णयबाट अनुशासनको कारबाहीमा परेका तनहुँ, चितवन र बारा जिल्लाका पार्टीका सम्पूर्ण सदस्यहरुको अनुशासनको कारबाही आजैका मितिदेखि लागू हुने गरी फुकुवा गरिएको छ ।’

यसअघि कांग्रेसले तनहुँका नेता गोविन्दराज जोशी र चितवनका दिनेश कोइरालामाथि गरिएको कारबाही फुकुवा गरेको थियो ।