रकम अभावमा क्यान्सर रोगसँग लड्दै वृद्ध 



भद्रपुर। 

झापा मेचीनगर ७ प्यारीभिट्टा निवासी ७० वर्षीय धन बहादुर खत्री रकम अभावमा क्यान्सर रोगसँग लडिरहनुभएको छ । वि.सं.२०५७ सालदेखि बाँसको झुप्रो हालेर मेचीनगरको एउटा बस्तीमा जीवन कटाइरहनुभएका  धनबहादुर ७० वर्षको उमेरमा क्यान्सर पीडित बन्नुभयो ।

सडक बनाउने , बाटो खन्ने , मिस्त्रीसँग घर बनाउने काम खासै ठुलो लाग्दैन थियो उहाँलाई । यस्तै मजदुरी गर्दै छोरा छोरीको जीवन चलाउँदै आउनुभएका उहाँको  गएको असार महिनामा घर अगाडि सडक बनाउने काम गर्दागर्दै हात दुख्न थाल्यो ।

हात त दुखेको हो नि भन्दै केहीसमय त यत्तिकै बस्नुभयो । तर दुखाइ बढ्दै गएपछि उपचार नगरी पारै लागेन । भारतको सिलगढी गएर उपचार गराउन थाल्नुभयो । सबैले उपचार गर्नुपर्छ भनेर भने अनि उहाँसँग भएको अलिअलि पैसा बोकेर सिलीगुडी जानुभयो । सिलगडीमा उपचारका लागी मात्रै ८–९ पटक गएँ, तर पार लागेन उहाँले सुनाउनुभयो ।

सिलीगडीबाट उपचार सम्भव नभएपछि उहाँ थप उपचारका लागि धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा पुग्नुभयो । ०७९ असोजको कुरा हो उपचारका क्रममा उहाँलाई घाँटीमा क्यान्सर सङ्क्रमण भएको पुष्टि भयो । त्यसपछि उहाँ चितवनको भरतपुर हुँदै झापाको पूर्वाञ्चल क्यान्सर अस्पतालसम्म दौडिरहनुभयो । ‘आफुसगँ भएको केही रकम त सुरु मै सकिहाल्यो त्यसपछि ऋणपान गरेर उपचार गरिरहेँ ।’ उहाँले भन्नुभयो  ‘अहिलेसम्म आइपुग्दा करिब ७ लाख रकम सकिसक्यो ।’

परिवारको आर्थिक अवस्था अत्यन्तै कमजोर रहेकाले यसपछिको उपचार गराउनै नसक्ने अवस्थामा छ यतिबेला खत्री परिवार । १२ धुर जग्गामा टिनको छाना र बाँसको टाँटीको साहरामा बसिरहेको परिवारले टोल छिमेक, इष्टमित्र सबैको सहयोगमा उपचार गरिसक्यो । तर अझैपनि ३ लाख रकम उपचारमा लाग्ने डाक्टरले बताएका छन् ।

‘परिवारको अवस्था एकदमै कमजोर छ, १२ धुर जग्गामा घर बनाएर २ परिवार बसेका छन् ।’ खत्री परिवारलाई सहयोगको अपिल गर्दै स्थानीय प्यारीभिट्टा जनता टोल विकास संस्थाका अध्यक्ष घनश्याम लामिछाने भन्नुहुन्छ ‘टोल विकास संस्था हरसम्भव सहयोगका निम्ति लागेको छ , सबैले सहयोग गरिदिन अपिल गर्दछु ।’

‘कतिपय मान्छेले त जग्गा बेचेर उपचार गर्नु नि पनि भनेका छन्, तर उपचारकै क्रममा जग्गा बेच्यो भने ऋणपान छ, उपचार गर्दा पैसा त सकिहाल्छ ।’ धनबहादुरको उपचारमा सहयोग गरिदिन अपिल गर्दै टोल अध्यक्ष भन्नुहुन्छ ‘२ छोरा  बुहारी छन् नाति नातीना छन् यिनीहरू सुकुम्वासी बन्नेछन् यिनीहरू कहाँ गएर बस्ने ?’

बुबाको उपचारका लागी अब ३ लाख आवश्यक पर्छ भनेर डाक्टरले भनेको उहाँका ज्वाइँ गणेश बस्नेत बताउनुहुन्छ । परिवारले जुटाउन सक्ने अवस्था नभएपछि  खत्री परिवारले सहयोगका लागी सबै समक्ष अपिल गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्