मिटरब्याज पीडितको माग सम्बोधन नगरे सरकारविरुद्ध सडक संघर्षमा जाने लिङदेनको घोषणा

0
Shares

काठमाडौँ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले मिटरब्याज पीडित र तराईमा आन्दोलनरत हरुवाचरुवाको माग तत्काल सम्बोधन नगरे सरकारविरुद्ध सडक संघर्षमा जाने चेतावनी दिएका छन्।

मंगलबार प्रतिनिधिसभामा आकस्मिक समय लिएर बोल्दै उनले मिटरब्याज पीडितहरुको मागलाई सम्बोधन गर्नुको साटो सरकारले उनीहरुमाथि हिजो (सोमबार) निर्मम ढंगले आक्रमण गरेको उल्लेख गर्दै निन्दा र भत्सर्ना समेत गरे।

गरिब र निमुखा ती मानिसहरुमाथि किन आक्रमण गर्नु परेको भनि सरकारलाई अध्यक्ष लिङदेनले प्रश्न समेत गरे।

अध्यक्ष लिङदेनले भने, ‘यतिबेला ती निमुखा मानिसहरुमाथि आक्रमण भएको छ। जुन बेला यस्तो सरकार छ। जसले समाजमा गरिबहरुको अथवा सर्वहारावर्गको अधिनायकत्व स्थापना हुनेछ, स्थापना गर्नेछौं भनेर सपना बाँडेको थियो। त्यो सपना बाँड्ने पार्टी र उसको नेतृत्वमा अहिले सरकार छ। तर यति नै यो गरिब र निमुखामाथि राज्यले किन बर्बर आक्रमण किन भईरहेको छ?’

उनले थपे, ‘सरकारले मिटरब्याज पीडितहरु र अहिले तराईमा आन्दोलनरत रहेका हरुवाचरुवाहरु जो पुनर्स्थापनाको माग गरिराखेका छन्। उनीहरुको मागलाई सरकारले समयमै सम्बोधन गरोस्। अन्यथा एउटा जिम्मेवार राजनीतिक पार्टीको नाताले उनीहरुको साथमा सडक संघर्षमा जाने घोषणा समेत गर्न चाहन्छु।’