भुम्लुमा गुम्बाको पैसा किर्ते गर्ने दुई जना पक्राउ

गाउँपालिका अध्यक्षलाई उन्मुक्ति

3.76k
Shares

काभ्रे।

 भुम्लु गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर भुजेललाई सफाइ दिँदै गुम्बा निर्माण समितिका अध्यक्ष डुक्मा दोर्जे लामा र गाउँपालिका अध्यक्षका स्वकीय तुलसी तामाङलाई प्रहरीले किर्ते अभियोगमा पक्राउ गरेको छ ।

किर्ते र ठगी अपराधमा संलग्न भएको अभियोगमा प्रहरीले भुम्लु गाउँपालिका ५ मुलाबारीस्थित होदसल धो ङाग क्षोइलिङ ताम्सालिङ गुम्बा व्यवस्थापन तथा पुनर्निर्माण समितिका अध्यक्ष डुक्मा दोर्जे लामा र तुलसी तामाङलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई प्रहरीले हतार हतार सरकारी वकिल कार्यालयमा पेश गरेको छ ।

सरकारी वकिल कार्यालयले उक्त फाइलको अनुसन्धान गरिरहेको बताएको छ । सरकारी वकिलको कार्यालयले अनुसन्धान सम्पन्न गरेर जिल्ला अदालतमा पेश गर्ने छ ।

गाउँपालिका अध्यक्ष स्वयं संलग्न भएको उक्त अपराधमा उनलाई मुद्दा नचलाई प्रहरीले अन्यलाई मात्रै मुद्दा चलाएको हो । गाउँपालिका अध्यक्षका स्वकीय तुलसी तामाङ स्वयम घटनामा संलग्न थिए ।

गाउँपालिकाले सोही वडाका वडा अध्यक्ष अचम्म मोक्तानको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । छानबिन समितिको प्रतिवेदन गाउँपालिकामा बुझाइएको भए पनि सार्वजनिक गरिएको छैन । वडा अध्यक्षले दिने सिफारिस समेत गाउँपालिका अध्यक्ष भुजेल आफैले दिएर किर्ते गरिएको घटनामा उनलाई उन्मुक्ति दिने प्रपञ्च गरिएको छ । राजनीतिक दबाबमा गाउँपालिका अध्यक्ष भुजेललाई मुद्दा नचलाउने निर्णय गरिएको हो ।

गुम्बा व्यवस्थापन तथा पुनर्निर्माण उपभोक्ता समितिको अध्यक्षमा डुक्मा दोर्जे लामा, सचिव अमृतकुमार लामा, कोषाध्यक्ष अनिता गुरुङ, सदस्यहरू मठराम तामाङ, शर्मिला तामाङ, मनमाया तामाङ र भोजबहादुर तामाङ लामा थिए । कोषाध्यक्ष अनिता गुरुङ चितवन गएको मौका पारेर अध्यक्ष प्रेमबहादुर भुजेलले क्षेत्राधिकार बाहिर गई सिफारिस गरेर दर्ता चलानीमा समेत त्रुटि गरी सिफारिसको प्रतिलिपि समेत नराखी किर्ते गर्ने अपराधलाई सहयोग पुर्‍याएको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ ।

होदसल धो ङाग क्षोइलिङ ताम्सालिङ गुम्बाको नाममा राष्ट्रिय वाणिज्य बैंक धुलिखेल शाखामा अध्यक्ष डुक्मा दोर्जे लामा, सचिव अमृतकुमार लामा र कोषाध्यक्ष अनिता गुरुङको संयुक्त हस्ताक्षर चल्ने गरी १०४०१०००१६०६८००१ खाता नम्बर सञ्चालनमा थियो ।

अध्यक्ष डुक्मा दोर्जे लामाले सचिव अमृतकुमार लामा, कोषाध्यक्ष अनिता गुरुङलगायत अन्य सदस्यहरूलाई थाहा नै नदिई समिति पुनर्गठन गरी नयाँ समिति बनाएका थिए । समितिमा सचिव अमृतकुमार लामालाई हटाएर कोषाध्यक्ष गुरुङलाई सचिव, कोषाध्यक्षमा समितिमा नै नभएका गाउँपालिका अध्यक्ष प्रेमबहादुर भुजेलका स्वकीय सचिव तुलसीमान तामाङलाई राखिएको थियो । कोषाध्यक्षबाट बढुवा भएर सचिव बनेकी गुरुङलाई समेत थाहा नदिई अन्य सदस्यहरू यथावत् राखिएको थियो ।

गाउँपालिकामा कागजात बुझाई नयाँ खाताका लागि सिफारिस माग भए पछि गाउँपालिका अध्यक्ष भुजेल आफैले सिफारिस लेखेर पुनर्गठित समितिका अध्यक्ष डुक्पा दोर्जे लामा र तुलसीमान तामाङको संयुक्त हस्ताक्षर चल्ने बनाएर रकम निकाले सँगै २०७९ असोज ७ गते बसेको बैठकले राष्ट्रिय वाणिज्य बैंकको धुलिखेल शाखामा रहेको समितिको खाता बन्द गर्ने निर्णय गरेका थिए ।

अमृतकुमार लामा र अनिता गुरुङले थाहा नै नदिई बैठक बसेर समिति पुनर्गठन गरेको बताउँदै नयाँ समितिमा पटक–पटक बैठक बसेर उपस्थिति गरेको देखिए पनि आफू कुनै बैठकमा पनि उपस्थित नभएको र कुनै विषयमा आफूलाई जानकारी नभएको बताएका छन् ।

पुनर्गठित समितिका अध्यक्ष र कोषाध्यक्षको दस्तखतबाट बैंकको कारोबार सञ्चालन गर्न पालिकामा पेस गरिएको सिफारिसलाई २०७९ साउन १९ गते गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर भुजेलले स्वीकृत गरेका थिए ।

गाउँपालिकाको स्वीकृत अनुसार राष्ट्रिय वाणिज्य बैंकबाट साउन २२ गते ५ लाख रुपैयाँ निकालिएको अमृत लामाले बताए । प्रहरीले भने सिफारिस दिने, किर्ते अभियोगमा सहयोग पुर्‍याउने भुजेलाई भने अनुसन्धानमा समेत बोलाएको छैन ।

भूकम्प पुनर्निर्माण प्राधिकरणबाट ७० प्रतिशत र उपभोक्ता समितिबाट ३० प्रतिशत व्यहोर्ने गरी करिब ८० लाखमा गुम्बा पुनर्निर्माण भएको थियो । गुम्बा निर्माण सम्पन्नपछि पाँच लाख रकम बचेको थियो । त्यही रकममा गाउँपालिका अध्यक्ष सहितको मिलेमतोमा निकालेर हिनामिना गरिएको हो ।