प्रहरीकै छाप दुरुपयोग गर्ने स्टेशनरी व्यवसायी रुपन्देहीमा पक्राउ

0
Shares

बुटवल। 

सुन्दा पनि अचम्म लाग्ने  जसले अपराधको अनुसन्धान  गर्छ उसकै छाप दुरुपयोग गरी धन्दा चलाउने स्टेशनरी व्यवसायीलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय अगाडी स्टेशनरी पसल गरेर प्रहरीकै छाप दुरुपयोग गरेको आरोपमा रुपन्देही प्रहरीले सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ बस्ने ४५ वर्षीय भान बहादुर अधिकारीलाई पक्राउ गरेको हो ।

पक्राउ परेका अधिकारीले प्रहरीको बदनाम हुने गरी झुट्टा विवरण दिएर प्रहरी विरुद्ध समाचार पनि प्रकाशन गराएको प्रहरीको आरोप छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता श्याम अर्यालका अनुसार तीन महिना यता सामान्य प्रकृतिका निवेदनहरु प्रहरीको नागरिक कक्षबाटै निःशुल्क रुपमा लेखिने व्यवस्था गरिएको थियो ।

यसैको रिसिवी साधेर अभियुक्त अधिकारीले प्रहरीको बदनाम गराएको अर्यालको भनाई छ । सञ्चार माध्यममा समाचार आएपछि प्रहरीले सो समाचारबारे अनुसन्धान सुरु गरेको थियो ।

उल्लेखित सेवाग्राहीहरूलाई बुझ्दा आफूहरूले त्यस्तो कुनै प्रकारको रकम नदिएको बताए पछि थप अनुसन्धानमा अभियुक्त अधिकारीको संलग्नता देखिएको डिएसपी अर्यालको भनाई छ ।

अधिकारीको पसलमा छापा मार्दा प्रहरीले जिल्ला प्रहरी कार्यालयको छाप पनि फेला पारेको छ । प्रहरी प्रवक्ता अर्यालका अनुसार सरकारी अभियुक्त अधिकारीले प्रहरी अधिकृतहरूको नक्कली हस्ताक्षर गरी प्रहरीको पत्र आफै तयार गर्ने गरेका थिए । उनलाई प्रहरीले सरकारी छाप किर्ते सम्बन्धी मुद्दामा अदालतमा पेस गरेको छ ।