चाहना राखेर अघि बढे प्रगति गर्न सकिन्छ : मुख्यमन्त्री

0
Shares

हेटौंडा।

नारायणगढ–हेटौंडा सडकको मूल भागमा आफ्ना रफ्तारमा गाडी गुडिरहेका थिए । सानाठूला गाडीको चाप नै थियो सडकमा । फराकिलो सडकको दायाँबायाँ फाट्टफुट्ट मात्र घरहरु । ती घरमा सानाठूला व्यापार व्यवसायचाहिँ बाक्लै देखिन्थ्यो । मानिसहरुको उपस्थिति थोरै नै, बिहानीको समय भएर होला सुनसानजस्तै लाग्थ्यो ।

केही समयपछि विस्तारै आउजाउ बढ्दै गयो । आवतजावत पनि बाक्लो हुँदै गयो । आयोजक हजुरलाई नमस्ते ट्रेड लिंकको नयाँ शाखा उद्घाटनको चट्टारोमा थिए । यस्तो ठाउँमा को आउला, कति मान्छे होलान्, प्रमुख अतिथि को हो भन्ने कौतूहलता बीच मञ्च बन्यो । झकिझकाउ पारियो । पाल त्रिपाल हालियो, वरिपरि सबै सफासुग्घर बनाइयो । अनि बल्ल आयोजक ताराबहादुर कुँवर मुख्यमन्त्री प्रमुख अतिथि हो भन्दै आउनुभयो र खबर गर्न थाल्नुभयो । वाग्मतीको प्रदेश मुकाम हेटौंडामा एउटा व्यावसायिक संस्थाको शाखा उद्घाटन गर्न मुख्यमन्त्री आउने कुराले बजारै तात्यो । केही बेरमा मेलाजस्तै लाग्यो । बाक्लो उपस्थिति देखियो । मुख्यमन्त्रीलगायत अन्य मन्त्री, प्रमुख जिल्ला अधिकारी, जिल्लाका प्रहरी प्रमुख पत्रकारलगायतको बाक्लो उपस्थिति भयो ।

अन्य सबैको आगमन भइसकेको भए पनि प्रमुख अतिथिको आगमन एक घण्टा ढिलो गरी भयो र हजुरलाई नमस्तेको नयाँ शाखा हेटौंडामा शुभारम्भ गरियो । कार्यक्रममा अतिथिहरु वाग्मतीका आर्थिक मामिलामन्त्री बहादुरसिंह लामा, भौतिक योजनामन्त्री युवराज दुलाल, प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे, प्रहरी प्रमुख एसपी वामदेव गौतमलगायत हुनुहुन्थ्यो ।

शुभारम्भमै हजुरलाई नमस्तेका प्रमुख ताराबहादुर कुँवरले उधारो नदिने प्रतिबद्धतासहित नयाँ शाखा खोलिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘हामी व्यावसायिक शुद्धता चाहन्छौं, देशभर सबै जिल्लामा एक एक शाखा खोल्ने योजना छ । त्यही योजनाअनुसार यहाँ पनि हामीले शाखा खोलेका हौं ।
हजुरलाई नमस्तेले ‘व्यावसायिक र शुद्धता, हजुरलाई नमस्तेको प्रतिबद्धता’ भन्ने आफ्नो नारा तय गरेको छ । जे जति कमाउन सकिन्छ यही ठाउँमा लगानी गर्ने योजनाअनुरुप शाखा खोलिएको कुँवरको भनाइ छ ।

कार्यक्रममा मन्त्री बहादुरसिंह लामा, रामबहादुर गौतम, इन्द्र बानियाँ, कृष्ण फुलेल, रेशमलाल भट्टराई, भुवनाथ अधिकारी, रमेश रेग्मी, राजु श्रेष्ठ, भरत अधिकारी, अजित तामाङ, हरिशरण लामिछाने, फाल्गुणशमशेर कुँवर, फणीतशमशेर कुँवर मणिराज गौतमलगायतलाई सम्मान गरिएको थियो । साथै नयाँ वर्ष २०८० सालको क्यालेन्डर पनि विमोचन गरिएको थियो ।

नयाँ शाखाको उद्घाटन गर्दै मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले चाहना राखेर अघि बढ्यौं भने प्रगति गर्न सकिन्छ भन्ने उदाहरण ताराबहादुर भएको बताउनुभयो । उहाँले कुँवरलाई अझै अघि बढ्न सुझाव दिनुभयो । विभिन्न आरोह अवरोह पार गर्दै यहाँसम्म आएको र शाखा विस्तार गरेकोमा उहाँले धन्यवाद दिनुभयो ।

हेटौंडा–११ थानाभर्‍याङमा अवस्थित हजुरलाई नमस्ते ट्रेड लिंक प्रालि हेटौंडा शाखाको उद्घाटन वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले गर्नुभएको थियो भने अन्य मन्त्रीहरुले ताली बजाएर व्यावसायिक सफलताको शुभकामना दिएका थिए । चार जिल्लाका डिजर र हेवी मेकानिक्सलाई पनि सम्मान गरिएको थियो । हजुरलाई नमस्ते ट्रेड लिंकका प्रवन्धक निर्देशक कुँवरले मकवानपुरको व्यवसायीहरुको सुविधाको लागि ट्रेड लिंकको शाखा हेटौंडामा विस्तार गरेको बताउनुभयो । नमस्ते ट्रेड लिंकले निर्माण र हेवी उपकरणको सामानहरु बिक्रीवितरण गर्दै आइरहेको छ । नमस्ते ट्रेड लिंक जीपी र आईटीआर लुब्रिकेन्टको नेपालका लागि आधिकारिक विक्रेता पनि हो ।