आर्थिक संकटबाट जोगाउने सामर्थ्य एमालेसँग मात्र : महासचिव पोखरेल

0
Shares

हेटौँडा। 

 नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले मुलुकलाई आर्थिक संकटबाट जोगाउने सामर्थ्य नेकपा एमालेबाहेक अन्य पार्टीसँग  नरहेको जिकिर गर्नुभएको छ ।

नेकपा एमाले सरकारमा सहभागी हुँदा  अर्थतन्त्रमा सुधार देखिएको र हालको गठबन्धन सरकार बनेपछि अर्थतन्त्र धरासयी भएको उहाँको दाबी छ । महासचिव पोखरेलले नेकपा एमालेबाहेकका दलहरुले मुलुकमा समृद्धि ल्याउन नसक्ने बताउँदै सबैले नेकपा एमालेलाई साथ दिनुपर्ने बताउनुभयो । समाज बदल्ने अभियानमा लाग्न पार्टी कार्यकर्तालाई निर्देशन दिनुभयो ।

एमाले हेटौँडा उपमहानगरपालिका कमिटीको आयोजनामा भएको प्रशिक्षणमूलक कार्यकर्ता भेलामा उहाँले गठबन्धन सरकारले वैधानिक अर्थव्यवस्थालाई कमजोर पारेर अवैधानिक अर्थव्यवस्थालाई प्रोत्साहित गरेका कारण मुलुकले आर्थिक संकट व्यहोर्नुपरेको बताउनुभयो । महासचिव पोखरेलले गठबन्धन सरकारले अवैधानिक अर्थव्यवस्थालाई प्रोत्साहित गरेका कारण मुलुकले आर्थिक संकट व्यहोर्नुपरेको टिप्पणी गर्नुभएको हो ।

उहाँले अब पार्टीले कसैलाई नेता बनाइदिने भन्दा पनि समाज बदल्न लाग्ने बताउनुभयो । चुनाबका बेलामा आफ्नै उम्मेदवारलाई भोट नहाल्ने समस्या बढेको बताउँदै उहाँले अन्य बेलामा सधैं एमाले बनिरहने र चुनाबमा भोट हाल्ने बेलामा अन्य कसैको हुने चलनको अब सधैंका लागि अन्त्य हुनुपर्ने बताउनुभयो । ‘पार्टीमा रहेर जसले काम गर्न सक्छ, उसैलाई जिम्मा दिनुपर्छ,’ उहाँको दाबी छ ।

पार्टीको ‘मिसन ग्रासरुट’ अभियानको शिक्षाले अब वडादेखि केन्द्रसम्म पार्टी चल्ने बताउनुभएका उहाँले तर, मुलुकमा सबभन्दा धेरै संगठित सदस्य रहेको पार्टीमा चुनाबका बेला बहुमत ल्याउन नसक्नु दु:खद् रहेको चिन्ता व्यक्त गर्नुभयो ।

नेकपा एमालेको मिसन ग्रासरुटअन्तर्गत् गरिएको उपमहानगरपालिकाका कार्यकर्ता भेलामा महासचिव पोखरेलले एक हजार जनालाई प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रममा नेकपा एमाले पोलिट्ब्युरो सदस्य पार्वत गुरुङ र नेकपा एमाले मकवानपुर अध्यक्ष एकालाल श्रेष्ठले हेटौँडा र मकवानपुरमा भएका ग्रासरुट अभियानबारे प्रष्ट पार्नुभएको थियो ।

कार्यक्रममा वागमती प्रदेशका संस्थापक मुख्यमन्त्री डोरमणि पौडेल, नेकपा एमाले केन्द्रीय सदस्यहरु रामेश्वर राना, कृष्णप्रसाद दाहाल, जुनेली श्रेष्ठ, एमाले वागमती प्रदेश कमिटी उपसचिव तथा एमाले सचेतक महेशकुमार बर्तौलालगायत प्रदेश र जिल्लाका नेताहरुको आतिथ्यता थियो ।