महाभारत बेरुजु कम हुने पालिकाको १५ औं स्थान भित्र

पनौतीमा कुल खर्चको १२ प्रतिशत बेरुजु 

0
Shares

काभ्रे ।

काभ्रेपलाञ्चोक जिल्लामा रहेका १३ वटा स्थानीय तहहरु मध्ये सबै भन्दा धेरै बेरुजु हुने पालिका पनौती भएको छ । कम बेरुजु हुने पालिकाका रुपमा फेरी पनि महाभारत गाउँपालिकाले बाजी मारेको छ । महाभारत गाउँपालिकाको कुल कारोबारमा ०.२६ प्रतिशत बेरुजु देखिएको छ ।

‘आर्थिक वर्ष २०७८/२०७९ को महालेखा परीक्षणमा देशभर रहेका ७ सय ५३ वटा पालिका मध्ये काभ्रेपलाञ्चोक जिल्लामा रहेको विकट क्षेत्रको गाउँपालिका महाभारत कम बेरुजु भएका पालिकाहरु मध्ये १५ औ स्थान भित्र पर्न सफल भएको छ’–गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले भन्नुभयो–‘पालिकाले गर्ने खर्चलाई बेरुजु नहुने गरी भुक्तानी गर्ने तथा भुक्तानी भएका योजनाहरुको तत्काल फछ्र्र्याैट गर्ने नियमित कार्यलाई प्राथमिकताका साथ कार्यान्वयन गरिएकाले बेरुजु कम भएको हो ।’ महालेखापरीक्षकको कार्यालयले बिहीबार राष्ट्रपतिलाई देशभरको लेखापरीक्षण प्रतिवेदन हस्तान्तरण गरेको थियो । जसमा स्थानीय तहमा धेरै बेरुजु रहेको तथ्याङ्क छ ।

                        बेरुजुका आधारमा पालिकाहरु:

काभ्रेपलाञ्चोक जिल्लामा महाभारत पछि कम बेरुजु भएको पालिका तेमाल हो । तेमाल गाउँपालिकाको ०.७६ प्रतिशत बेरुजु छ । पनौती नगरपालिकाको जिल्लामै सबै भन्दा धेरै ११.२९ प्रतिशत बेरुजु छ । पनौती नगरपालिका नियमित विवादित बन्दै आएको छ । संघ सरकारले सरुवा गरेर पठाएको प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराउने भन्दै नगर प्रमुख रामशरण भण्डारीले पत्र लेखेर पठाए पछि खाता रोक्का गर्ने सम्मको चेतावनी सहितको पत्र मन्त्रालयले नगरपालिकालाई लेख्दै कोलेनिकालाई बोधार्थ पठाएको थियो । निकासी करको ठेक्का नलागेर कर्मचारी आफैले राजश्व संकलन गरिरहेका छन्।

करारका कर्मचारीहरुको म्याद ढिलो गरी थपिए पछि म्यादी भएको भन्दै कर्मचारीहरुले जाँगर लगाएर काम गरेका छैनन् । उता करारमा भर्ना गर्ने कर्मचारीहरुको परीक्षाकै दिन प्रश्न र उत्तर दुबै बाहिरिए पछि स्थगीत परीक्षा पुन: हुन सकेको छैन । नगर प्रमुख र उपप्रमुख सहितका जनप्रतिनिधिहरुको विवाद छताछुल्ल भएकाले नगरपालिकाले सोचे जस्तो सेवा प्रवाह प्रदान गर्न सकेको छैन । त्यही कारण नगरपालिकाको बेरुजु रकम धेरै भएको टिप्पणी गरिएको छ ।

पनौती पछि धेरै बेरुजु हुने पालिका धुलिखेल हो । धुलिखेल नगरपालिकाले रविओपी देविटार अनेकोट सडकका लागि विनियोजन भएको रकम पेस्की दिएकाले बेरुजु देखिएको बताएको छ । उक्त रकम खर्च भएर विल पेश हुने वित्तिक्कै बेरुजु रकम कम हुने नगरपालिकाको दावी छ । धुलिखेल पछि भुम्लु गाउँपालिकाको ४.०५ प्रतिशत छ । भुम्लु पनि अर्को विवादित पालिका हो । जहाँ लेखा र प्रमुख प्रशासकीय अधिकृत धेरै समय कार्यरत रहन सक्दैनन् ।

मण्डनदेउपुर नगरपालिकाको बेरुजु रकम ३.१२ प्रतिशत छ । उक्त पालिका पनि श्रोत धेरै भएको पालिका हो । उक्त पालिकामा पनि प्रमुख प्रशासकीय अधिकृत शिक्षाका छन् । नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको समन्वय रहँदा पनि त्यहाँ धेरै बेरुजु देखिएको छ । उक्त पालिकाले पनि अर्को प्रमुख प्रशासकीय अधिकृत चाहिँदैन भन्दै मन्त्रालयलाई दबाब दिएको छ । बेथान्चोक गाउँपालिकाको बेरुजु प्रतिशत २.८४ रहेको छ । श्रोत धेरै भएको पािलकाका रुपमा बेथान्चोकलाई चिनिन्छ ।

खानिखोला गाउँपालिकाको बेरुजु प्रतिशत २.३३ रहेको छ । उक्त पालिका पनि विकट क्षेत्रमा पर्दछ ।
नमोबुद्ध नगरपालिकाको बेरुजु प्रतिशत २.२ रहेको छ । उक्त पालिका पनि यस अघि राजश्व संकलन तथा योजना कार्यान्वयनमा विवादमा आइरहने पालिका हो । चौरीदेउराली गाउँपालिका र बनेपा नगरपालिकाको बेरुजु प्रतिशत १.९२ रहेको छ । बनेपा धेरै बजेट भएको पालिका भित्र पर्दछ । चौरीदेउराली विकट पालिकामा पर्दछ । पाँचखाल नगरपालिकाको बेरुजु प्रतिशत १.४२ रहेको छ भने रोशी गाउँपालिकाको १.२ प्रतिशत रहेको छ ।