बेथितिविरुद्ध राष्ट्रव्यापी पदयात्रा गर्ने कांग्रेस नेता घिमिरेको घोषणा

0
Shares

काठमाडौं ।

नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले बेथितिविरुद्ध राष्ट्रव्यापी पदयात्रा सुरु गर्ने जनाएका छन् । नयाँ वर्षको अवसरमा शुभकामना दिँदै उनले ११ वैशाखबाट समाज र राजनीतिक दलभित्र व्याप्त बेथितिविरुद्ध राष्ट्रव्यापी पदयात्रा सुरु गर्ने बताएका हुन् । यसबारे ७ वैशाखभित्र विस्तृत रुपमा सार्वजनिक गर्ने उनको भनाइ छ ।

सामाजिक सञ्जालमार्फत घिमिरेले भनेका छन् :

देश बिदेशमा रहनुभएका सबै नेपाली दाजुभाई दिदीबहिनीहरुमा नवबर्ष २०८० को हार्दिक मंगलमय शुभकामना छ । केही दिन अघि मैंले नयाँ बर्षबाट परम्परागत राजनीतिको अन्त्य,नयाँ शिराबाट नयाँ राजनीतिक निर्णय भन्ने बिचार सम्प्रेषण गरेको थिएँ।नयाँ बर्ष आजबाट प्रारम्भ भयो।मैंले देश र राजनीतिक दलभित्रका बेथितिहरुका बारेमा बोल्दै र लेख्दै आएको छु ।

गैरजिम्मेवार र स्वेच्छाचारी  राजनीतिज्ञ,कुलिनतन्त्रको चरित्र ग्रहण गरेको लोकतन्त्र र दास राजनीतिक कार्यकर्ताहरुका कारण नेपाली समाज पतनोन्मुख छ।कुनैं न कुनैं दिन केही न केही त पाइहालिएला भनेर दिन गनेर नेताको दैलो ढुकेर बस्ने पार्टी सदस्य र हाम्रो भाग्य यस्तै रहेछ भनेर बिधातालाई दोष दिएर बस्ने जनताको ईमानबाट फाइदा उठाईरहेका समाजका धुर्त  व्यक्तिहरुका कारण हाम्रो समाजले आफ्नो प्रतिष्ठा र आत्मसम्मान गुमाउँदै गएको छ।देश चलाउने जिम्मा पाएका व्यक्तिहरु चरम राष्ट्र दोहनमा लिप्त छन्।यसबाट मुक्तिको कुनैं लक्षण छैन।दिनानुदिन देश दलदलमा जाकिदै छ।यस्तो स्थितिमा एउटा राष्ट्रप्रेमी नागरिक मुकदर्शक रहन सक्दैन । 

तसर्थ, आगामी बैशाख ११बाट समाजमा व्याप्त  बेथितिका बिरुद्ध राष्ट्रव्यापि(सतहत्तरै जिल्ला) अभियान अर्थात् पदयात्रा  चलाईने छ।यस अभियानका क्रममा सबै प्रकारका बिसंगतिहरुलाई उजागर गरिनेछ,जसअन्तर्गत दलभित्र र बाहिरका सम्पूर्ण गतिविधि समेटिने छन्।यस बिषयको बिस्तृत कार्ययोजना वैशाख ७ गतेभित्र सार्वजनिक गरिनेछ।