‘रोजगार’ दिने नाममा ग्लोबल ओरियन्सद्वारा लाखौँ रुपैयाँ असुल 

140
Shares

भद्रपुर । 

झापासहित देशभर कार्यालय स्थापना गरेर युवायुवतीलाई ‘रोजगार’ उपलब्ध गराएको दाबी गर्ने ग्लोबल ओरियन्सले उनीहरूबाट लाखौँ रुपैयाँ असुल गरिरहेको पाइएको छ ।

ग्लोबल ओरियन्सको सामग्री बिक्री गर्ने शैली र युवायुवतीलाई रोजगार दिएकोबारे सरोकारवाला निकाय भने बेखबर छ । नेपालमा पिरामिड शैलीको नेटवर्किङ व्यवसाय प्रतिबन्ध छ । त्यही शैलीको व्यवसाय गर्ने प्राइम मार्केटिङ र देशभर सञ्जाल भएको युनिटीलाइफ बन्द भइसकेका छन् । यसका कतिपय सञ्चालकहरू अहिलेसम्म धरौटी रकम तिर्न नसकेर जेलमा छन् ।

पिरामिड शैलीको व्यवसाय नभएको दाबी गर्ने ग्लोबल ओरियन्सले व्यापारमा त्यही शैली पछ्याएको छ । ओरियन्सले देशभरका हजारौँ युवायुवतीलाई रोजगार उपलब्ध गराउने भन्दै पिरामिड शैलीको व्यापार गरिरहेको पाइएको हो । ओरियन्समा आबद्ध युवायुवतीले लाखौँ आम्दानी गर्न सकिने भन्दै नजिकका आफन्तलाई ‘कन्भिन्स’ गर्दै फसाउने गरेको अध्ययनका क्रममा पाइएको छ ।

कम्पनीको नियमअनुसार ओरियन्समा आबद्ध हुन १३ हजार, ४० हजार र १ लाख २० हजार रुपैयाँ बुझाउनु पर्छ । रकम बुझाएपछि कम्पनीको आइडी प्राप्त हुन्छ । त्यसपछि थप ५ सय तिरेर तालिममा सहभागी हुनुपर्छ । तालिमपछि कम्पनीले प्रवेश गर्ने समयमा तिरेको रकम बराबरको ‘फुड सप्लिमेन्ट’ दिन्छ । त्यो फुड सप्लिमेन्ट बिक्री गरेर निश्चित कमिशन प्राप्त हुने गरेको छ ।

ओरियन्समा तालिम लिएका युवायुवतीले बिरामी भएका आफन्तलगायतलाई त्यो सप्लिमेन्ट प्रयोग गर्न कन्भिन्स गर्दै बिक्री गर्ने गरेका छन् । जबकि अधिकारप्राप्त चिकित्सकबाहेक अन्य कोहीले त्यस्ता सामग्री बिक्री गर्ने अनुमति कानुनतः पाउँदैनन् ।

ओरियन्समा आबद्ध भएका एक जनाले अरू तीन जनालाई त्यस कम्पनीमा जोड्नै पर्छ । उल्टो पिरामिड शैलीमा सदस्य थप गर्ने नियम भए पनि यसमा आबद्ध कर्मचारी र सञ्चालकहरू त्यो स्वीकार गर्दैनन् । तर, ओरियन्समा काम गर्दै ‘को–अर्डिनेटर’ भएकाहरू भने आफूले अरू तीनजनादेखि १५–२० जनासम्मलाई संस्थामा जोडेको बताउनुहुन्छ ।

झापामा कार्यालय रहेको ओरियन्समा पश्चिमका जिल्ला बझाङ, बाजुरा, जुम्लासमेतबाट युवायुवती कार्यरत रहेको पाइएको छ । इलामको साङ्रुम्बा घर भएकी राधिका थापा १९ महिनादेखि आबद्ध भई काम गरिरहेको बताउनुहुन्छ । उहाँले सो कार्यालयको को–अर्डिनेटरको रूपमा कार्यरत रहेको जानकारी दिनुभयो ।

थापाले १३ हजार रुपैयाँ तिरेर कम्पनीमा आबद्ध भएको बताउनुभयो  । उहाँले आफू आबद्ध भएपछि कम्पनीको नियमअनुसार थप तीन जनालाई पनि ओरियन्ससँग जोडेको जानकारी दिनुभयो । उहाँले जोडेका तीन जनाले पनि थप तीन–तीन जना जोड्दै जानुपर्ने नियम रहेको छ । त्यस बापत उहाँहरूले तिरेको रकम बराबरको फुड सप्लिमेन्ट र कस्मेटिकका सामान प्राप्त भयो । ओरियन्सले आफ्नो व्यापार ग¥यो, उहाँहरूले आफूले तिरेको पैसा बराबरको सामान पाउनुभयो  । युवायुवतीहरूले चाहिँ कसरी कमाउँछन् ? भन्ने जिज्ञासामा ओरियन्सबाट लिएका सामान बिक्री गरेबापत कमिसन पाइन्छ । कोही पनि यहाँ जागिरे हुँदैन । आफै मेहनत गरेर कमाउने हो ।

ओरियन्सको कार्यालयमा भेटिएका प्रशिक्षक एवम् वितरक नाम्बिन लिम्बूले ओरियन्समा आबद्ध हुन कसैसँग पैसा नलिएको बताउनुहुन्छ । तालिमका लागि पाँच सय मात्रै लिइरहेको उहाँको दाबी थियो । सँगै रहेकी को–अर्डिनेटर थापाले भन्नुभयो आफूले सबैभन्दा कम १३ हजार रुपैयाँ तिरेको बताउनुभयो । १३ हजार, ४० हजार र १ लाख २० हजारसम्म युवायुवतीहरूले बुझाएको बताउनुभएको छ । प्रशिक्षक लिम्बूले ओरियन्स पिरामिड शैलीको व्यापार नभएको समेत जिकिर गर्नुभयो । तर, ओरियन्समा आबद्ध युवायुवतीहरूले अनिवार्य रूपमा अरूलाई आफ्नो लाइनको तल जोड्दै जानुपर्ने बाध्यात्मक नियमले पिरामिड शैली (नेटवर्किङ) को व्यापार पुष्टि गरेको छ । २०७७ असारमा काठमाडौँ महानगरपालिका वडा नम्बर १६ मा प्रमुख कार्यालय रहने गरी वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा वस्तुको प्रत्यक्ष बिक्री गर्ने उद्देश्य राखेर स्थापना भएको ग्लोबल ओरियन्स नेपाल प्रा.लि. नामको कम्पनीले झापासहित देशभर आफ्नो २५ वटा बिक्री केन्द्र स्थापना गरी काम गरिरहेको कम्पनीको आधिकारिक वेभ साइटमा उल्लेख गरेको छ ।

इजाजतमा वस्तुको प्रत्यक्ष बिक्री गर्ने भनिए पनि व्यवहारमा भने नेटवर्किङ शैली छ । ओरियन्समा एक व्यक्तिले अरू धेरै व्यक्तिलाई त्यसमा जोडेर पैसा असुली धन्दा चलाइरहेको बुझिएको छ । कम्पनीमा पहिलो श्रेणीका व्यक्तिबाट १५ हजार, दोस्रो श्रेणीका व्यक्तिबाट ४० हजार र तेस्रो श्रेणीका व्यक्तिबाट एक लाख बीस हजारसम्म लिने गरेको पाइएको छ । कम्पनीले धेरै कमाइ हुने आश्वासन बाँडेपछि अधिकांशले ऋण पान गरेर पैसा बुझाउने गरेका छन् । ग्लोबल ओरियन्समा पैसा बुझाइसकेपछि फोन, फेसबुकबाट मानिस बोलाएर आफूले धेरै तलब पाएको भनिदिनुपर्ने र ग्लोबलसँग भेट गराइदिए बापत मासिक तलब पाइने लोभमा युवाहरू फसिरहेका छन् ।

बिर्तामोडको भगवान् चोकमा ओरियन्सकै कार्यालयबाहिर अलग्गै बोर्ड राखिएको पाइएको छ । कार्यालयभित्र ओरियन्सका प्रमाण–पत्र भित्तामा झुन्ड्याइए पनि बाहिर बोर्डमा भने भिजन मल्टिपल पर्पोज कम्पनी लेखिएको छ ।

ओरियन्सको आधिकारिक वेभ साइटमा देशभर २५ वटा ओरियन्सको कार्यालय रहेको उल्लेख भए पनि कुन सहरमा कति कार्यालय छन् भन्ने कुराबाट त्यसमा आबद्ध जिम्मेवार व्यक्ति नै अनभिज्ञ छन् । ओरियन्सको वेभ साइटमा झापा सम्पर्क व्यक्ति भनेर उल्लेख गरिएका पारसमणि प्रधानले समेत कार्यालयको सङ्ख्या बताउन सक्नुभएन । तर, बिर्तामोडका चोकैपिच्छे ओरियन्सका सम्पर्क कार्यालय रहेको पाइन्छ । कम्पनीले युवायुवतीलाई होस्टेलमा राखेर सामान बिक्री गर्न लगाउने गरेका छन् । झापाको बिर्तामोडमा मात्र दर्जनौं  होस्टेल सञ्चालनमा रहेको ओरियन्समै कार्यरत एक युवतीले जानकारी दिइनुभयो । हातमा सानो डायरी, निलो रङको कोट, पाइन्ट र टाईमा चिटिक्क परेर सडक किनारमा सधैँ हिँडिरहने आखिर को हुन् भन्ने आम चासो बढ्दै गइरहेको छ ।