मन्त्री मोदीद्वारा आफ्नै स्वकीय सचिवलाई प्रतिष्ठानको कार्यकारी निर्देशकमा नियुक्ति

0
Shares

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले आफ्नै स्वकीय सचिव कानुनलाल चौधरीलाई स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा नियुक्ति दिलाउनुभएको छ ।

सो प्रतिष्ठानको पदेन अध्यक्ष मन्त्री मोदीले प्रतिष्ठानको कार्यकारी निर्देशकको भूमिकामा रहेका सरकारका सहसचिव कुमार दाहाललाई मन्त्रालयको अतिरिक्त समूहमा तान्दै आफ्नै स्वकीय सचिव चौधरीलाई सो पदमा नियुक्ति दिलाउनु भएको हो । मोदीले चौधरीलाई मन्त्रालयकै प्रस्तावमा मन्त्रिपरिषद्बाट नियुक्ति दिलाउनुभएको हो ।

मन्त्रालय हेरफेर हुन सक्ने चर्चासँगै मोदीले आफ्नै स्वकीय सचिवलाई विशिष्ट श्रेणीको सेवासुविधा पाउने गरी प्रतिष्ठानको कार्यकारी निर्देशकमा नियुक्ति दिलाएपछि उहाँको आलोचना भएको छ । मन्त्री मोदीले सुशासन कायम गर्न आफू दत्तचित्त भएर लागेको दाबी गर्दै आए पनि मापदण्डबिना नै आफ्नै स्वकीय सचिवलाई कार्यकारी निर्देशक बनाएपछि उहाँमाथि प्रश्न सिर्जना भएको छ ।

स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानले देशभरका स्थानीय तहदेखि प्रदेश तथा संघका जनप्रतिनिधि र कर्मचारीलाई समेत क्षमता विकासका लागि विभिन्न खाले प्रशिक्षण दिनुका साथै अनुसन्धानका कार्यसमेत गर्दै आइरहेको छ । सामान्यतया प्रतिष्ठानमा सम्बन्धित क्षेत्रका विज्ञ प्राध्यपकहरूलाई नियुक्ति दिने गरिँदै आएको थियो । तर, मन्त्रीले अहिले नियुक्ति दिएका स्वकीय सचिव चौधरी औषधि व्यवसायी हुन् ।

प्रतिष्ठानमा आकर्षक बजेट खेलाउन पाइने हुँदा मन्त्रीले स्वकीय सचिवलाई नियुक्ति दिलाएको मन्त्रालयका अधिकारीहरूको भनाइ छ । यो वर्ष प्रतिष्ठानमा १० करोड रुपियाँको बजेट रहेको बताइएको छ ।

स्थानीय तहका पदाधिकारीको नेतृत्व तथा क्षमता विकाससम्बन्धी नीति निर्माण गर्ने महत्वपूर्ण निकायको रूपमा रहेको प्रतिष्ठानको कार्यकारी निर्देशक हुन सोहीअनुसारको योग्यता, दक्षता र अनुभव आवश्यक पर्ने भए पनि चौधरीसँग त्यस प्रकारको अनुभव नरहेको स्रोतको भनाइ छ ।

प्रतिष्ठानले स्थानीय विकास सम्बन्धमा अध्ययन, अनुसन्धान र नेटवर्किङको कार्य गर्दै आइरहेको जनाइएको भए पनि हाल आएका कार्यकारी निर्देशकसँग त्यससम्बन्धी कुनै अनुभव नभएकाले प्रतिष्ठानको उद्देश्य परिपूर्ति हुन कठिन हुने प्रतिष्ठानसम्बद्ध कर्मचारीहरूले बताएका छन् ।